धरान १० बालमैत्री वडा घोषित (भिडियो सहित)

मनिता चाम्लिङ
दिव्य रोशनी(धरान)/
बाल अधिकारका पाँच क्षेत्र बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत क्षेत्रका गरी ५१ ओटा सूचकलाई पुरा गरेकोमा धरान–१० नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ।
शनिवार कोशी प्रदेशका सभासदस्य यशोदा कायस्थले धरान १० न. वडाले बालअधिकारका पाँचक्षेत्रका ५१ वटा सूचकलाई पुरा गरेको बताउँदै बालमैत्री वडा घोषणा गरेकी हुन्। प्रदेश सभासदस्य कायस्थले धरान १० लाई बालमैत्री घोषणा गरेसंँगै धरानमा बालमैत्री वडाको संख्या १६ पुगेकोे छ। यसअघि धरानका १५ वटा वडाहरु बालमैत्री वडा घोषित भईसकेका छन्। यद्यपी ५१ सूचक पुरा गर्ने धरान १० न.ं वडा दोस्रो बाल मैत्री वडा होभने प्रथम धरानको ६ न.ं वडा हो। यसअघि पहिलो बालमैत्री वडा बन्न सफल धरान १३ लगायतका वडाहरुले ३९सूचक मात्र पुरा गरेका छन्। अब बाँकी धरानको १, २, ३ र ९ न.ं वडालाई बालमैत्री वडा घोषणा गर्नभने बाँकी नै छ।
शनिवार धरान १० स्थित सैनिक भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभासदस्य यशोदा कायस्थले बालमैत्री वडा घोषणा पश्चात् त्यसको प्रभावकारीता र दिगोपनामा जोड दिन समेत आग्रह गरिन्। उनले अब वडाका हरेक कृयाकलापहरु बालमैत्री हुनुपर्ने समेत बताईन्।
त्यस्तै, कार्यक्रममा विशेष अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले बालमैत्री घोषणासँंगै अभिभावकहरुलेपनि बालबालिकाहरुलाई लैङ्गिक रुपमा विभेद गर्न नहुने बताए। उनले आजका बालबालिका भोली देशका कर्णधार भएकाले राज्यले बालबालिकामा लगानी गर्नुपर्ने समेत बताए।


यसैगरी कार्यक्रममा धरान १५ का वडाअध्यक्ष नरेश ईवारमले २०७४ को स्थानीय निर्वाचन पछि धरानले उत्कृष्ट नेतृत्व पाउँदै आएकोले १६ वटा वडालाई बालमैत्री वडा घोषणा गर्न सफल भएको बताए। उनले धरान १३ बाट शुरू गरिएको बालमैत्री वडा धरान १० मा आईपुग्दा नगर प्रमुखको अनुपस्थितीले गर्दा बालमैत्री वडा घोषणा कार्यक्रम खल्लो भएको बताए। उनले नगर प्रमुख नगरको अभिभावक भएपनि बालमैत्री वडा घोषणा कार्यक्रममा अनुपस्थित रहँदा नगरको कार्यक्रम सामाजिक संस्थाको जस्तो भएको बताए। वडाध्यक्ष इवारमले भने “यो कार्यक्रम सामाजिक संस्थाको हो की स्थानिय सरकारको हो? घोषणासमामा नगर प्रमुखको भनाई आउनुपथ्र्यो तर त्यो हुन सकेन।” उनले धरान गफाडी, आरिसे र कुनै व्यक्तिको शहर नभएकाले अबको ८४ मा कस्तो नेतृत्व चुन्ने हो त्यो धरानले बुझ्न जरूरी रहेको समेत बताए।
यसैगरी कार्यक्रममा धरानको पहिलो बालमैत्री वडा घोषणा गरिएका धरान १३ का वडाअध्यक्ष नेत्र प्रसाद काफ्लेले २०७५ सालमै धरानका सम्पूर्ण वडाहरुलाई बालमैत्री वडा घोषणा गर्ने कार्यक्रमहरु भएपनि समयअभावका कारण घोषणा हुन नसकेको बताए। उनले बालमैत्री वडा घोषणा पहिले ३९ सूचक भएपनि अहिले ५१ सूचक पुगेको बताउँदै अब बाँकी वडाहरुले पनि ५१ सुचक पुरा गर्न कसरत गर्नुपर्ने बताए।


