सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिको लागि दिनेश र रमेश भिड्ने
दिव्य रोशनी(काठमाडौं)/ दिनेश प्रजापति र रमेश अधिकारी सुर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिको लागि भिड्ने भएका छन्।
रोयल नेपाल गल्फ क्लबमा भएको सेमिफाइनलमा १३औं वरियताका रमेश अधिकारीले १०औं वरियताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे। यसैगरी अर्को सेमीफाइनलमा सातौं वरियताका दिनेश प्रजापतिले आठौं वरियताका धन बहादुर थापालाई २/१ ले नै माथ दिएर फाइनलको यात्रा तय गरे। सुर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश अब मात्र एक जित टाढा रहेका छन्।
दिनेश र रमेशले उपाधिका लागि भोली ३६ होलको प्रतिस्पर्धा गर्नेछन् भने धन र भुवनले तेश्रो स्थानका लागि १८ होलको खेल खेल्नेछन्।
यसअघि आजै भएको क्वाटरफाइनलमा अप्रत्याशित नतिजा आएका छन्। जहाँ नेपाल नम्बर एक खेलाडी शुक्र बहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रबि खड्का पराजित भए।
शुक्रलाई वरियताको १०औं स्थानमा रहेका भुवन कुमार रोक्काले ३/१ ले माथ दिए। अर्कोे क्वाटरफाइनलमा धन बहादुर थापाले भुवनलाई ३/२ ले हराउदै अन्तिम चारमा स्थान बनाएका थिए। यसैगरी दिनेश प्रजापतिले तेस्रो वरियताका जयराम श्रेष्ठलाई ३/२ ले हराए। पुर्व नम्बर एक खेलाडी रबि खड्काको चुनौती १३औ वरियताका रमेश अधिकारीले समाप्त पारीदिए। रमेशले पाँचौ वरियताका रबिलाई ३÷२ को नतिजामा पाखा लगाए।
गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ।
विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउँनेछन् तेश्रो र चौंथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन्।

Pingback: ประกันภัยโดรน
Pingback: water sounds
Pingback: ufabtb