धरानको पब्लिक हाईस्कुलमा डेढ लाखको छात्रवृति

दिव्य रोशनी(धरान)/ पब्लिक हाईस्कुल धरान १२ ले शनिबार करिब डेढ लाख राशीको छात्रवृत्ति वितरण गरिएको छ।
कक्षा १२ पास गरेका उत्कृष्ट विद्यार्थीहरुका लागी उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने उद्धेश्यले सर्वाधिक राशीको छात्रवृत्ति वितरण गरिएको हो।
धरानका समाजसेवी धनञ्जय आचार्यले आफ्ना आमा र बुवाको स्मृतिमा राखेको ७२ हजारको देव कुमारी–शिव प्रसाद आचार्य जेहेन्दार छात्रवृत्ति रोशनी लिम्बुलाई प्रदान गरेको हो। कक्षा १२ व्यवस्थापन समूहमा अध्ययनरत रोशनी लिम्बुले २०७९ सालमा राष्ट्रिय परिक्षा बोर्ड सानोठिमीले लिएको कक्षा १२ को वार्षिक परिक्षामा ३.७ जिपिए ल्याई विद्यालय प्रथम भएकी थिईन्।
यसैगरी ३.४२ जिपिए ल्याई दोस्रो हुन सफल सन्दिप राईले नगद ६० हजारको छात्रृवृत्ति प्राप्त गरेभने कक्षा १२ मा उतिर्ण भई विद्यालयको छनौटमा परेका आफ्रिन जाफरले १३ हजार राशीको छात्रवृत्ति प्राप्त गरिन्। उनीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी हरि बहादुर कार्की, विद्यालयका प्राचार्य ईन्द्र मोहन झा लगायतले छात्रृवृत्ति प्रदान गरेका थिए।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका उपनिर्देशक जिवन गड्तौलाले हरेक व्यक्तिको आफ्नै क्षमता र योग्यता भएकाले अर्का व्यक्तिसँंग तुलना गर्न नहुने बताए। उनले आफ्नो पहिचान बनाउन आफै लाग्नुपर्ने बताउँदै सपनालाई साकार पार्दै सफलताको सिढीमा चढ्नुपर्ने बताए। उनले भने “विद्यालय भनेको आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने थलो हो, आफुमा भएको क्षमतालाई परिस्कृत र परिमार्जन गर्दै जानु पर्दछ।
यसैगरी विशेष अतिथी मिन सुब्बाले छात्रवृत्ति वितरण गरेर आचार्य परिवारले विद्यार्थीहरुमा उत्साह थपेको बताए। उनले छात्रवृत्ति रकम वार्षिक रुपमा निरन्तरता हुनेमा आफु विश्वस्त रहेको समेत बताए। त्यस्तै विद्यालयका प्राचार्य ईन्द्र मोहन झाले कक्षा १२ उतिर्ण भएपछि उच्च शिक्षाका लागी जाने विद्यार्थीहरुलाई यस रकमले केही मात्रामा भएपनि सहयोग पुग्ने बताए। उनले २ वर्षपछि छात्रवृत्ति प्राप्तीका लागी ११ कक्षाका विद्यार्थीहरु आजैदेखी लागी पर्नुपर्ने बताए।
कार्यक्रममा धरान उप–महानगर शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले पब्लिक हाईस्कुललाई सरकारले नमुना विद्यालय भनेर घोषणा गरेपछि विद्यार्थीहरुले पनि यस नमुना विद्यालयको गरिमालाई उच्च राख्न परीक्षामा उत्कृष्ट अंक ल्याउनुपर्ने बताए। उनले धरानमा रहेका सामुदायिक विद्यालय मध्ये पब्लिकमा विद्यार्थीहरुको संख्या बढी रहेको बताए।
त्यस्तै अर्का अतिथी ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले विद्यार्थीहरुलाई आगामी भविष्यको सफलताको कामना गरे। उनले विद्यार्थीहरु उज्ज्वल भविष्यका लागी भन्दै विदेश तिर प्रस्थान गरिरहेको अवस्थामा स्वदेशमा नै बसेर अरु आउने नयाँ पिंढीका लागी मार्ग निर्देशक बन्न आग्रह समेत गरे।


यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी हरि बहादुर कार्कीले हरेक मान्छेको जनबोलीमा पब्लिक हाई स्कुल भन्ने शब्द पुर्याउनमा सफल भएको बताए। उनले सकरात्मक भएपनि नकरात्मक भएपनि यस छात्रवृत्तिले पब्लिकको कमी कमजोरीलाई सच्चाउन समेत मद्धत पुग्ने बताए। साथै उनले विद्यालयमा उत्पादन भएका प्राविधिकहरुलाई सेवा केन्द्रको रुपमा स्थापित गरी उपमहानगरपालिका र अन्य निकायसँग जोडेर स्वदेशमै रोजगारी पाउनुपर्ने बताए। उनले भने “भर्खरै मात्र पब्लिकमा होटल मेनेजमेन्ट पनि जोडेरै रोजगारमुलक शिक्षा प्रदान गरेका छांै, विद्यार्थीहरुलाई खेलकुद, एनसिसि र सामाजिक रुपान्तरमा जोडेका छौं।
विद्यालयका एकेडेमीक ईन्चार्ज विरेन्द्र बहादुर साहको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा विद्यार्थी तथा शिक्षिकाहरुले आकर्षक नृत्य प्रस्तुत गरि कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिएभने शिक्षक ओमनाथ रिमालले आकर्षक कविता प्रस्तुत गरेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)