धरानको पर्यटनः सम्भावना धेरै, पर्यटनमैत्री वातावरणको कमी

सागर सिंजाली /
धरान उपमहानगरपालिकाले आफ्नो वेवसाईट र प्रकाशनहरुमा धरानलाई “शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध सहर ” भनेर चिनाएको छ।
यसरी धरानको परिचयसँग जोडिएको ‘पर्यटन’ विकासका लागि यहाँ पूर्वाधारहरु पर्याप्त छन् तर पर्यटनमैत्री वातावरणको विकास हुन सकेको छैन। धरानमा हाल नयाँ पर्यटकीय गन्तव्यहरुको विकास भईरहेको छ। धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले श्रमदान अभियान मार्फत् विभिन्न खोलाबाट पानी ल्याएका छन् । श्रमदान मार्फत् गरिएको विकास हेर्न धरान बाहिरबाट पनि मान्छेहरु आउने गरेका छन्। यसैगरी श्रमदान अभियान मार्फत सर्दु खोला किनारमा “आरा धरान”, स्वतन्त्र नागरिक समाजद्धारा बनाईएको “एसएनएस पार्क”, स्वतन्त्र दिदी बहिनीद्धारा “एसडिबी पार्क” निर्माण भएका छन् । त्यस्तै स्वतन्त्र धराने समूहद्धारा निर्माण हुँदै गरेको “एसडिएस पार्क” पनि बन्ने क्रममा छ। अहिले यी पार्कहरुमा रमाउन अन्य दिन पाँच सय र बिदाका दिन एक हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको सचेत धराने समूहका प्रवक्ता हर्कराज लिम्बु बताउँछन् ।
यसैगरी मेयर साम्पाङकै नेतृत्वमा धरान–२० चिण्डेडाँडाँमा सुम्निमा–पारुहाङको प्रतिभा निर्माण अभियान चलिरहेको छ। राज्यको लगानी बिना श्रमदान र सहयोगबाट निर्माण गर्न लागिएको सो पार्कका लागी हालसम्म ३ करोड भन्दा बढि रकम संकलन भएको सुम्निमा पारुहाङ मुर्ति निर्माण समिती अभियानका संयोजक दत्त कुमार लिम्बुले बताए। त्यस्तै धरान–१७ स्थित सप्तरंगी पार्कको पनि डिपिआर बनिसकेको र यसलाई पुनःनिर्माणका लागी उपमहानगर प्रयासरत रहेको वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्मा बताउँछन् ।
विराटनगर रानी– किमाथाङ्का जोड्ने सडक धरान बजार हुँदै जाने र मदन भण्डारी राजमार्गपनि धरान भएर जाने भएकाले धरानलाई पर्यटन केन्द्रका रूपमा विकास हुन झनै सहज हुने विज्ञहरुको भनाई छ।
सम्भावनाःधार्मिक सांस्कृतिक पर्यटन
धरानको विजयपुरमा ऐतिहासिक मठ/मन्दिरहरु रहेका छन्। जसमा पिण्डेश्वर मन्दिर पनि एक हो। यहाँ श्रावण महिनामा कोशी नदीको जल चढाउनेहरुको भिड देख्न सकिन्छ। चतराका जगदगुरु बालसन्तको अगुवाईमा गत चैत्र २७ गतेदेखी बैशाख २८ गतेसम्म संचालन भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सम्पन्न भएको छ। महाकुम्भ मेलामा देशका राष्ट्रपति, मन्त्री देखि लाखौं तीर्थयात्री सहभागी थिए। महाकुम्भमा आउने दर्शनार्थीहरु पिण्डेश्वरमा पनि आएकाले यहाँ पनि भीड लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मूल आयोजक समितीका उपाध्यक्ष पितरुमल अग्रवालले बताए।

