ल्हाखाङ गुम्बामा मङ्गलवारदेखी धार्मिक उत्सव शुरु बौद्ध धार्मिक गुरु रिन्पोछेको नृत्य लीला समेत प्रदर्शन हुने

धरान \ धरान१५ श्यामचोक स्थित डाग्युर ञीङमा ङयुड्ने ल्हाखाङ गुम्बामा मङ्गलवारदेखी १२ दिने धार्मिक उत्सव शुरु हुने भएको छ। जसमा धरानमा पहिलोपटक बौद्ध धार्मिक गुरु रिन्पोछेको नृत्य लीला समेत प्रदर्शन हुने भएको छ।
उक्त उत्सवमा दुर्लभ मानएिको बौद्ध धर्मालम्बीहरुको ऐतिहासिक छ्याम (नृत्य) बौद्ध गुरु रन्पिोछेबाट नृत्य लिला देखाईने आयोजक संस्थाका अध्यक्ष लोक बहादुर थिङले बताए।
संस्थाका अध्यक्ष थिङका अनुसार पहिलोपटक गुरु रिन्पोछेबाट गुरु छेन्गे छ्याम (नृत्य) प्रदर्शन हुन लागेको कुरा सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

गुम्बाका लामा गुरु डा. राजेन्द्र लामा स्याङवोले फागुन १ देखी १२ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक उत्सवमा ऐतिहासिक बाजा झ्याम्टाको तालमा विभिन्न थरीका देवताहरूको रूपमा सजिएर लामाको छ्याम (नृत्य) प्रदर्शन गरिने बताए। डा. लामाका अनुसार गुरु रिन्पोछे नृत्य लीला हरेक वर्ष फागुन ६ गते स्थापना दिवस मनाउँदै गुरु छेन्गे छ्याम मनाउँदै आएको बताए । सो उत्सवको अवसरमा गुम्बा छेउमा धार्मिक अनुष्ठान ध्यान भवनको समेत शिलान्यास गरिने भएको छ।
उत्सवकै अवसरमा मंगलबार व्यवस्थापन र्याली आयोजना गरिने भएको छ। सो र्याली श्याचोक गुम्बादेखि शुरु भई वरगाछी, भानुचोक, छाताचौक हुँदै पुनः गुम्बामा आई समापन अध्यक्ष थिङले बताए। त्यस्तै फागुन २ गते ज्याल्सा ञिमा साङपो रिन्पोछे गुरुको स्वागत कार्यक्रम रहेको छभने फागुन ३ गतेदेखि ५ गतेसम्म १० करोड बज्र गुरु जपको आयोजना गरिने गुम्बाका अध्यक्ष थिङले बताए।
अध्यक्ष थिङका अनुसार फागुन ६ र ७ गते गुरु छेन्गे छ्याम नृत्य तथा सांस्कृतिक नृत्य र फागुन ८ गते टाप्चे बुद्ध धर्म सामुहिक प्रवेश, दाताहरुको सम्मान कार्यक्रम एवं आठौं ज्याल्सा रिन्पोछेबाट विशेष आयुको वङ अभिषेक कार्यक्रम हुने भएको छभने फागुन ९ देखि १२ गते सम्म ङ्युङ्ने व्रत सुरु भई १२ गते समापन हुने भएको छ ।

उक्त उत्सवमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथी रहने आयोजकले जनाएको छ। कार्यक्रमबीच डा. लामाको बुद्ध धर्म दर्शन सम्बन्धी किताब समेत विमोचन गरिने भएको छ।