त्यस्तै धरान उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले २०४७ भदौ २९ गते संयुक्तराष्ट्र संघको बालअधिकार महासन्धीलाई अनुमोदन गरोपछि शुरु भएको बालमैत्री वडा घोषणा शुरुवात भएको बताए। उनले हिजोसम्म बालअधिकार घोषणा नहुँदा जे भएपनि अब बाल अधिकार हनन् हुन नहुने बताउँदै धरानका बालमैत्री वडा घोषणा भएका १४ वटा वडाले पनि थप १२ सूचक पुरा गर्नुपर्ने बताए। वडाले विनियोजन गर्ने कुल बजेटको १५ प्रतिशत बालबालिकाका लागी छुट्याउनुपर्ने प्रावधान भएपनि केही केही वडाले कुल बजेटको २ प्रतिशत पनि बजेट नछुट्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत खतिवडाले आरोप समेत लगाए।
त्यस्तै धरान उपमहानगरपालिका सामाजिक विकास अधिकृत भुवन कुमारी राईले बालमैत्री वडा घोषणाका लागि अहोरात्र खट्ने सम्पूर्णमा आभार व्यक्त गर्दै अब बालमैत्रीको कार्यान्वयन र योजनामा वडा अझ लाग्नु पर्ने बताए। उनले धरानका बाँकी ४ वटा वडाहरुलाई पनि बालमैत्री वडा घोषणा गर्दै आगामी आर्थिक वर्षमा धरानलाई नगर बालमैत्री घोषणा गरिने बताए। बालमैत्री नगर घोषणा पश्चात् वडामा अनाथ बालबालिका भेटिनु नहुने र बालश्रम हुन नहुने उनको भनाई थियो। यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले वडाको बालमैत्री वडा घोषणा कार्यक्रममा मेयर हर्कराज राईको अनुपस्थिती र उपमेयर अईन्द्र बिक्रम बेघा तत्कालै बाहिर निस्केर जानुले छोरी कन्यादान गर्दा बुवा आमा नभएको टुहुरो जस्तो कार्यक्रम भएको बताए। उनले वडा बालमैत्री घोषणा कार्यक्रममा मेयर, उपमेयरले देखाएको रबैया प्रति नेपाली काँग्रेसले खेद प्रकट गरेको समेत बताए।
कार्यक्रममा नारायण मुनालपथ टोल विकास संस्थाका अध्यक्ष भवानी देवी गुरुङ, नगर बाल संजालका अध्यक्ष दिवस खरेल, वडा बाल संजालका अध्यक्ष म्याट्रिस् गुरुङ, पञ्चायत माविका प्रधानाध्यापक उत्तम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।


संघिय मामिला तथा स्थानिय विकास मंत्रालयद्धारा जारी बालमैत्री स्थानिय शासन रणनीति एवं कार्यान्वयन कार्यविधीलाई २०६८ बमोजिम १० नं. वडाले बालमैत्री अभियानलाई तिव्रता दिंदै आएकाले ढिलाई भएपनि अन्ततः बालमैत्री वडा घोषणा गर्न सफल भएको वडाअध्यक्ष विवेक राईले बताए। उनले १० न.ं वडाले बालमैत्री स्थानिय शासनका ५१ सूचकमध्ये ५० ओटा सूचकमा शतप्रतिशत र बाँकी १ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरेको समेत बताए। वडाअध्यक्ष राईका अनुसार २०७८ सालको जनगणनाको नतिजा अनुसार १ हजार २ सय ६९ घरधुरी रहेको यस वडाको जनसंख्या ४ हजार ६ सय १२ रहेको छ। जसमा महिला २ हजार ४ सय ६८ र पुरुष २ हजार १ सय ४४ जना रहेका छन्।