पिण्डेश्वर महाकुम्भ स्नान गर्न आएका श्रद्धालु भक्तजनहरु


विजयपुरमै बुढासुब्बा मन्दिर पनि रहेको छ । किराँतीहरुका आस्थाको केन्द्रको रुपमा मानिएको बुढासुब्बा मन्दिरमा दैनिक किरात तथा गैरकिराँत धर्मालम्बीहरूको बाक्लो उपस्थिती देखिन्छ । त्यस्तै विजयपुरमा शक्तिपिठका रुपमा दन्तकाली मन्दिर पनि छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्ने गर्दछ। त्यस्तै विजयपुरको शिरमा पञ्चकन्या मन्दिर, हाङबुद्धिकर्ण राय राजाको दरबारको भग्नावशेष पनि रहेको छ। धरानमा राधाकृष्णको इस्कोन मन्दिर, गीता भवन, हनुमान मन्दिर, सिंहदेवी मन्दिर, गणेश मन्दिर, राधाकृष्ण मन्दिर, श्याम चौक स्थित ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बा, रत्नचौक स्थित हिमालयन महाछ्योलिङ गुम्बा, विपी प्रतिष्ठान स्थित गुरुङ गुम्बा, धरान ८ स्थित तामाङ गुम्बा, बुद्ध विहार लगायतका गुम्बाहरु, किरात राईहरुको साकेला थान, मुस्लिम समुदायको मस्जिद तथा ईसाईहरुको चर्च समेत रहेका छन्।
धरान संस्कृतिमा पनि धनी मानिन्छ । धरानमा किरातीहरुको उँधौली, उभौली, याक्थुङहरुको चासोक तंङ्नाम, धान नाच, गुरुङ, शेर्पा, तामाङहरुको ल्होसार, नेवारहरुको लाखे नाच, मगर जातीहरुको हुर्रा, याक्खाको डोकेनी नाच पनि नाच्ने गरिन्छ। उपमहानगरपालिकाले हरेक वर्ष पुष २० गते धरान स्थापना दिवसको अवसरमा “धरान डे” विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेर धरानमा रहेका विभिन्न जातजातीहरुको संस्कार/सँस्कृतिलाई प्रवद्र्धन समेत गर्दै आएको उपमहानगरपालिकाका वरिष्ठ आर्थिक विकास अधिकृत शर्मा बताउँछन्।

मगर समुदायको हुर्रा नाच


स्वास्थ्य तथा खेल पर्यटनः
स्वास्थ्य पर्यटनका लागि पनि धरान एक विशेष स्थान हो। धरानमा देशमै नमुनाका रुपमा कहलिएको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशका बिरामी मात्र नभई भारतका विहारबाट पनि उपचार सेवा लिन आउने बिरामीहरुको संख्यामा कमी छैन।
त्यसो त धरान खेलकुदको पनि उर्वरभूमि हो। धरानलाई खेलकुदमा मिनी ब्राजिलको रुपमा समेत चिनिदै आएको छ। धरानमा २०५५ सालदेखी नियमित रुपमा अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको आयोजना हुने गरेको छ। यसैगरी धरानमा हरेकवर्ष अन्तरवडा स्तरिय गोधुली फुटबल प्रतियोगिता पनि आयोजना हुँदै आएको छभने राष्ट्रियस्तरको पानबारी भलिबल कप र हराईजन बास्केटबल प्रतियोगिता समेत हुँदै आएको छ। यसका साथै उमेर ढल्कदै गएपछि खेलकुदबाट अवकाश लिएका भेट्रानहरु (४० वर्ष माथि) ले क्लब नै दर्तागरी भर्खरै मात्र धरान भेट्रान फुटबल प्रतियोगिता र हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सफल रुपमा आयोजना गरेका छन्। जसले उमेर ढल्कदै गएपनि खेलकुदमा आफुलाई व्यस्त राख्न यस्तो प्रतियोगिताको आयोजना गरिएको धरान भेट्रान फुटबल क्लबका अध्यक्ष रोमी मोक्तान बताउँछन्।
धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र झन्डै ६ दशकअघि बनेको गल्फ कोर्स रहेको छ । यो गल्फ कोर्सले धरान घुम्न आउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ । त्यस्तै पछिल्लो समय, धरान साहसिक पर्यटनका लागि उत्कृट गन्तव्य बन्दै गएको छ। धरान २० चिण्डे डाँडा र धरान ४ भेडेटारबाट साहसिक तथा रोमाञ्चक “जिपलाइन” खेल्न सकिन्छभने चिण्डेडाँडा, भेडेटार र धरान ४ को दानावरीबाट पनि सहासिक खेल प्याराग्लाईडिङको मजा पनि लिन सकिन्छ । धरानको विजयपुर र धरान ४ को दानावारी भोर्लेनीमा हरेक वर्ष साईक्लिङ प्रतियोगिता (क्रस कन्ट्री) को आयोजना गरिंदै आएको छ।


