पद्माको पढाईलाई उमेरले छेकेन

मनिता चाम्लिङ
दिव्य रोशनी(धरान)/ “पढाईलाई उमेरले छेक्दैन” भन्ने भनाई अहिले पद्मा लिम्बुको जिवनमा ठ्याक्कै चरितार्थ बन्न पुगेको छ। उमेरले ४२ वर्ष पुगेकी पद्मा अहिले अधुरो पढाईलाई पुरा गर्ने अठोटका साथ कक्षा ८ को परीक्षा दिइरहेकी छिन्।
२८ वर्ष अघि कक्षा ७ पास भए लगत्तै घरजम गरेपछि टुटेको पढाइलाई पद्माले अहिले निरन्तरता दिएकी हुन्। तीन सन्तानकी आमा पद्मा गत बैशाखमा स्थानीय धरान ८ वरगाछी स्थित शहिद स्मृति माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना भएकी थिइन्। अहिले उनी त्यही शहिद स्मृति मावि केन्द्रबाट कक्षा ८ को स्थानीय तह स्तरीय परीक्षा दिइरहेकी छिन्।
सामान्यतयाः नाती/नातिना स्याहारेर बस्ने उमेरमा पनि पढ्न थालेपछि इच्छा भए पढाईलाई उमेरले छेक्दैन भन्ने कुरालाई उनले सावित गरिदिएकी छिन्। उनकाअनुसार उनकी जेठी छोरी कुवेतमा डेन्टल पढ्दैछिन्भने कान्छी छोरी युकेमा पढ्दैछिन् र छोरा काठमाण्डौमा ब्याचलर सेकेण्ड ईयरमा पढ्दैछन्। आधारभूत तह अध्ययन पुरा गर्ने उमेर भनेको १२/१३ वर्षसम्म हो। तर,उमेरले चार दशक नाघीसक्दा पनि उनको आफ्नो भित्री चाहना अनुसार अधुरो पढाईलाई निरन्तरता दिएकी छिन्।
उनको माईती गाउँ मोरङको केराबारी गाउँपालिका (साविक केराबारी गाविस ७) रहेको उनले बताईन्। उनको विवाह चौबिसे गाउँपालिका धनकुटामा भएपनि हाल उनी धरान ८ मा स–परिवार बसोबास गर्दै आएको उनले बताईन्। उनको माईती गाउँ दुर्गम ठाउँ, जहाँ पढ्नका लागी स्कुल टाढा भएपछि उनले पढ्न नपाएको बताउँदै उनले भनिन्–“७ कक्षासम्म पढेपछि विवाह भयो, जिम्मेवारी थपियो, बच्चा/बच्ची भयो” उनले भनिन्। “दुःखमा संघर्ष गर्दै थिए। सासुको मृत्यु पश्चात् ससुराले दोस्रो बिहे गरेपछि कान्छी सासुबाट चार जना छोराछोरीको जन्म भयो। कान्छी सासु पनि बितेपछि स–साना नानीहरुलाई जिम्मेवारी पूर्वक हुर्काउँदै पढाए।” अहिले उनीहरु पनि ठुलो भएपछि आफुले पढ्नुपर्छ भन्ने भावना पुनःजागृत भयो,जसरी भएपनि पढ्छु भन्ने भावना जागेपछि उनले यही वर्षदेखी कक्षा ८ मा भर्ना भएको उनले बताईन्। पढाईमा सर मिसहरुले एकदमै सहयोग गरेको उनी बताउँछिन्। कक्षामा साथीहरु स–साना भएपनि शुरुमा अलि अपठ्यारो लागेतापनि आफुले उनीहरुलाई साथी सम्झेर पढाईमा लागीपरिरहेको उनले बताईन्। उनले भनिन् “अहिले नियमित पढिरहेको छु। सर÷मिसहरुले यो उमेर आएर पढ्नु भएको छ, तपाईको ईच्छा पुरा होस् भनेर सर्पोट गरिरहनु भएको छ।”
परिवारको सुख/सुविधाका लागी विदेशिएका श्रीमान पनि अहिले उनको उच्च शिक्षाका लागी घर फर्केर परिवार सम्हालिदिएको पद्माले बताईन्। पद्माले पढ्न थालेपछि उनको छोराछोरीहरु पनि अहिले निकै खुसी भएको उनले बताउँदै उनले भनिन्–“हामीलाई पढाउनुभयो, अब तपाईलाई हामी पढाउँछौ भनेर छोराछोरीले मलाई पढ्ने वातावरण मिलाईदिएका छन्। श्रीमान र ससुराले पनि पढ्न प्रोत्साहन गर्नुभएको छ। धेरै नसकेपनि म मेरो दिमागले भ्याएसम्म ब्याचरसम्म पढ्ने सोंचको छु।”
