लिग च्याम्पियन चर्च बोईजलाई हराउँदै काँकडभिट्टा २४ औं बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ धरानमा जारी २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको चौथो तथा अन्तिम दिनको क्वाटरफाईनल खेलमा लिग च्याम्पियन चर्च बोईज काठमाण्डौलाई १–० गोल अन्तरले हराउँदै काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाईनल प्रवेश गरेको छ।
धरान १६ स्थित रंगशालामा मंगलवार सम्पन्न खेलमा काँकडभिट्टाले चर्च बोईज माथि १–० को जित निकाल्दै २४ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा काँकडभिट्टाले खेलको ४४ औं मिनेटमा एकमात्र गोल गरेको थियो। खेलमा काँकडभिट्टाका आशिष चापागाईले गोल गरेका थिए।
खेलमा लिग च्याम्पियन चर्च बोईजले दोस्रो हाफको ४९ औं मिनेटमा गोल गर्ने सुन्दर अवसर पाएको थियो। चर्च बोईजका राजेश परियारले हेड मार्फत गरेको प्रहार काँकडभिट्टाका गोल किपर क्रिशल मोक्तान बिट भईसकेको अवस्थामा देवेन्द्र तामाङले मुस्किलले बललाई क्लियर गरेका थिए। यसैगरी दोस्रो हाफको ईन्जुरी समयमा पनि चर्च बोईजले पाएको कर्नर प्रहारलाई चर्च बोईजकै गोल किपर दिप कार्कीले गरेको सुन्दर हेड बार नजिकै बाट बाहिरिएपछि चर्च बोईजले हार व्योहर्नु पुग्यो। लिग च्याम्यिन तथा एकदिन अघि(सोमवार) मात्रै झापा गोल्डकपको उपाधी उचालेर धरान आएको चर्च बोईजले दर्शकको अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन। खेलको म्यान अफ दि म्याच काँकडभिट्टाका विशाल घलान घोषित भए। उनले नगद १० हजार सहित मेडल, टिसर्ट तथा ट्रफी प्राप्त गरे।


प्रतियोगिता अन्तर्गत भोली बुधवारको पहिलो सेमिफाईनल खेल आयोजक धरान फुटबल क्लब र मोरङ फुटबल एशोसिएसनका बिच हुने प्रतियोगिताका जेनेरल को–अर्डिनेटर ईन्द्र थापा मगरले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १० लाखको साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धरान फुटबल क्लवका महासचिव नविन राईले बताए।