त्यस्तै साहासिक खेलका लागी धरान २० स्थित सेंछ एडभेन्चर पार्क पनि रहेको छ। जहाँ जिप लाईनसँंगै स्काई साईकल, ह्याङगिङ ब्रिज, स्पेश सर्कल जस्ता साहासिक खेलहरुले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ। तर उपमहानगरको आर्थिक स्रोत कमीका कारण पर्यटन प्रवद्र्धन हुन नसक्दा सोचेजती पर्यटकहरु धरान आउन नसकेको सेंछ एडभेन्चर पार्कका संचालक तथा पर्यटनकर्मी बासुदेव बरालको भनाई छ।
धरानमा हाईकिङबाट पनि आन्तरिक पर्यटन विकासको सम्भावना देखिएको छ। सेवक अभियान धरानले हरेक साताको शनिवार धरानका विभिन्न स्थानहरुमा हाईकिङको आयोजना गर्दै आएको छ । हाईकिङमा न्यूनतम २० देखी ५० जनासम्मको सहभागिता हुने गरेको सेवक अभियानका संयोजक राजिव हलवाई बताउँछन् ।
छैन पर्यटनमैत्री वातावरण
धरानमा आन्तरिक पर्यटन विकासको राम्रो सम्भावना रहेपनि पर्यटनमैत्री वातावरण विकास हुन सकेको छैन। पहिलोपटक धरान आउने पर्यटकहरुले धरानका कुन कुन ठाउँ घुम्ने, कस्ता ठाउँहरु छन् भन्ने सुचना पाउन मुस्किल छ। उपमहानगरले पर्यटन सूचना केन्द्र विजयपुरमा राखेको छ। सूचना केन्द्र विजयपुरमा मात्र राखिँदा धरान बजारमा आउने पर्यटकहरुले जानकारी पाउन नसकेको होटल एशोसिएसन धरानका अध्यक्ष सरोज भट्टराई बताउँछन् । उनले धरानमा पर्यटकिय क्षेत्रहरुको बिस्तार हुँदै गएकाले पर्यटकहरुलाई सहि सूचना दिन धरानको तिनकुनेमा पर्यटन सूचना केन्द्र राखिनुपर्ने बताए। उनले भने “धरानमा पर्यटकिय क्षेत्रहरु कहाँकहाँ छन् भन्नेबारे धरान प्रवेशद्धारमा नै जानकारी भए पर्यटकहरुका लागी सजिलो हुन्छ।”
यसैगरी उपमहानगरले धरानमा आउने पर्यटकहरुका लागी धरानको कोशेली के हो भनेर अझैपनि यकिन गर्न सकेको छैन । धरानले पर्यटनका गतिविधीहरुलाई चलायमान बनाउन ठुला लगानीहरु भित्र्याउन पनि सकेको छैन भने रात्री बजारको अवधारणालाई पनि अगाडी ल्याउन सकेको छैन।
२०७४ सालमा भएको पहिलो स्थानिय तहको निर्वाचनमा तारा सुब्बा धरानको मेयरमा निर्वाचत भएर आएपछि धरान उपमहानगरपालिकाले पर्यटनमा १ करोड बजेट विनियोजन गरेको थियो । तत्कालिन समयमा यो कोशी प्रदेशकै स्थानिय तहमा सबैभन्दा बढी पर्यटनमा छुट्टिएको बजेट थियो । त्यसबेला धरानमा पर्यटनका कार्यक्रमहरु पनि बाक्लै हुने गरेको थियो । तर हाल आएर यस आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पर्यटन शिर्षकमा २० लाख ५० हजार मात्र बजेट छुट्टिएको छ । जसमा धरान उत्सवका लागी रकम अपुग भएपछि २ लाख रुपैयाँ रकमान्तर गरिएपछि बाँकी रहेको बजेट धरानको पर्यटन प्रवद्र्धनमा हात्तिको मुखमा जिरा सावित भएको छ।
उपमहानगरपालिकाका वरिष्ठ आर्थिक विकास अधिकृत शर्माले जनप्रतिनिधीहरुको ईच्छा अनुसार बजेट विनियोजन हुने गरेको बताए। उनले धरानमा पर्यटन प्रवद्र्धनका लागी स्थानिय सरकारसंँगै श्रमदान मार्फत् पर्यटन प्रवद्र्धनका गतिविधीहरु भईरहेको तर थोरै बजेट विनियोजनले धरानको पर्यटन प्रवद्र्धन हुन नसकेको बताए। धरानलाई स्थानिय सरकारले पर्यटकिय नगरी घोषणा गरेपनि पर्यटन प्रवद्र्धनमा थोरै मात्र बजेट छुट्याईंदा धरानले पर्यटनको त्यो लक्ष्य भेट्न असम्भव जस्तै बनेको छ।
त्यसैले उपमहानगरले धरानमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन पर्यटकीय गुरुयोजना (मास्टर प्लान) निर्माण गर्नुपर्ने पर्यटनकर्मी बरालको भनाई छ। उनी भन्छन्, “मास्टरप्लानका लागी पर्यटन विज्ञ, जनप्रतिनिधी, पर्यटनसम्वद्ध संघसंस्था, पर्यटन व्यवसायी लगायतसंग समन्वय गर्नु पर्दछ ।
धरानको थप सौन्दर्यीकरण गर्न पर्यटन प्रोडक्टको पहिचान, लगानीकर्तालाई आकर्षित गर्ने कार्ययोजना र कार्यबिधी निर्माण, रात्रीकालिन बजार, पर्यटकलाई सुरक्षाको अनुभूति लगायतका पहलहरु गरिनु पर्दछ।”
(यो रिपोर्ट धरान उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ सुनसरीको फेलोसिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो।)