सुवास राई स्मृती सुपर–८ लिगकम नकआउटः धरान १७ फाईनलमा

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउटको पहिलो सेमिफाईनल खेलमा धरान १३ लाई ट्राईब्रेकरमा पराजित गर्दै धरान १७ फाईनलमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज विहिवार धरान रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा धरान १७ ले १३ नं वडालाई ४–३ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। निर्धारित र थप समयसम्म दुबैतर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो। जसमा धरान १७ का मिलन राई, तपन कार्की, प्रज्वल थापा र सुसन राईले गोल गरेका थिएभने कृष्ण राईको प्रहार बाहिरिएको थियो। यसैगरी धरान १३ का तर्फबाट ईक्साहाङ लिम्बु, दोर्जे तामाङ र रोमन लिम्बुले गोल गर्न सफल भएका थिएभने विवेक राईको प्रहार बारमा लागेर फर्किएको थियो। त्यस्तै सुशान्त लोरोहाङको प्रहार धरान १७ का गोलकिपरले बचाउ गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १७ का प्रज्जवल थापा घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


लिग तालिकामा टिम “ए” बाट धरान १३ नं वडा ९ अंकका साथ विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियोभने धरान १७ नं वडा ४ अंकका साथ टिम “बि” बाट उपविजेता बन्दै सेमिफाईनमा प्रवेश गरेको थियो।
प्रतियोगिता अन्तर्गत भोली शुक्रवारको दोस्रो तथा अन्तिम सेमिफाईनल खेल टिम “बि” का विजेता धरान ११ र टिम “ए” का उपविजेता धरान १४ का बिच हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको थियोभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको थियो। प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।