बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताः हाम्रो ईटहरी भेट्रान र कन्काई भेट्रान क्लव विजयी

दिव्य रोशनी(धरान)/ चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा हाम्रो ईटहरी भेट्रान र कन्काई भेट्रान क्लव विजयी बनेको छ।
आज धरान रंगशालामा भएको पहिलो खेलमा हाम्रो ईटहरी भेट्रानले एभरेष्ट भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको छ। खेलमा हाम्रो ईटहरी भेट्रानका तर्फबाट दिपेन राईले पहिलो हाफको १० औं मिनेटमा पहिलो गोल गरेका थिए।
पहिलो हाफ सम्म १–० को अग्रता लिएको हाम्रो ईटहरी भेट्रानका लागी दोस्रो हाफको १३ औं र २७ औं मिनेटमा व्यक्तिगत २ गोल गर्दै सन्तोष राईले टिमलाई ३–० को जित दिलाएका थिए। खेलको म्यान अफि म्याच हाम्रो ईटहरी भेट्रानका दिपेन राई घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे।


यसैगरी प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा कटारी टाईगर भेट्रानलाई ४–१ ले हराउँदै कन्काई भेट्रानले पहिलो जित हात पारेको छ। खेलमा कटारी टाईगरका लागी साज कुमार आलेले पहिलो हाफको १९ औं मिनेटमा पहिलो गोल गरी टिमलाई १–० को अग्रता दिलाएका थिए।
मध्यान्तरसम्म १–० ले पछि परेको कन्काईले दोस्रो हाफको ३ मिनेटमा नन्दु मुर्मुको गोलबाट खेललाई बराबरीमा ल्याएको थियो। यसैगरी खेलको ६ मिनेटमा ज्योती उप्रेती र धन बहादुर गुरुङले १९ औं र २३ औं मिनेटमा गोल गर्दै टिमलाई ४–१ को जित दिलाएका थिए।
प्रतियोगिताको म्यान अफ दि म्याच कन्काई भेट्रानका धन बहादुर गुरुङ घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे। भोली आईतवारको पहिलो खेल दमक लखनपुर भेट्रान क्लव र विराट मेघा भेट्रानका बिच हुनेछभने दोस्रो खेल मिल्स भेट्रान फुटबल क्लव र उद्धघाटन खेलका विजेता रारा भेट्रानका बिच हुने क्लवका सचिव सतिस केशीले बताए।
धरान भेट्रान फुटबल क्लवको आयोजनामा यही चैत्र ३० गते हुने फाईनल खेलको विजेताले रनिङ ट्रफि सहित नगद १ लाख ५ हजार पाउनेछन्भने उपविजेताले ट्रफि सहित नगद ६० हजार पाउनेछन्। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २१ सय प्राप्त गर्नेछन्भने बेष्ट प्लेयरले नगद १० हजार र अन्य व्यक्तिगत पुरस्कार तर्फ ३५ सय प्राप्त गर्ने क्लवका अध्यक्ष रोमी मोक्तानले बताए।