मृगौला रोग पिडित राईलाई कांग्रेसद्धारा आर्थिक सहयोग

दिव्य रोशनी /

दुवै मृगौला फेल भएका बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित सूर्यकुण्डका हेमकुमार राईलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस, बराहक्षेत्र नगरपालिका वडा नं. १ कार्यसमितिले राईको उपचारका लागि ३६ हजार ५ सय ३० रुपैया आर्थिक सहयोग उपलब्ध गराएको हो । पिडित राईलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले रकम हस्तान्तरण गरेका थिए ।सो अवसरमा सभापति तामाङले सहयोग संकलनमा अग्रसरता र पहलकदमी गरेको भन्दै वडा सभापति इश्वर थापा र सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै आफुले पनि उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउंदै थप सहयोगका लागि सबैले अग्रसरता देखाउन आग्रह गरेका छन् ।
चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने र सोको लागि ५ लाख खर्च हुने तथा प्रत्यारोपण पछि केयरिङमा समेत धेरै खर्च हुने बताएको पिडित राईले बताए । बोन ड्यामेज र प्याराथाइराइड रोग निको हुने अवस्थामा पुगेका वेला उनको दुवै मृगौला काम नगर्ने भएपछि पुनः बल्झिन शुरु गरेको र मृगौला प्रत्यारोपण समयमा भएमा पुनः निको हुने चिकित्सकले बताएको समेत राईले बताए ।
उपचारका लागि बराहक्षेत्र १ कै चतरास्थित सिंहदेवी थानमा बसोबास गर्दै आएका राई पूर्व शिक्षक हुन् भने नेपाली कांग्रेसका स्थानीय नेता तथा सामाजिक अगुवा समेत हुन् ।
सहयोग हस्तान्तरणका अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य जगतबहादुर कार्की, पूर्व वडा अध्यक्ष सुरेश श्रेष्ठ, वीपी कोइराला आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल गुरागाई, प्रदेश प्रतिनिधि सुशिला शेर्पा, नगर उपसभापति जीतबहादुर कार्की, तरुण दल नगर सचिव मनोज तामाङ, वडा सचिव राज तामाङ, समाजसेवी लक्ष्मी मालाकार लगायतको उपस्थित रहेको थियो ।