आगामी बैशाख २२ देखी पानवारी गोल्डकप हुने

दिव्य रोशनी(धरान)/ पानवारी फुटबल क्लब द्वारा आयोजित प्रथम पानवारी गोल्ड कप आगामी वैशाख २२ गतेदेखि २९ गतेसम्म संचालन हुने भएको छ।
शनिबार आयोजित पत्रकार सम्मलेनमा क्लवले सो कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष कृष्ण कुमार राई (भूपाल) ले क्लव गठन भएको एक वर्ष नपुग्दै विधिवतरुपमा दर्ता भएर ईतिहासमै पहिलो पटक राष्ट्रिय स्तरको प्रथम पानवारी गोल्ड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। उनले पानबारी बाट पनि राष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गर्नका लागी साथै खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पानबारीको चिनारी गराउने उदेश्य रहेको समेत बताए।
अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहने भएको छ।जसमा आयोजक पानबारी फुटबल क्लव संगै केएफसी मोरङ, बुल्स ११ ईटहरी, योङ ब्वाईज तरहरा, नेपाल प्रहरी रानी विराटनगर, एपीएफ पकली, धनकुटा फुटबल क्लव धनकुटा र आरआईएफसी काठमाण्डौ रहेका छन्। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्भने उप विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। त्यसगरी वेस्ट अफ प्लेयर टुर्नामेन्टले नगद ७ हजार पाउने छने भने हाई स्कोरर, बेष्ट गोल किपर, बेष्ट डिफेन्स, बेष्ट कोच र वेष्ट मिड फिलले जनही नगद ५ हजार प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिता अवधीभरीको म्यान अफ दि म्याचले नगद २१ सय प्राप्त गर्ने अध्यक्ष राईले बताए।
कुल १५ लाखको अनुमानित खर्च हुने सो प्रतियोगितालाई बुल्स ११ ईटहरीले मुख्य प्रायोजना गरेको छभने पूर्व खेलाडी धरान १५ निवासी निरज राईले दोस्रो पुरस्कार सौजन्य गरेका छन्। प्रतियोगिता धरान ६ पानबारी स्थित बाजिपा खेल मैदान हुनेछ।
क्लवको कार्यालय उद्धघाटन
२०८० फागुन १२ गते राष्ट्रिय खेलकुद परिषद सुनसरी जिल्ला खेलकुद विकास समितीमा विधिवत रुपमा दर्ता भएको यस पानबारी फुटबल क्लवको कार्यालय पनि सोही अवसरमा उद्धघाटन गरिएको छ।


कोशी प्रदेश खेलकुद संघका अध्यक्ष किशोर राईले क्लवको कार्यालय उद्धघाटन गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष राईले पानबारीको खेल जगतमा सम्पूर्ण वडालाई गोलबद्ध गर्दै क्लवले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले नयाँ खेलाडी उत्पादनका लागि क्लवले तालिमहरुको आयोजना गर्नुपर्ने सुझाब समेत दिदै सबै खाले गतिविधिलाई क्लवले पारदर्शी गर्नुपर्ने बताए। सोहीक्रममा प्रमुख अतिथी राईले गोल्डकप प्रतियोगिताका लागी व्यक्तिगत १० हजार दिने प्रतिवद्धता व्यक्त गरेका थिए।
यसैगरी कार्यक्रममा धरान ६ नं वडासदस्य तथा धरान उपमहानगर कार्यपालिका सदस्य देविका विक, पाँचकान्या टोल विकासको अध्यक्ष आनन्द न्यौपाने,पानबारी सामुदायिक वनका उपाध्यक्ष्य युवराज आचार्य, निशान बचत तथा सहकारीका सञ्चालक शिव कटुवाल, सरस्वती मावि प्रधानाध्यापक गंगा प्रसाद धमला, नेकपा एमालेका वडाअध्यक्ष हरी बहादुर राई लगायतले शुभकामना व्यक्त गरेका थिए।
क्लवका उपाध्यक्ष सन्तोष खालिङ राईको स्वागत मन्तव्य रहेको सो कार्यक्रमलाई सहसचिव जुनी थापा मगरले संचालन गरेकि थिईन्।