शिक्षाको धेरै महत्व रहेकै कारण आफुले पुनः पढाईलाई निरन्तरता दिएको उनले बताईन्। शिक्षा बिनाको संसारै अन्धकार जस्तो लाग्ने बताउने पद्मालाई पढ्नमा भने अग्रज कलाकार करिश्मा मानन्धरलाई देखेर पे्ररणा मिलेको बताउँछिन्। उनले भनिन् “मैले जहिलेपनि पढ्ने वातावरण मात्र खोजिरहेकी थिए। विशेषगरी नायिका करिश्मा मानन्धरले पढेको समाचार सुनेपछि झनै पढाईप्रति लगाव बढ्यो, अहिले आएर त्यो वातावरण मलाई पनि मिलेको छ।”
उनलाई गणित र अंग्रेजी विषय अन्य विषयको तुलनामा अलि गाह्रो विषय लागेकाले यसमा विशेष ध्यान दिएको बताईन्। बिहिवार अंगे्रजी विषयको परिक्षा दिएपछि हल बाहिर निस्केर दिव्य रोशनी साप्ताहिकसँंग कुराकानी गर्दै पद्माले अंग्रेजी विषय अलि गाह्रो भएपनि पास चंै हुन्छु भन्ने लागेको बताईन्। उनले भनिन् “तपाईहरु (मिडिया) लाई भेट्दा खुसी लागेको छ। यसरी म पनि मिडियामा आउछु जस्तो चाहि लागेको थिएन। म पढेर मेरो दुःख, भावनाहरु कलमको सहयताले कागजमा लेखेर व्यक्त गर्छु भन्ने लागेको थियो तर यसरी मिडियाको सामु व्यक्त गर्न पाउछु जस्तो लागेको थिएन।”


“पढाईलाई उमेरले छेक्दैन, ईच्छा शक्ति भए जुनसुकै उमेरमा पनि पढ्न सकिन्छ, तपाईपनि म जस्तै र मेरै उमेरको हुनुहुन्छभने आउनुस् साथी बन्नुपर्छ। समयले मान्छेलाई पर्खदैन, समय पाएको बेला पढौंै। समयलाई बर्बाद नपारौ” भन्दै उनी अरुलाईपनि पढ्न प्रेरित गर्छिन्।
पढाईलाई कुनै उमेर, समूहले बाधा नपार्ने विषयगत शिक्षक (अंग्रेजी) उद्धव सुवेदीले बताए। उनले पद्मामा पढ्ने एकदमै ईच्छा शक्ति भएको बताउँदै उनी एकदमै मिहिनेती र उनको प्रगती देखेर आफुपनि छक्क परेको बताउँदै भने– “उहाँ गीत गाउने सँंगै अभिनय पनि गर्नुहुन्छ हामी उहाँदेखी प्रभावित छौं। पढाई छाड्नेहरुका लागी उहाँ प्रेरणाका स्रोत हुनुहुन्छ।”
गृहणी संँगै विद्यार्थी पद्मा गायिका पनि हुन्। उनले गाएको लिम्बु पालाम गीत “पोखरी सेम्लेङ…” चर्चामा रहेको छ। उनको लोक गीत “घर हाम्रो लाप्चे डाँडाँ बजार…” संगै “तिनलायो माथि भञ्ज्याङ मुनी” भन्ने आधुनिक गीत पनि चर्चामा छन्। दिव्य रोशनीको आग्रहमा उनले लिम्बु पालाम पनि गाईन् “पो..ख..री से…म्ले…ङ….. डु…बे…पछि… ए ध…र…ती… माथि, डु…बे… पछि… सु…पा…. री… खा…नु…. कु…टु…कु….टु…., मा….या….ले…. ग…र्दा… खा…यो… मु…टु।”
विद्यालयका प्रधानाध्यापक राम बहादुर बिष्टले यो उमेरमा पनि पद्माले गरेको साहसलाई विद्यालयले कदर गरेको बताए। प्रअ विष्टले पद्माको मेमोरी (सिक्न सक्ने क्षमता) अन्य विद्यार्थीको जस्तो नभएपनि अतिरिक्त कक्षा लिएर पनि पद्मालाई पढाउँदै आएको बताउँदै भने– “उहाँ कक्षाको मनिटर पनि हो। सबै विद्यार्थीले दिदी भन्छन्। उहाँ अन्य रेगुलर विद्यार्थीभन्दा पछि पर्छिन् कि भनेर हामी पनि चिन्तित छांै, हामीले सक्दो गाईड गरिरहेका छौ।”
आफ्नो जिवनमै पहिलो पटक आधारभूत तहमा यस्तो बढी उमेरको विद्यार्थी देखेको प्रअ विष्टले बताए। सबै विद्यार्थीको लागी पद्मा उदाहरणीय पात्र बनेको बताउँदै पद्मालाई देखाएर पनि अन्य विद्यार्थीहरुलाई पढ्न प्रोत्साहित गरिरहेको प्रअ विष्टले बताए। (साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १९ अंक ४२)