धरान १३ लाई गोंधुली फुटबल रनिङ कपको उपाधी (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान १३ ले २४ औं गोंधुली फुटबल रनिङ कपको उपाधी जितेको छ।
धरान रंगशालामा शनिवार भएको फाईनल खेलमा धरान १७ लाई ट्राईब्रेकरमा ३ का विरुद्ध ५ गोल गर्दै धरान १३ ले उपाधी जितेको हो। निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयसम्म दुबै टिमले १/१ गोलको बराबरी गरे पछि खेलको नतिजा ट्राईब्रेकरबाट लिईएको थियो। जसमा धरान १३ का तर्फबाट ईचिके, ईक्साङ लिम्बु, बिबेक राई, मिलन लिम्बु र दोर्जे तामाङले गोल गरेका थिए। यसैगरी धरान १७ का तर्फबाट मिलन राई, सविन राई, युनेश बुढाथोकीले गोल गरेका थिएभने सौजन राईको प्रहार बाहिरिएको थियो।


उपाधी संगै धरान १३ ले १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। विजेताहरुलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुरस्कार वितरण गरेका थिए। यसैगरी उपबिजेतामा सिमित बनेको धरान १७ ले नगद ७५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। उपविजेताहरुलाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले पुरस्कार वितरण गरेका थिए। यसैगरी विजेता तथा उपविजेताहरुलाई धरान १८ का वडाध्यक्ष प्रबिन राईका पिता ध्यान बहादुर राईको तर्फबाट व्यक्तिगत थप २५/२५ हजार नगद प्रदान गरिएको थियो।
यस्तै बिधागत पुरस्कार तर्फ प्रतियोगिताको म्यान अफ दि म्याच धरान १३ का दोर्जे तामाङ घोषित भएभने वेष्ट गोलकिपर, मिलन घिमिरे, वेष्ट डिफेन्डर निश्चल श्रेष्ठ, वेष्ट कोच सिजन राई घोषित भए। उनिहरु सबै धरान १३ का खेलाडीहरु हुन्। यसैगरी धरान १७ का तर्फबाट वेष्ट मिडफिल्डर दिवस सुनुवार, बेष्ट स्ट्राईकर तपन कार्की र राईजिङ स्टार युनेश बुढाथोकी घोषित भए। उनिहरु सबैले नगद ५ हजार ५ सुसय सहित ट्रफि र मेडल समेत पाए।
यसैगरी प्रतियोगिता अवधीभरी ५ गोल गरी धरान १३ का मिलन लिम्बु हाई स्कोर घोषित भई नगद ७ हजार ५ सय सहित ट्रफि र मेडल प्राप्त गरेभने र धरान १७ का प्रज्वल थापा बेष्ट प्लेयर घोषित भए। उनले नगद १५ हजार सहित ट्रफि र मेडल प्राप्त गरे। यसैगरी प्रतियोगिताकै फेयर प्ले टिम धरान १४ घोषित भएको थियो।


विजेता धरान १३ ले यसअघि गोंधुली फुटबल रनिङ कपको १७ औं संस्करण जितिसकेको छभने उपविजेता बनेको धरान १७ ले १८, १९, २० र २३ औं संस्करण जितिसकेको छ। गोधुली फुटबल रनिङ कपमा हालसम्म धरान १९ ले ५, ७, ८, ११, १२ र १६ औं गरी सर्वाधिक ६ पटक उपाधी जितिसकेको छ।
समापन कार्यक्रममा उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै दिव्य रोशनीका सम्पादक मनिता चाम्लिङलाई नगद ५ हजार ५ सय ५ रुपैया सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो। सम्पादक चाम्लिङलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सम्मान गरेका थिए।