लक डाउन र दिव्य रोशनी अनलाईन

यतिबेला विश्व नै कोरोना भाइरसको कारण लक डाउनमा छ । यसबाट नेपाल पनि अछुतो भने रहन सकेन। २०७६ चैत्र मसान्तसम्म ९ जना नेपाली र भारतबाट आएका ३ जना भारतिय गरी १२ जनालाई कोरोना संक्रमित भएको पुष्टि भईसकेको छ।
सरकारले कोराना भाइरसबाट थप संक्रमित नहुन् भनेर गत चैत्र १२ गतेबाट नै लक डाउन घोषणा गरिसकेको छ। सरकारले समय सिमा बढाउँदै पछिल्लो पटक २०७७ बैशाख ३ गतेसम्म लकडाउनको समय सिमा तोकेको छ। यस्तो बेला सबैजनाले आफुलाई घरभित्रै लकडाउन गरेका छन्। तरपनि पेशाले म एक संचारकर्मी भएकोले यस्तो महामारीको बेलामा पनि आफुलाई घरभित्रै कैद राख्न सकिन। मलाई प्रेसको ज्याकेट लगाएर, क्यामरा भिरेर कोरोनासंँग पांैठेजोरी खेल्दै हिँड्ने रहर त छैन तर देश र जनतालाई अप्ठेरोमा परेको बेला अक्षरहरुद्वारा सुसूचित गराउनु मेरो कर्तव्य हो भनि सम्झिएर मैदानमा ओर्लिएको छु।
मेरो सम्पादनमा प्रकाशित हँुदै आएको दिव्य रोशनी पत्रिका साप्ताहिक भएकोले चैत्र ९ गते आइतबार नै प्रकाशित भईसकेको थियो। तसर्थ म अर्को अंकको तयारी गर्दै थिए। अन्य देशमा धमाधम लकडाउन हुन थालेपछि नेपालमा पनि लकडाउन हुने हल्ला नसुनेको होईन्। तर लकडाउनले पत्रिका निकाल्न कुनै बाधा पर्दैन भन्ने मेरो सोंचलाई पछिल्लो परिस्थितीले गलत सावित गरिदियो।
पत्रिका कम्प्युटरबाट ट्रेसिङ आउट गरेर मात्र भएन। छपाईका लागि त प्रेस लानु नै पथ्र्यो । तर त्यही प्रेसमा काम गर्ने “प्रेसम्यान” (कर्मचारी) नै लकडाउनमा परेपछि पत्रिका प्रकाशित हुने सम्भव पनि भएन। लकडाउन पश्चात नेपालभरका सम्पूर्ण पत्रपत्रिकाहरु बन्द भए। दिव्य रोशनी साप्ताहिक पनि प्रकाशित हुन सकेन।
तर देश र जनताका लागि अक्षरहरुद्वारा सुचना सम्प्रेषण नगरि बस्न मनले कहाँ मान्दो रहेछ र ? हुन त हाम्रो पत्रिकाको फेसबुक पेज पनि शुरुवाती दिनमा नै आवश्यकता हेरि बनाइसकेका थियौं । अनि हरेक आईतबार प्रकाशित हुने पत्रिका फेसबुक पेजबाट पनि शेयर गथ्यौं । तर पत्रिका नै प्रकाशित नहुने भएपछि अब त्यो सम्भव भएन । तसर्थ विश्व नै कोरोना भाइरसको महामारीमा परेको कारण जनतालाई सुसूचित गराउनु हाम्रो कर्तव्य भएकोले पनि हामीले अनलाइन शुरू गर्ने निर्णय गर्यौ। जनतालाई घरमै बसी–बसी बाहिरभएका घटनाहरुको अपडेट गराईरह्यौ र गराउँदैछौ पनि।
त्यसो त समय परिवर्तनसँगै जनताको सुसूचित हुने अधिकारलाई मध्यनजर गर्दै हामीले धरानका कुलुङ इनोभेसन प्राली.का सञ्चालक तथा फोटो पत्रकार नरेन कुलुङ भाइसँग विगत ४ महिना अघि नै सहकार्य गरी दिव्य रोशनी साप्ताहिकको पनि अनलाइन संस्करण खोल्ने निर्णय गरिसकेका थियौं । किनभने बैशाख अन्तिमतिर दिव्य रोशनी साप्ताहिकले स्थापनाको १५ औं वशन्त पार गरि १६ औं वशन्तमा प्रवेश पनि गर्ने भएको हुनाले वार्षिक उत्सवकै अवसरमा पाठकहरुलाई नयाँ खुराक अनलाईन संस्करण मार्फत सोही बेला पस्कने हाम्रो उद्धेश्य पनि थियो।
