बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा धनकुटाको राजारानी विजयी

दिव्य रोशनी(धरान)/ धरान भेट्रान फुटबल क्लवको आयोजनामा भएको चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा धनकुटाको राजारानी भेट्रान क्लव विजयी बनेको छ।
आज शुक्रवार धरान रंगशालामा भएको उद्धघाटन खेलमा राजारानीले टाईब्रेकरमा मोरङको ग्रामथान भेट्रान क्लवलाई ३–२ गोल अन्तरले हराउदै विजयी बनेको हो। खेलमा राजारानीका तर्फबाट दर्शनभक्त राजलवह, सूर्य बहादुर लिम्बु र निर लिम्बुले गोल गरेका थिएभने शेर बहादुर लिम्बु र विजय राई गोल गर्न असफल रहे। यसैगरी ग्रामथानका तर्फबाट निराजन बस्नेत र पिताम्बरध्वज भट्टराईले गोल गर्न सफल भएका थिएभने रुद्र बहादुर खड्का, अनन्तराम चौधरी र तेजमान लिम्बु गोल गर्न असफल रहे।
निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको दोश्रो हाफमा राजारानीले पेनाल्टीको अवसर पाएपनि निर लिम्बुको प्रहार बाहिरिएको थियो। खेलको म्यान अफ दि म्याच राजारानीका गोलकिपर शिवजी बस्नेत घोषित भए। उनले नगद २१ सय सहित टि सर्ट पाए।


प्रतियोगिता अघि क्लवका पूर्व महासचिव समेत रहेका स्व. बिक्रम राईको तस्विरमा उनका परिवार, प्रतियोगिताका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा, विशेष अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले माल्यार्पण गरेका थिए। भोली शनिवारको पहिलो खेल एभरेष्ट भेट्रान र हाम्रो ईटहरी भेट्रानका बिच हुनेछभने दोस्रो खेल काँकडभिट्टा भेट्रान र कटारी टाईगर भेट्रानका बिच हुने क्लवका सचिव सतिस केशीले बताए।
यही चैत्र ३० गते हुने फाईनल खेलको विजेताले रनिङ ट्रफि सहित नगद १ लाख ५ हजार पाउनेछन्भने उपविजेताले ट्रफि सहित नगद ६० हजार पाउनेछन्। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २१ सय प्राप्त गर्नेछन्भने बेष्ट प्लेयरले नगद १० हजार र व्यक्तिगत पुरस्कार ३५ सय प्राप्त गर्ने क्लवका अध्यक्ष रोमी मोक्तानले बताए।