फागुन १७ गते प्रदेशभर आमहड्ताल

दिव्य रोशनी(धरान)/ प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितीले आगामी फागुन १७ गते प्रदेशभर आमहड्ताल गर्ने जनाएको छ।
शनिवार धरानमा आयोजित पत्रकार सम्मेलनमा समितीका अध्यक्ष डकेन्द्रसिंह थेगिमले प्रदेशसभा, सरकार र त्यहाँ प्रतिनिधीत्व गर्ने दलका नेताहरु जिम्मेवार भएर पुनः नामांकनको प्रकृया अगाडी नबढाए कोशी नाम राखिएको दिन फागुन १७ गतेलाई कालो दिन मनाउन प्रदेशभर आम हड्तालको आयोजना गरिने बताए। उनले फागुन १७ गते हुने आमहड्तालको स्थिती हेरेर अनिश्चितकालिन लैजान सकिने समेत जानकारी दिए। गत पुष २६ र २७ गते सुनसरीको धरानमा सम्पन्न केन्द्रिय बैठकको भेलाले गरेको निर्णय सार्वजनिक गर्दै समितीका अध्यक्ष थेगिमले माघ १३ देखी फागुन १० गतेसम्म सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कोशी नामको बोर्ड, लेटर प्याड, स्ट्याम्प राखिएको पाईए सम्बन्धित कार्यालयको प्रमुखलाई हटाउन अनुरोध गर्ने बताउँदै नहटाए पहिचानको लागी युवाको केन्द्रिय, जिल्ला, स्थानिय समिती र संघर्ष समितीले हटाउने र मेटाउने बताए।


यसैगरी पत्रकार सम्मेलनमा समितीले १० बुँदे प्रेस विज्ञप्ती जारी गर्दै संविधानसभाका पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको क्षेत्र २ मा हुन लागेको संसदीय उपनिर्वाचनमा पहिचानवादीहरूको साझा उम्मेदवार उठाउने जनाएको छ। यसैगरी पहिचानको आन्दोलनलाई शसक्त बनाउन जिल्ला जनजागरण अभियान अन्तर्गत माघ १३ गते प्रदेशको १४ जिल्लामा नै प्रशिक्षण, भेला आयोजना गर्ने र संयुक्त संघर्ष समितीलाई वडा तहसम्म गठन, पुनःगठन र प्रशिक्षण शसक्त रुपमा गर्ने जनाएको छ। त्यस्तै पहिचानको आन्दोनल जनताको साझा नागरिक आन्दोलन भएको कारण संघीय मन्त्री, सांसद, कर्मचारी, उद्योगी, व्यवसायी र शुभचिन्तकहरुसंग आर्थिक सहयोग गर्न अपिल गर्दै रकम संकलन गर्ने, प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन लगायतका पूर्व घोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने जनाईएको छ।
यसैगरी समितीले पहिचानवादी संयुक्त संघर्ष समितिको नीति विपरित गतिविधी गर्ने घटक संगठनका नेता, कार्यकर्ताहरुलाई सम्बन्धित संगठनले कारवाही गर्नुपर्ने, सो संगठनले नगरेमा त्यस्ता व्यक्तिलाई संयुक्त संघर्ष समितिले अस्वीकार गर्नुको साथै कारवाही गर्ने,वर्तमान संविधानको रक्षा, संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न वर्तमान पार्टीहरुका नेताहरुले नसक्ने परिस्थितिमा वा रक्षा गर्न नचाहेमा निकट भविश्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्दै, देशैभर माहोल सिर्जना गर्ने र इलाम जेलमा पुर्पक्षमा रहेका आशिष साम्बा लिम्बु रिहाइको पहल घट्नामा अर्को कुनै पक्ष दोषी भए अध्ययन गरेर कारवाहीको लागि सम्बन्धित निकायलाई सहयोग हुनेगरी नेपाल जनमुक्ति पार्टीको महासचिव पदम जबेगुको संयोजकत्वमा टुपेन्द्र येक्तेन (जसपा) र पुष्पा राई यायोक्खा जिल्ला अध्यक्ष, इलाम) सदस्य रहेको अध्ययन टोली गठन गर्ने, पहिचानको आन्दोनल शान्ति, संमृद्धि समाजवाद स्थापित गर्न र साझा राष्ट्रियता निर्माण, नेपाली राष्ट्रियतालाई मजबुत बनाउने जनताको साझा नागरिक आन्दोलन भएकाले नेपाल पत्रकार महासंघ, फोनिज, समुदायगत र पत्रकारसँग सम्बन्धित संगठनहरुलाई संगठित रुपमै प्रचार÷प्रसारमा लाग्न आम पत्रकारहरुसँग अपिल गरिने बताएको छ।
पत्रकार सम्मेलनमा तत्कालिन नेकपा माओवादीका पूर्व मन्त्री गोपाल किरातीले हाम्रै समुदायको कमिकमजोरी कै कारण पहिलो र दोस्रो जनआन्दोलनबाट प्राप्त नयाँ राज्य प्रणालीले पहिचान र अधिकार सम्बोधन नगरेको कारण तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए। उनले आफु पहिलो संविधानसभामा राज्य पुर्नसंरचना समितीको सदस्य रहेपनि त्यसले ५ वटा पहिचानका आधारमा राज्य पुनसंरचना गर्नुपर्छ भनेपनि दोस्रो संविधानसभाले हटार्ईदिएको बताए।
यसैगरी किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेनले राई, लिम्बु जुनसुकै सांसदभएपनि उनले आफ्नो समुदाय प्रति गरेको गद्धारलाई वंश गद्धारको रुपमा घोषणा गरिएको समेत बताए। उनले “वंश गद्धार” शब्द नेपाली राजनीतिमा “नयाँ फड्को” भएको बताउँदै वंशप्रति गद्धार गर्छभने उ आफ्नो कित्ताको हुँदैन भन्ने नयाँ ईतिहास निर्माण गरिसकेको बताए। समुदायमा र आफुपनि वंश गद्धारको पछि लाग्ने केही मान्छेहरु भए उनीहरुलाई यस्तो काम नगरिदिन उनले अनुरोध समेत गरे।
त्यस्तै जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले पहिचानको मुद्धालाई लिएर गाउँ गाउँसम्म पुगेको बताए। उनले गणतन्त्रबाट प्राप्त उपलब्धीको रक्षार्थाताको लागी तेस्रो जनआन्दोलन आवश्यक भएको समेत बताए।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष ग्याल्जे शेर्पा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र नेपाल शेपां संघका महासचिव लाक्पा शेर्पाको लगायतको उपस्थिती रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)