विकृती नबनोस् तिज

हिन्दु महिलाहरुको महान् चाँड तिज। आज तिजको दर खाने दिन। प्रविधिको विकास संगै पश्चिमा संस्कृतिको प्रभावले हरेक चाँडपर्व र रिती रिवाजहरुलाई फ्युजन गरेजस्तै हिन्दु महिलाहरुको तिज पनि त्यसबाट अलग रहन सकेको छैन। वर्षमा १ दिन मनाईने तिज अहिले १ महिना अघिदेखी नै मनाउन थालिएको छ। “तिजको रहर आयो बरी लै…” भन्दै झुम्ने महिला दिदी बहिनीहरु अहिले हरेक दिन रात पार्टी प्यालेसको ककटेल पार्टीमा झुमिने गरेको छ। वास्तवमा, हाम्रो तिज पर्व यस्तो थिएन।
विगतमा घरका बुहारीलाई परिवारको सदस्यका रुपमा भन्दा पनि घरका काम गर्ने मान्छेको रुपमा हेरिन्थ्यो । उनीप्रति परिवारका कुनै सदस्यहरूले माया र आत्मीयता दर्शाउँदैन थिए । बुहारीलाई दुःख र पीडा दिइन्थ्यो । माइती लिन नआए घरबाट बुहारीलाई नपठाउने चलन थियो। तसर्थ आफूले वर्षभरी भोगेका ती दुःख र पीडाहरूलाई व्यक्त गर्ने माध्यम भनेको चेलीहरूका लागि तीज नै थियो । तर आज भोली तिज पर्व मौलिक संस्कृति, परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ। अहिले टिकटक र फेसबुक जस्ता सामाजिक संजालमा उत्ताउला गीतमा उच्छ्रिङ्खल नृत्यले भरिन थालेको छ। घर परिवारसंगै बसेर हेर्न नमिल्ने महिलाहरुको यस्ता नृत्यले फेसबुक रंगिएको छ। महंगा महंगा पहिरहन र गरगहनाको प्रदर्शन गर्ने थजलोको रुपमा तिज पर्व विकसित भईरहेको छ। विशेषगरी शहरीक्षेत्रमा तीजका नाममा एक महिना अघिदेखी हरेक दिन खाईने दर भड्किलो बन्दै गएको छ। तिज भनेको सभ्य, सरल र संस्कृतीको तिज बन्न सक्नु पर्दछ। गाउँघर बस्तीहरुमा बसेर घाँस दाउरा, डोको नाम्लो ,ढिकी जाँतो र मेलापात गर्ने नारीको जस्तै समनताको तिज बन्न सक्नु पर्दछ।
हाम्रा चाँडपर्व, उत्सवहरु सबैको आ–आफ्नो महत्व र विशेषता रहेको हुन्छ। जुनसुकै रुप या नाममा होस् यो परम्परा र संस्कृतिले नेपालको मौलिकतालाई झल्काउँछ र व्यक्ति, समाज र राष्ट्रको पहिचान दिलाउँछ। सबैमा भातृत्व, मातृत्व र एकता सिकाउने यो सनातन संस्कृति र भोलिका पिढीले यसलाई बिर्सने खालका गतिविधिहरु सबैले आ–आफ्नो ठाउँमा रहेर रोक्नुपर्दछ। तिजको जस्तो मौलिकता छ त्यस्तै अनुरुप नै सञ्चालन गर्नुपर्दछ । राष्ट्रको धर्म र संस्कृतिलाई विकृतिको रुपमा मनाउन प्रयास गर्ने, उत्ताउला नृत्यका भिडीयोहरु सामाजिक संजालमा राखी समाजमा विकृती र विसंगती फैलाउनेहरुलाई नेपाल सरकारको सम्बन्धित निकाय वा मन्त्रालयले पनि नियमन गर्नुपर्ने देखिन्छ। सभ्य समाज निर्माण र सु–सभ्य नागरिक बनाउनको लागि राष्ट्रको ऐतिहासिक पृष्ठभूमि, मौलिकता, परम्परा र संस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्नको लागि सबै नेपाली महिला दिदीबहिनीहरु एकजुट हुनैपर्दछ। तिज पर्वलाई भड्किलो र विकृतिको रुपमा होइन संस्कृति परम्परा र सम्मानको रुपमा मनाउँ। सबै नेपाली महिला दिदी बहिनीहरुमा तिजको शुभकामना। (दिव्य रोशनी साप्ताहिकबाट)