विशिष्टिकृत अनुसन्धान केन्द्रको लागि धरान उपयुक्त ठाउँ ः शिक्षामन्त्री राई

विज्ञान प्रविधि तथा शिक्षा मन्त्री अशोककुमार राईले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा धरानमा स्थापना गर्न लागेको विशिष्टिकृत अनुसन्धान केन्द्रको लागि अत्यन्तै उपयुक्त ठाउँ रोजिएको बताएका छन्।
सो कुरा उनले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आइतबार धरानमा आयोजित “कृषि तथा खाद्य प्रविधि योजना उनमुख कार्यशाला” को उद्घाटन समारोहमा प्रमुख अतिथीको मन्तव्यको क्रममा बताएका हुन्। साथै उनले प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको विषयमा नाष्ट केन्द्रित हुनुपर्ने समेत बताए।
मन्तव्यकै क्रममा मन्त्री राईले खाद्य प्रविधिमा पढाई गर्ने विद्यार्थीहरूले आफ्नो योग्यता र अनुभव विदेशमा गएर प्रयोग गरिरहेकोतर्फ इंगित गर्दै भने–“त्यो ज्ञान स्वदेशमै उपयोग गर्नका लागि उपयुक्त वातावरण बनाउन नाष्टले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ।”


प्रसङगवश मन्त्री राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने योजनाको सर्वेक्षण कार्य सकिएको बताएका छन् । मन्त्री राईले सर्भे रिपोर्ट खानेपानी मन्त्रालयमा पुगेको बताउँदै उक्त योजनाको लागि ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए। मन्त्री राईका अनुसार यो योजना आर्थिक वर्ष २०८१ र ०८२ को बजेटमा विनियोजन हुनेछ। मन्त्री राईले विशेषज्ञहरूले खानेपानीको योजना पुरा हुन ३ वर्षसम्म लाग्ने आफुलाई जानकारी दिएको बताउँदै उक्त योजनामा लाग्ने लगानी १० करीब वर्ष भित्रमा उठिसक्ने आफुलाई जानकारी प्राप्त समेत बताए।
यस्तै कार्यक्रमका विशेष अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठुलो योजना ल्याउनु पर्ने ध्यानाकर्षण गराउँदै धराने जनताको खानेपाली समस्या समाधान गर्न कोशीबाट ल्याउन केन्द्र सरकारले योजना दिनुपर्ने बताए।
मेयर साम्पाङले धरानको अर्को मुख्य समस्या यहाँको फोहोर मैलाको व्यवस्थापन भएको बताउँदै त्यसको लागि केन्द्र सरकारको योजना चाहिएको सुझाए । मेयर साम्पाङले मन्त्री राई समक्ष धरान उपमहानगरपालिकाले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्न लागेको बताउँदैै त्यसमा सरकारी सहयोग चाहिएको अवगत गराए। यस्तै संघीय सरकारले धरानको विकास चाहने हो भने एयरपोर्टको योजना दिए हुन्थ्यो भन्दै मेयर साम्पाङले ध्यानाकर्षण गराए।

मेयर साम्पाङले जनताको माग र आवश्यकता अनुसार कार्यपालिका बैठकद्वारा आफुहरुले धरान अब कृषि प्रधान नरहेको बताउँदै भने–“धरान कृषिमूलक शहर नरहेर आवासीय शहर भएकोले सोही अनुसारको योजनाहरू आवश्यक छ।” साथै उनले सरकारबाट शहरको वर्गीकरणका लागि सुझाव माग भएको बताउँदै विज्ञहरूको राय अनुसार धरान उपमहानगरपालिकाबाट धरान आवासीय शहर भएको लिखित सिफारिस समेत पठाइएको जानकारी दिए।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका उपकुलपति तथा कार्यक्रमका सभापति प्रा.डा. दिलिप सुब्बाले विज्ञान तथा प्रविधि (नाष्टका) को तर्फबाट राष्ट्रलाई टेवा पुगेको बताउँदै हाल ५ वटा प्रदेशमा विशिष्टिकृत अनुसन्धान केन्द्र खोलिएको जानकारी दिए। उनका अनुसार कोशी प्रदेशलाई खाद्य प्रविधिको लागि, मधेश प्रदेशलाई चुरे संरक्षण, गण्डकी प्रदेशलाई हरित अर्थतन्त्र, कर्णाली प्रदेशलाई सूचना प्रविधी, सुदुरपश्चिमलाई जडीबुटीको लागि विशिष्टिकृत अनुसन्धान केन्द्रको रुपमा खोलिएको बताए।


कार्यक्रममा नाष्टका योजना महाशाखा प्रमुख भोजराज अधिकारीको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा नाष्टका सञ्चालक समिति अध्यक्ष प्रा.डा. धनबहादुर कार्कीको समेत मन्तव्य रहेको थियो। कार्यक्रममा नाष्टका प्राज्ञ प्रा.डा. गोपाल बहादुर केसी., हात्तिसार क्याम्पसका प्राध्यापक बशन्त कुमार राईले नेपालको कृषि क्षेत्र रणनीतिको अवधारणा र पोषण शिक्षाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा नाष्टका वरिष्ठ वैज्ञानिक डा. डिगेन्द्र खड्काले नाष्टको बारेमा प्रकाश पारेका थिए।