धरानको मुख्य बजार क्षेत्रमा “वान वे” बनाउने प्रस्तावसँगै यातायात व्यवस्थापन गर्न १७ सदस्यीय अध्ययन कार्यदल गठन

धरान\ पूर्वाञ्चलको सुन्दर अनि पर्यटकीय नगरको रुपमा चिनिएको धरानको भानुचोक अस्तव्यस्त बन्दै गएको भन्दै “वान वे” बनाउने प्रस्ताव भएको छ ।उक्त प्रस्तावसँगै धरानको यातायात व्यवस्थापन गर्न १७ सदस्यीय अध्ययन कायदल समेत गठन भएको छ ।
आज सोमबार धरान उपमहानगरपालिकाद्वारा अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले सरोकारवाला निकाय,यातायात व्यवसायी र विभिन्न संघसस्थाहरु बीच व्यापक छलफल पश्चात् थप अध्ययन गरि योजना निर्माण र कार्यान्वयनको लागि एक कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
बैठकले वडा नं. २ का अध्यक्ष रमेश राईको अध्यक्षतामा १७ सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यत्रदलमा उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटा कार्यदलको सदस्य सचिवमा रहेका छन् । कार्यदलमा वडा नं. १, ३, ७, ९ र १२ का वडा अध्यक्षहरु, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, ईलाका प्रहरी कार्यलयका प्रतिनिधी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधी, टेम्पोका प्रतिनिधि, सुमोका प्रतिनिधि, सिटी सफारीका प्रतिनिधि लगायतका सदस्य रहेका छन् ।


भानुचौक मुख्य बजार भएको र बसपार्कको रुपमा समेत रहेको कारण पनि भानुचोकमा ठुला सवारीसँगै साना सवारी (इ रिक्सा, टेम्पो समेत)को पार्किङ हुने गरेको छ। पैदल यात्रुसँगै बस, मोटरसाइकल, टेम्पो र इ रिक्साको भीडले भानुचोक बसपार्क, महेन्द्र पथ, पुतलीलाइन र देशीलाइन समेतअस्तब्यत देखिन्छ ।

बैठकमा मेयर हर्कराज साम्पाङ राईले भानुचोक र मुख्य बजार क्षेत्रको सडकलाई “वान वे” बनाउने प्रस्ताव गरेका थिए । मेयर साम्पाङको प्रस्तावमा सबैले समर्थन जनाएका थिए।

मेयर साम्पाङले भानुचोक क्षेत्रमा टेम्पो र सफारीलाई यात्रु ओराल्ने र जाने मात्र गर्न दिइनुपर्ने बताउँदै यातायात क्षेत्र, संघसंगठन र व्यक्तिहरुलाई राजनीतिक दलको आडमा निर्णय कार्यान्वयनमा अवरोध नगर्न समेत आग्रह गरेका छन् ।

वडा नं २ का अध्यक्ष रमेश राईले व्यवसाय गर्दा सबै जनाले जिम्मेवार भएर सिस्टम बनाएर जानुपर्ने बताए । साथै उनले भानुचोक वडा २ मा पर्ने बताउँदै वडालाई नै व्यवस्थापनको जिम्मेवारी दिन समेत सुझाव दिए।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले सफारी र टेम्पोहरुको संख्या अत्यधिक रुपमा बढेको कारण धरानको मुटु भानुचोक र बजार क्षेत्र कुरुप भएको बताउँदै कार्यदलले व्यवस्थित बनाउन सुझाव समेत दिए।

त्यस्तै राष्ट्रिय यातायात व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठले सवारी साधनहरुमा वान वे लागु गरिएकोमा धरानको अस्तव्यस्त सवारी चाँपमा धेरै सुधार हुने बताए ।

छलफलमा उपस्थित टेम्पो र सवारी चालकहरुले आफुहरुलाई कुनैपनि मर्का पर्ने गरि निर्णय नगर्न समतआग्रह गरे। साथै उनीहरुले नयाँ सवारी साधनहरुलाई धरानको आवश्यकता हेरेर मात्र यातायात कार्यालयमा दर्ता गर्नुपर्ने बताउँदै यसतर्फ स्थानीय सरकारको ध्यान दिनु जानुपर्ने बताए ।
उक्त कार्यदलले समग्र अवस्थाको अध्ययन गरि १० दिनभित्र प्रतिवदन पेश गर्ने बैठकले निर्णय समेत गरेको छ।

5 thoughts on “धरानको मुख्य बजार क्षेत्रमा “वान वे” बनाउने प्रस्तावसँगै यातायात व्यवस्थापन गर्न १७ सदस्यीय अध्ययन कार्यदल गठन

टिप्पणीहरू are closed.