जेठ ४ देखी मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ अनिश्चितकालिन यातायात बन्दको आव्हान

दिव्य रोशनी(धरान)/ मुक्कुमलुङ (पाथिभरा) मा केबलकार बनाउने नाममा पर्यावरण विनाश गरी जैविक विविधता ध्वस्त पार्न लागिएको जनाउदै मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले भोली जेठ ४ गतेदेखी मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको छ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति लगायत ६ संघर्ष समितीले आज बुधवार एक विज्ञप्ती जारी गर्दै मुक्कुमलुङमा केवलकार बनाउने नाममा पर्यावरण विनाश गरी जैविक विविधता ध्वस्त पार्न लागिएको बिरुद्धमा केबलकार योजना खारेज गर्न माग राखी जेठ २ र ३ गते मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्दको आव्हान गरिएपनि राज्य र सम्बद्ध पक्षले आन्दोलनप्रति कुनै सुनुवाई नगरेको हुँदा भोली जेठ ४ गतेदेखि अनिश्चितकालीन यातायात बन्द घोषणा गरिएको जनाएको छ।
संघर्ष समितिद्धारा जारी विज्ञप्तीमा राष्ट्रिय फूल लालिगुराँस, चिमल, लोठसल्ला जस्ता बहुमूल्य जडिबुटीजन्य वनस्पति लगायत विभिन्न प्रजातीका बोटबिरुवा ढालफाँड गरी लापोन्मुख जीव रेडपाण्डा लगायतका वन्यजन्तु, पशुपंक्षीको सुरक्षित वासस्थल नष्ट गरिएको साथै, पानीको मुहान समेत खतरामा पारिएको जनाएको छ।


विज्ञप्तीमा भनिएको छ “हाम्रा पुर्खाहरूले हजारौं वर्षदेखि संरक्षण सम्बद्र्धन गरी जोगाएर राखेको जीवनदायिनी वनस्पति, वन वन्यजन्तु, पशुपंक्षी नष्ट गर्ने पापिष्टहरूलाई घुँडा नटेकाएसम्म आन्दोलनबाट कदापि पछि हट्ने छैनौ । एउटा नाफाखोर व्यापारिक कम्पनीलाई हाम्रो अमूल्य साँस्कृतिक र प्राकृतिक सम्पदा जिम्मा लाएर हाम्रा भावी सन्ततीहरूलाई विल्लीबाँठ बनाउन हामी कदापि तयार छैनौं । कमिशनको लोभमा यो अमूल्य सम्पदा एउटा दलाल पूँजिपतिलाई सुम्पेर पवित्र आध्यात्मिक स्थललाई नीजि व्यापारिक केन्द्र बनाई एकलौटी एकाधिकार स्थापित गर्ने सपना नदेख्न चेतावनी दिदै राज्य र सम्बद्ध पक्षले हाम्रो माग र आन्दोलनप्रति कुनै सुनुवाई नगरेको हुँदा मिति २०८१ जेठ ४ गतेदेखि परिस्थिति अनुसार आन्दोलनका कार्यक्रमहरू सशक्त बनाउने गरी अनिश्चितकालीन बन्द घोषणा गरिएको यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछौ।”
बन्दमा एम्बुलेन्स, शवबाहन, दूध, सागसब्जी, फोहर बोक्ने, प्रेस र कुटनीतिक नियोगका गाडीलाई अवरोध नगरिने जनाउदै संघर्ष समितीले सबै असहज परिस्थितिको जिम्मा राज्य र दलाल कम्पनीले लिनुपर्ने जनाएको छ । साथै सम्पूर्ण यातायात व्यवसायी र आमसर्वसाधारणलाई बन्द कार्यक्रम सफल पार्न सहयोग पुर्याउन हुन हार्दिक अपिल समेत गरेको छ।
विज्ञप्तीमा श्री प्रसाद लिम्बु, संयोजक मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, संघीय समिति, नन्द कन्दङवा, संयोजक, लिम्बु चरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समितिको तर्फबाट सहजीकरण समूह, रामभक्त कुरुम्बाङ, महासचिव, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुनः नामाङ्कन अभियान समिति तथा अध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान संघ मोरङ र सरस्वती सिङ्गक (सरु), प्रतिनिधि, मुक्कुमलुङ तान्सेप् चुम्भोले हस्ताक्षर गरेका छन्।