हराईजन बास्केटबल थ्रि बाई थ्रि प्रतियोगिताको उपाधि ब्रदर्श “बी” लाई

दिव्य रोशनी(धरान)/ आठौं हराईजन बास्केटबल थ्रि बाई थ्रि प्रतियोगिताको उपाधि ब्रदर्श “बी” ले जित्न सफल भएको छ।
धरान १७ स्थित हराइजन क्लबद्वारा आयोजित बिहिबार सम्पन्न खेलमा ब्रदर्श “बी” ले युवा जागृतिलाई १० का विरुद्ध २१ अंकको स्कोरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। बिजेता टिम ब्रदर्श “बी” ले नगद ४० हजार रुपैयाँको साथमा, ट्रफी र मेडल समेत प्राप्त गरे। भने उप बिजेता टिम युवा जागृतिले नगद २० हजार रुपैयाँको साथमा ट्रफी र मेडल प्राप्त गरे ।
धरान १७ स्थित श्री माविको प्राङगण स्थित हराइजनको आफ्नै कोर्टमा सञ्चालन भएको फाइनल खेलको उत्कृष्ट खेलाडी ब्रदर्श “बी” का खेलाडी प्रथम राई घोषित भए। उनले नगद ५ हजारका साथमा ट्रफी समेत प्राप्त गरे। कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राई, कार्यक्रमका बिशेष अतिथी धरान १८ का वडाध्यक्ष नरेन्द्र कुमार (प्रविण) राई, कार्यक्रमका अतिथीहरु अग्रज पत्रकार हर्ष सुब्बा, कार्यपालिका सदस्य विकास भाटी, धरान २० का वडाध्यक्ष पदम लिम्बु समेतले बिजेता तथा उप बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल वितरण गरेका थिए।
सम्पादक चाम्लिङ सम्मानितः


आठौं हराइजन बास्केटबल प्रतियोगिताको अवसरमा विगत लामो समयदेखि पत्रकारिता गर्दै आएकी दिव्य रोशनी पत्रिकाकी सम्पादक मनिता चाम्लिङलाई क्लबका अध्यक्ष श्रीभक्त राईले नगद ५ हजार सहित सम्मानपत्रले सम्मानित गरेका थिए।
खेलाडीहरुको मनोबल उच्च पार्न चाँडै नै फुल कोर्ट निर्माण गर्न आवश्यकः


कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईले खेलाडीहरुको मनोबल उच्च पार्न हाफ बास्केटबल कोर्टलाई चाँडै नै फुल कोर्ट निर्माण गर्न आवश्यक रहेको बताउँदै यस निर्माण कार्यमा सबै लागिपर्न सुझाव समेत दिएका छन्।
प्रमुख अतिथी राईले धरानमा विगत लामो समयदेखि खेलिदै आएको बास्केटबल खेल नेपालमा धरानबाट नै शुरु भएको इतिहास रहेको बताए। उनले धरानमा लामो इतिहास बोकेको बास्केटबल खेल अन्तर्गत हराइजन क्लबले विगतका दिनहरुमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै आएपनि विद्यालयको भौतिक संरचना निर्माणका कारण हाफकोर्टमा मात्र सिमित हुन पुगेकोमा दुःख लागेको बताउदै क्लबको बास्केटबल कोर्टलाई फुल कोर्टमा ल्याउन सबै तहतप्का लागिपर्न आवश्यक रहेको बताए।
कार्यक्रममा स्वागत मन्तव्यको क्रममा क्लबकी कोषाध्यक्ष शुभेच्छा राईले हराइजन क्लबले विगत लामो समयदेखि राष्ट्रिय रुपमा आयोजना गर्दै आएको हराइजन बास्केटबल प्रतियोगिता अहिले हाफ कोर्टमा मात्र सिमित हुन पुगेको बताउँदै चाँडै नै फुल कोर्ट निर्माण गर्न स्थानीय वडादेखि उपमहानगर समेतले सघाउ पुरयाउनु पर्ने आग्रह गरिन्।


क्लबको अध्यक्ष श्रीभक्त राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम क्लबका सचिव सूर्य बहादुर (फतिज) सुनुवार राईले सञ्चालन गरेका थिए।