तर सोचेजस्तो हुन नसकेपनि १ महिना अघि नै हाम्रो दिव्य रोशनी अनलाईन शुरु भएको छ। “जे हुन्छ राम्रैको लागी हुन्छ” भन्ने उखान छ। साप्ताहिक रुपमा प्रकाशित हुने पत्रिका कोरोनाले गर्दा अब पलपलको समाचार पाठकको मोवाईल र कम्प्युटरमा पुग्दै गर्दा हाम्रो अनलाईन संस्करणले यतिबेला सार्थकता पाएको महशुस भएकोे छ।
मेरो अनुरोध
यो कोरोना महामारीले कसैलाई पनि छोड्दैन। यो धनी यो गरिब कसैलाई चिन्दैन । विश्वका धनाढ्य व्यक्ति मात्र नभई शाही परिवार समेत कोरोनाबाट संक्रमित भईसकेको अवस्था छ। अहिलेसम्म लाखौ व्यक्तिले अकाल मै मृत्युवरण गर्नुपरेको छभने लाखौ व्यक्ति संक्रमित भएर उपचारारत अवस्थामा रहेका छन्। त्यसैले यो समय कसैलेपनि घर बाहिर नहिड्न् मेरो अनुरोध छ। जनताहरुलाई म यो आग्रह पनि गर्दछु की तपाईहरु पनि लक डाउन अवधिभर आफ्ना परिवारका साथ घरमै बस्नु होस्। आफ्ना छोराछोरीहरुको पढाइलाई ध्यान दिनुहोस् । समय तालिका बनाएर आफ्ना छोराछोरीलाई खाना पकाउने तरिका सिकाउनु होस्। करेसाबारी छभने तपाईहरु ती करेसाबारीलाई गोडमेल गरि नयाँ तरकारीहरु उमार्न सक्नु हुन्छ। घरमा बुढापाका आमा बुवा संँग समय व्यतित गर्नसक्नु हुन्छ । साथै वृद्ध आमाबुवा अनि आफ्ना छोराछोरीलाई कोरोना (कोभिड–१९) बारे जानकारी दिनु होस्। अहिले हरेक सामान खरिद गर्न बाहिर जान आवश्यक छैन। विभिन्न अनलाईन सपिङले तपाईलाई चाहिएको वस्तु घरैमा ल्याईदिने गरेका छन्। अति आवश्यक कामपरेमा प्रहरीलाई खबर गर्नुहोस् । जति तपाईले आफुलाई लक गरेर घरैमा राख्नुहुन्छ त्यती नै लकडाउन सिमा चाँडै सकिनेमा दुईमत छैन। तर जति तपाई आफुलाई लकडाउन गर्नुसक्नु हुन्न त्यती लकडाउनको सिमा बढ्नेमा कुनै शंका छैन। यो लक डाउन अरू बेला विभिन्न राजनैतिक पार्टीले आव्हान गरेको बन्द जस्तो हैन ताकि उनीहरुलाई छलेर भित्र भित्रै चोर बाटो हिडे जस्तो पनि होइन।
तसर्थ, लक डाउनको पालना गरेमा तपाइ, हामी सबै बाँच्नेछौं । साथै यो समाज अनि राष्ट्र बाँच्नेछ । तपाई , हामी बाँचे पो भोली मर्निङ वाक र इभिनिङ वाक हिड्न पाईएला तर लक डाउनको उल्लंघन गरेमा त्यो पनि भन्न सकिन्न। अन्त्यमा, सम्पूर्ण नेपालीहरुमा नव वर्ष २०७७ को हार्दिक शुभकामना।

553 thoughts on “लक डाउन र दिव्य रोशनी अनलाईन

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *