पब्लिक हाईस्कुलको ७७ औं वार्षिक उत्सव शुरुः पेटको लागी होईन देशका लागी पढ्न विद्यार्थीहरुलाई मेयर साम्पाङको सुझाव

दिव्य रोशनी (धरान)/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ) ले पेटको लागी मात्र नभई देशको लागी पढ्न विद्यार्थीहरुलाई आग्रह गरेका छन्।
सो कुरा उनले धरान १२ स्थित पब्लिक हाईस्कुलको ७७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस उद्धघाटनको क्रममा बताएका हुन्। मेयर साम्पाङले पेटको लागी मात्र पढ्ने हो भने मान्छे र जनावरमा फरक नहुने बताउँदै राम्रो शिक्षाका लागी विदेश मात्र नभई स्वदेशमै पनि गुणस्तरिय शिक्षा हासिल गर्न सकिने बताए। उनले यही पब्लिक स्कुलमा पढेर पनि बैज्ञानिक हुन सकिने रहेछ भन्ने आफुलाई लागेको बताए। उनले भने “पब्लिकका विद्यार्थीहरुले आफैले निर्माण गरेका रोवर्ट र ड्रोन देख्यौ, सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु पनि वैज्ञानिक, ईन्जिनियर हुन सक्छन् भन्ने पुष्टि भएको छ।” मेयर साम्पाङलाई उद्धघाटनको अवसरमा विद्यार्थीहरुद्धारा निर्मित रोवर्टले बुकी फुल दिई हात मिलाई स्वागत गरेको थियोभने ड्रोन उडाएर पुष्प वृष्टि समेत गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर साम्पाङले शिक्षा भनेको कक्षा कोठामा बसेर पढ्नु मात्र नभई समाजमा रहेर सिकिने राम्रा कुरा, उन्नती र प्रगतीलाई पनि शिक्षा मान्न सकिने बताए। उनले शिक्षामा लगानी बढाउन नसकेकै कारण धेरैजसो विद्यार्थीहरु महंगो शुल्क तिरेर निजी विद्यालयमा पढ्न जाने गरेको बताउँदै स्थानिय सरकारले आगामी वर्षहरुमा शिक्षामा अहिले छुटिएको बजेट भन्दा ३० देखी ५० लाख थप गरिने समेत बताए। सोही अवसरमा मेयर साम्पाङले स्टिलद्धारा निर्मित विद्यालयको वर्णअक्षर नाम पढेर उद्धघाटन समेत गरेका थिए।


यसैगरी कार्यक्रममा उपप्रमुख अईन्द्र बिक्रम बेघाले काठको कालो बोर्डबाट लेखेर शुरुवात गरेको पब्लिक विद्यालय आज प्रविधिलाई अंगाल्दै ड्रोन र रोवर्ट बनाउन सफल भएकोमा शुभकामना समेत दिए।
यसैगरी विद्यालयका प्रधानाध्यापक ईन्द्र मोहन झाले पब्लिक हाईस्कुललाई अहिलेको स्थितीमा पुर्याउन अभिभावक, विद्यालय व्यावस्थापन समिती र अभिभावक संघको धेरै हात रहेको बताए। उनले विद्यार्थीहरुको सुविधाका लागी ६ वटा स्कुल बस संचालनमा ल्याएको बताउदै अभिभावकहरुको तन, मन र धन कै कारण विद्यालयले प्रगतीको शिखर चुम्न सफल भएको बताए। उत्सवको उद्धघाटन समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो। उत्सवमा विभिन्न स्टलहरु वनाएर विद्यार्थीहरुले आफैले निर्माण गरेका विज्ञान, प्रविधिक, रोवर्ट, स्वास्थ्य जाँच, हस्तकला, खानाका परिकारहरु प्रर्दशन गरेका थिए।
कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाता तथा महानुभावहरुलाई सम्मान गरिएको थियोभने विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो। विद्यालयका प्रधानाध्यापक झा का अनुसार उत्सव भोली शुक्रवार समापन हुनेछ।