सुनसरीको चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ शुरुः राष्ट्रपतिद्धारा उद्धघाटन

दिव्य रोशनी(धरान)/ सुनसरीको चतराधाममा आयोजित बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्धघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।
आज मंगलवार एक कार्यक्रम माझ राष्ट्रपति पौडेलले पूर्ण महाकुम्भको उद्धघाटन गरेका हुन्। उनले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि देशको विकास , सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक रहेको बताए । सोहीक्रममा राष्ट्रपति पौडेलले कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना समेत गरे ।


यही चैत्र २७ गतेदेखी बैशाख २८ गतेसम्म आयोजना हुन लागेको पूर्ण महाकुम्भमा स्नान गरेर धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गरेमात्र पुण्य प्राप्ती हुने आयोजकले जनाएको छ। महाकुम्भ अवधीभरी करिव २ करोड भक्तजनहरु आउने आयोजकको अनुमान छ।
हाल महाकुम्भ मेला नेपालको बराहक्षेत्र चतरा धाममा हरेक बाह्र वर्ष पूर्ण कुम्भ र ६÷६ वर्षमा अर्ध कुम्भ मेला लाग्दै आएको छभने भारतको इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड) मा हरेक ३/३ वर्षको अन्तरालमा महाकुम्भको आयोजना हुँदै आएको छ।