धरानमा चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिता हुने

दिव्य रोशनी(धरान)/ धरान भेट्रान फुटबल क्लवको आयोजनामा यही चैत्र २३ गतेदेखी चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ।
आज बुधवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लवले सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष रोमी मोक्तानले खेलकुदको शहरको रुपमा ख्याती कमाएको धरानमा स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताले सम्पूर्ण धरानवासीहरुलाई मनोरञ्जनाका साथै फुटबल जगतलाई उत्साह प्रदान गरेको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो समयमा ख्याती कमाएका चालिस वर्ष उमेर काटेका भेट्रान खेलाडीहरुको सहभागिताले स्वास्थ्य नागरिक उत्पादन गर्ने साथै समाजमा सकरात्मक योगदान पुर्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए।


यसैगरी क्लवका सल्लाहकार किशोर राईले चालिस वर्ष कटेका खेलाडीहरुले खेल जिवनबाट सन्यास लिएपनि आफुलाई खेल जिवनमा नै सक्रिय रहन भेट्रान प्रतियोगिताहरु सहायक सिद्ध भएको बताए। उनले भेट्रान प्रतियोगिताहरुले नव आउने खेलाडीहरुमा उत्साह भरेको समेत बताए। सोहीक्रममा राईले आगामी दिनहरुमा क्लवले प्रतियोगिता संगै सामाजिक कार्यहरु अगाडी बढाउन क्लवका पदाधिकारीहरुसंग आग्रह गरे। पत्रकार सम्मेलनमा पूर्व खेलाडी ईन्दु रसाईली, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे।
प्रतियोगिताका विजेताले रनिङ ट्रफि सहित नगद १ लाख ५ हजार पाउनेछन्भने उपविजेताले ट्रफि सहित नगद ६० हजार पाउनेछन्। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २१ सय प्राप्त गर्नेछन्भने बेष्ट प्लेयरले नगद १० हजार र व्यक्तिगत पुरस्कार ३५ सय प्राप्त गर्ने क्लवका सचिव सतिस केसीले बताए।
यही चैत्र २३ गते देखी चैत्र ३० गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु धरान रंगशालामा सम्पन्न हुने क्लवले जानकारी दिएको छ।