पुलिसलाई हराउदै मोरङ २४ औं बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ धरानमा जारी २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको तेस्रो दिनको क्वाटरफाईनल खेलमा विभागीय टिम नेपाल पुलिसलाई ३–० गोल अन्तरले हराउदै मोरङ फुटबल एशोसिएसन सेमिफाईनल प्रवेश गरेको छ।
धरान १६ स्थित रंगशालामा सोमवार सम्पन्न खेलमा मोरङले पुलिस माथि ३–० को जित दर्ता गर्दै २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा मोरङले खेलको ७० औं मिनेटमा पहिलो गोल गरेको थियो। खेलमा मोरङका सिमोन लिम्बुको फ्रि– किकलाई महेन्द्र कार्कीले हेड मार्फत गोल गरेका थिए। उनको प्रहार दोस्रो बारमा ठोक्किदै जाली चुमेको थियो। यसैगरी मोरङले दोस्रो गोल खेलको ८० औं मिनेटमा पेनाल्टी मार्फत गरेको थियो। पुलीसका मान बहादुर परियारले मोरङका मौसम लिम्बुलाई डिबक्स एरिया भित्र लडाएपछि रेफ्री मनिस अधिकारीले मोरङलाई पेनाल्टीको अवसर दिएका थिए। पेनाल्टीलाई सदुपयोग गर्दै उमेश उमेश कार्कीले गोल गरेका थिए। त्यसैगरी मोरङको लागी अन्तिम गोल शुसिल राईले गरेका थिए। उनले अतिरिक्त समयको ९२ औं मिनेटमा गोल गरेका थिए।


अधिकांश बल आफ्नो नियन्त्रणमा लिएपनि पुलिसले पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा गोल गर्न असफल रह्यो। खेलको ४७ औं मिनेटमा पुलिसका सुजन मगरको प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियोभने ५५ औं मिनेटमा प्रविन थापाको प्रहार पनि दोस्रोे बारमा लागेर फर्किएको थियो। खेलको अतिरिक्त समयमा पुलिसका हेमन्त श्रेष्ठ रातो कार्ड खादै मैदान बाहिरिएका थिए। बुढासुब्बा गोल्डकपमा सर्वाधिक ५ पटक उपाधी उचालेको पुलीस २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको पहिलो चरणबाटै बाहिरिन पुग्यो। खेलको म्यान अफ दि म्याच मोरङका उमेश कार्की घोषित भए। उनले नगद १० हजार सहित मेडल, टिसर्ट तथा ट्रफी प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोली मंगलवारको अन्तिम क्वाटर फाईनल खेल काँकडभिट्टा फुटबल टेनिङ सेन्टर र चर्च बोईज् युनाईटेड काठमाण्डौका बिच हुने प्रतियोगिताका जेनेरल को–अर्डिनेटर ईन्द्र थापा मगरले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १० लाखको साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धरान फुटबल क्लवका महासचिव नविन राईले बताए।