आज सोनाम ल्होछार मनाईदै

दिव्य रोशनी(धरान)/ तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होछार आज (शनिबार) धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्वका साथ मनाउने गर्छन्।
नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन्। ल्होछार शब्दको अर्थ पनि नयाँ वर्ष भन्ने हुन्छ।


ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होछार पर्व मनाउने चलन छ। समुदायका सबै जना एकै ठाउँमा भेला भइ सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।


धरानमा सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ नगर समिती धरानले पर्यटन महोत्सवको तयारी गरेको छ। धरान १२ स्थित पब्लिक हाईस्कुलमा हुने पर्यटन महोत्सवको आज शनिवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उद्धघाटन गर्नुहुँदैछ। फागुन ५ गतेसम्म संचालन हुने पर्यटन महोत्सवमा जातीय खाना परिकारहरु लगायतका ८० वटा स्टल रहेका छन् भने बाल उद्यानहरु रोटेपिङ, मिकी माउस, ड्रागनहरुपनि संचालनमा रहेकाछन्।