पानवारी शतवार्षिकी महोत्सव हुने

दिव्य रोशनी(धरान)/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ अन्र्तगत रहेको पानवारीमा ऐतिहाँसिक “पानवारी शतवार्षिकी महोत्सव २०८०” हुने भएको छ ।
पानवारी सय वर्ष पुगेको अवसरमा शतवार्षिकी महोत्सव हुने भएको हो । महोत्सव यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारी स्थित सरस्वती मार्गमा हुने भएको सयपत्री बोइज् युनियन क्लवका अध्यक्ष एसपजंग रुम्दालीले बताए। उनले सयपत्री बोइज् युनियन क्लब र ६ नम्बर वडा कार्यालय धरानको संयोजनमा उक्त महोत्सव हुने भएको बताए। उनका अनुसार पानवारीको इतिहाँसलाई थप चिनारी गराउनको लागि पनि महोत्सवले थप सहयोग मिल्ने छ। रुम्दालीले भने “पानवारी वसोवासको आधारले सय वर्ष पुगेको छ,इतिहाँसलाई हामी सम्झँदैछौ,जस्ले गर्दा अहिलेको पुस्तालाई जानकारी होस् र थप चिनारी पनि गराउन एतिहाँसिक महोत्सवको आयोजना गरेका हौं र महोत्सवलाई सफलता वनाउनको लागि सम्पुर्ण महानुभावहरुलाई निमन्त्रण समेत गर्दछौ।”
महोत्सवकै अवसर पारेर कोशी प्रदेश स्तरीय छैंठौ भलिवल प्रतियोगिता पनि हुने भएको छ । भलिवल प्रतियोगितालाई क्लवले निरन्तर गर्दै आएको छ ।उक्त प्रतियोगितामा विजयी हुने टिमलाई १ लाख रुपैयाँ र ३५ तोला चाँदीको रनिङ शिल्ड प्रमाण पत्र र उप विजेतालाई नगद ५० हजार र प्रमाण पत्र प्रदान गरिने क्लवका महासचिव केदार वस्नेतले वताए। महासचिव वस्नेतका अनुसार रस्सी तान,रोटेपिङ,नाउ र ड्रागन,स्थानीय उत्पादन र सहुलियत बजार, दैनिक साँझ राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती ,कविता तथा नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी र साँस्कृतिक र्याली साथै निःशुल्क स्वास्थ्य शिविर अनि थप अन्य आकर्षण कार्यक्रमहरु पनि महोत्सव अवधिभरी हुने जनाइएको छ ।
पानवारी वसोवासको आधारले सय वर्ष पुगेको छ । यो स्थान कृर्षि उर्वरभुमि पनि हो । यहाँ उत्पादन हुने पानमारा मन्सुली चामल अहिले पनि ब्राण्ड रहेको छ । साविकको पाँचकन्या गाविस अन्र्तगत वडा नम्बर १,२ र ३ लाई समायोजना गरेर धरान उपमहानगरपालिका अन्र्तगत वडा नम्बर ६ मा पानवारी पर्दछ । पूर्वमा मोरंङ जिल्लाको केरावारी गाउपालिका सम्म सिमाना जोडिएको छ । सुनसरी क्षेत्र नम्बर १ का सांसद तथा तत्कालिन पाँचकन्या गाविसका पूर्व अध्यक्ष रमेश कुमार वस्नेतले अग्रजहरुबाट जानकारी पाए अनुसार वि.सं १९७०/८० को दशकदेखि पानवारी आवादीको हिसावले वसोवास शुरु भएको बताए। उनले भने “ठ्याक्कै हामीसँग लिखत प्रमाण त छैन, तर अग्रजहरुको भनाईलाई मान्ने हो भने हालको धरान ४ मा पर्ने हर्दिया, तेलनपुरका मगरहरु, २४ क्षेत्र लगायत पुर्वी पहाडी जिल्लाबाट गएर वासोवास शुरु गरेको भन्ने इतिहाँस पाइन्छ।”
हाल आएर पानवारी शहरउन्मुख हुँदै गएको छ भने राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग पानवारी हुँदै जाने भएकाले पनि थप विकासको अपेक्षा पानवारीवासीले गरेका छन्।