यसैगरी वडाबाट २०८० सालमा गरिएको घरधुरी सर्वे अनुसार यस वडामा १८ वर्षभन्दा मुनिका बालबालिका ८ सय ३७ रहेका छन््। जसमध्ये बालकको संख्या ४ सय ४० र बालिका ३ सय ९७ रहेका छन्। बालबालिकाको संख्या यस वडाको कुल जनसंख्याको १८७.१४ प्रतिशत हुन आउँछ। यो वडाको क्षेत्रफलको हिसाबले मात्र नभई जनसंख्याको हिसाबलेपनि साना वडाहरु मध्येमा पर्दछ।
कार्यक्रममा वडाअध्यक्ष राईद्धारा प्रस्तुत प्रतिवेदनमा बालमैत्री वडा नतिजा हासिल गर्न वडाबाट सर्वे गराईआएका तथ्यांकका आधारमा बालबालिकाको वस्तुगत विवरण तयारी र प्रकाशन, वार्षिक लगानी योजना, बाल बालिकाको स्थिति पत्र तयारी, बालभेला, सुरक्षित मातृत्व कार्यक्रम, बालबालिका माथि हुने घरेलु हिंसा तथा बालश्रम न्युनिकरण, बालविवाह न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि तथा अनुगमन, जन्मदर्ता अभियान, पानीको परिक्षण, बाल संरक्षण र योजना तयारी र कार्यान्वयन, विद्यालय भर्ना अभियान, छात्रवृत्ति सहयोग, समुदाय र विद्यालयमा आधारित २० वटा बाल क्लब तथा १ बाल संजाल गठन, अभिभावक सचेतना कार्यक्रम, विषयगत कार्यालयहरुद्वारा अनुगमन मुल्याङ्कन लगायतका सूचकहरु पुरा गरेको जनाईएको छ।
यसैगरी वडामा बालमैत्री स्थानिय शासन अबलम्वन गर्नुभन्दा पहिला वडाका शतप्रतिशत बच्चाहरु अस्पताल तथा प्रसुति गृहमा जन्मदैनथे। शतप्रतिशत घरधुरीमा शौचालयको व्यवस्था थिएन, ५ वर्ष भन्दा मुनिका बालबालिकामा सबैको जन्मदर्ता थिएन। वडाबाट बालबालिकाको क्षेत्रमा बजेट विनियोजन हँुदैनथ्यो। योजना छनौट प्रकृयामा बालबालिकाहरुलाई सहभागि गराउने चलन थिएन। हाल यसवडाले बालबालिकाको लागी कुल पूँजिगत खर्चको १५ प्रतिशत बजेट अनिवार्य छुट्याउने गरेको छ। हरेक साल बालबालिकाहरु भेला गराई बालबालिकाका योजनाहरु छनौट गरिन्छ। यस वडामा रहेका एक सामुदायिक विद्यालय र संस्थागत दुईवटा गरी तीन वटा विद्यालयमा बाल क्लब गठन गरिएको छ। बाल क्लब र बाल संजालको नियमित बैठक बस्ने साथै तीनीहरुबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिने व्यवस्था भएकाले यस वडामा रहेका बालबालिकाहरुको चौतर्फी विकासको शुरुवात भएको छ। यस वडाले बालमैत्री घोषणा पश्चात् यसको निरन्तरता र दिगोपनको लागि आ.ब. २०८१÷०८२ देखी २०८५÷०८६ सम्मको “पञ्चवर्षिय रणनैतिक योजना” तय गरेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा धरान १० का विभिन्न विद्यालयका छात्राहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोभने कार्यक्रममा वडालाई बालमैत्री बनाउन सहयोग गर्ने वडाका कर्मचारी टिएलओ संस्था लगायतलाई कदरपत्र समेत प्रदान गरिएको थियो।
वडाका सदस्य शमसेर बर्देवाको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा धरान २, ५, ६, ११, १३, १४, १५,का वडाअध्यक्षहरु तथा प्रतिनिधी, कार्यपालिका सदस्य विकास भाटी तथा अनुप देवान, विद्यालयका प्रधानध्यापक, वडा बाल सञ्जालका पदाधिकारी, समाजसेवी, राजनैतिक दल, बुद्धिजीवी तथा स्थानियवासी हरूको उपस्थिति रहेको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)