सामुदायिक सुरक्षा जालोद्वारा एकदिने अनौपचारिक छलफल

दिव्य रोशनी (धरान)/ सामुदायिक सुरक्षा जालो तथा अन्तर पुस्ता महिलावादी मञ्च धरानद्वारा एकदिने अनौपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ। सोमबार धरानमा आयोजित विभिन्न संघ÷संस्थामा आबद्ध महिलाहरुको अनौपचारिक छलफलले “वादको विवाद हैन, धरानको विकासमा निर्विवाद गरौं” भन्ने निष्कर्ष समेत निकालिएको छ।
कार्यक्रममा गृह श्रमिक महिला ढाका लघु उद्यमी महिला समाजको अध्यक्ष प्रेमकुमारी राईले धरानभरीका आमा, महिला दिदीबहिनीहरुको समस्या समुदायमा नै समाधान गर्ने उद्धेश्यले यस सामुदायिक सुरक्षा जालोको शाखा स्थापना गरिएको बताईन्। अध्यक्ष राईले घरको काम सकेर बचेको समयमा बेरोजगार महिलाहरुले स्वदेशमै बसेर पनि आयआर्जनको उद्यमहरु गर्न सक्ने बताउँदै बेरोजगार र अशिक्षित महिला समाजमा धेरै नै भएको बताउँदै कुनैपनि सीप सिकेर पोख्त भएमा महिलाहरु आर्थिक रुपमा सक्षम हुने समेत बताईन् । यस संस्थाले समुदायमा अप्ठेरो र जोखिममा परेका महिला दिदीबहिनीहरुलाई उद्धार गरिेएको, तालिम प्रदान गरिएको, स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको समेत उनले बताईन् ।
महिला अधिकारकर्मी सरु श्रेष्ठ जोशीले धरान सम्भावना बोकेको शहर भएको बताउँदै धरानको अर्थतन्त्र र धरान बनाउन महिला दिदीबहिनीहरु समेतले चासो दिनुपर्ने बताईन् । सोहीक्रममा जोशीले धरान सरोकार समाजका अध्यक्ष स्व. प्रभु श्रेष्ठले धरानको विकासमा सँधै चासो दिएको बताउँदै अब महिला दिदीबहिनीहरु समेतले अन्तर पुस्ता हस्तान्तरण गर्दै धरानको विकासमा लाग्नुपर्ने सुझाव दिईन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरीकी संस्थापक अध्यक्ष सरला कायस्थले अहिले महिला दिदीबहिनीहरु समेत एकजुट भएर जागृत भएर लागि परेकोमा खुशी व्यक्त गरिन्। साथै उनले एउटी आमाले घरमा गरेको श्रमको मुल्य अमुल्य रहेको समेत बताईन्। सोहीक्रममा कायस्थले धरानको वीपी क्याम्प राजनैतिक अखडा भएकोमा दुःख व्यतm गर्दै अब वीपी क्याम्प जोगाउने विषयमा महिला दिदीबहिनीहरुले समेत चासो दिनुपर्ने बताईन्।


यस्तै महिला सञ्जाल धरानकी अध्यक्ष सपना राईले महिला सञ्जालले पनि पीडित महिला दिदीबहिनीहरुको समस्या हल गर्दै आएको बताईन्।
कार्यक्रममा अभियन्ता सरिन तामाङले आफु इजरायलमा हुँदापनि वैदेशिक रोजगारमा जाने युवायुवतीहरु अलपत्र परेको बेलामा आफुले टिकट काटेर स्वदेश पठाउन भुमिका खेलेको बताए। साथै उनले महिला दिदीबहिनीहरुले आफ्नो हक, हितका लागि पुरुष सरह अघि बढ्न सुझाव दिए।
यस्तै प्रदेश नं. १ की पुर्व सांसद सावित्री श्रेष्ठ जोशीले राजनैतिक रुपमापनि महिला दिदीबहिनीहरुको सहभागिता हुनुपर्छ भन्ने पाठ आफुले नेतृ साहना प्रधानबाट सिकेको बताउँदै अब महिला दिदीबहिनीहरुलले पनि जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताईन्।
सामुदायिक सुरक्षा जालोकी सचिव कला लिम्बुद्वारा सञ्चालित सो कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुले अन्तर पुस्ता महिला मञ्च र सामुदायिक सुरक्षा जालो महिलाहरुका निम्ति अति नै आवश्यक संस्था रहेको बताउँदै महिला दिदीबहिनीहरुसँग हातेमालो गरि अघि बढ्न सुझाव दिए ।