तेस्रो हाम्रो धरान भेट्रान कपको उपाधी राजारानी भेट्रानलाई (भिडियो सहित)

मनिता चाम्लिङ
दिव्य रोशनी(धरान)/
धरान भेट्रानलाई हराउँदै राजारानी भेट्रान फुटबल क्लवले धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कपको उपाधी जितेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज शनिवार धरान रंगशालामा भएको फाईनल खेलमा धरान भेट्रानलाई ० का विरुद्ध २ गोल गर्दै राजारानी भेट्रान फुटबल क्लवले उपाधी जितेको हो। खेलमा राजारानी भेट्रानका देउ बहादुर लिम्बुले खेलको दोस्रो हाफको २६ औं र ३२ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच राजारानी भेट्रानका देउ बहादुर लिम्बु घोषित भए। उनले नगद ३ हजार सहित ट्रफि प्राप्त गरे।
उपाधी संगै राजारानी भेट्रानले नगद १ लाख ५ रुपैया प्राप्त गरेको छ। यसैगरी उपवजेतामा सिमित धरान भेट्रानले ट्रफि संगै नगद ६० हजार ५ रुपैया प्राप्त गरेको छ। यसैगरी प्रतियोगितामा उत्कृष्ट डिफेन्समा राजारानीका सुरज श्रेष्ठ, उत्कृष्ट गोलकिपर राजारानीका महेन्द्र घिमिरे, बेष्ट कोच राजारानीका युएन गुरुङ, उत्कृष्ट मिडफिल्डर राजारानीका सुमन श्रेष्ठ, प्रतियोगीताका उत्कृष्ट स्ट्राईकर धरान भेट्रानका सतिस केसी घोषित भए। उनिहरुले जनही नगद ३ हजार सहित ट्रफि प्राप्त गरे। यसैगरी बेष्ट प्लेयर धरान भेट्रानका अशोक लिम्बु घोषित हुँदै नगद ५ हजार सहित ट्रफि प्राप्त गरे।


फाईनल खेलमा रोचक, फाईनलिष्ट दुबै टिम प्रोटेस्ट मार्फत
हाम्रो धरान भेट्रानको ईतिहासमै पहिलो पटक दुई टोली प्रोटेस्ट अपिल गर्दै फाईनलमा पुगेका थिए। मंगलवार भएको पहिलो सेमिफाईनल खेलमा धरान भेट्रान फुटबल क्लव दुधे भेट्रान संग २–१ गोल अन्तरले पराजित भएपछि कम उमेरका खेलाडी खेलाएको भन्दै दुधे भेट्रान क्लव विरुद्ध प्रोटेस्ट लगाएका थिए। आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लवले छानबिन पश्चात बुधवार विज्ञप्ती जारी गर्दै धरान भेट्रान फाईनलमा प्रवेश गरेको जनाएको थियो।
यसैगरी बुधवार भएको दोस्रो सेमिफाईनल खेलमा हाम्रो ईटहरी भेट्रान संग ० का विरुद्ध १ गोलले पराजित भएपछि राजारानी भेट्रानले पनि हाम्रो ईटहरी भेट्रान विरुद्ध प्रोटेस्ट लगाएको थियो। जसमा आयोजकले राजारानी भेट्रानलाई फाईनलका लागी छनौट गरेको थियो।