पुनः जुर्मुराउँदै अनाम,७ दिने नाट्य कार्यशाला सम्पन्न

धरान\धरानको पुराना नाट्यकर्मीहरुको संस्था अनाम रङगमञ्चले ७ दिने अनाम नाट्य कार्यशाला सम्पन्न गरेको छ।
माघ २३ गतेदेखि २९ गतेसम्म आयोजित सो नाटय कार्यशाला पुस्ता हस्तान्तणको लागि आयोजना गरिएको कुरा अध्यक्ष शारदा शाक्यले बताईन्। समापन कार्यक्रमको अवसरमा सोमबार नाट्य कार्यशालाद्वारा नयाँ तथा पुराना कलाकारले “समय” शिर्षकको नाटक समेत मञ्चन गरेका थिए।

उक्त नाटकद्वारा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकको बारेमा, डाक्टरहरुको लापरवाहीको कुरा, डाक्टरको अनुमति बिना औषधी व्यवसायीहरुले जथाभावी औषधी बिक्री वितरण गर्दै आएको कुरा समेत प्रस्तुत गरिएको थियो।


धरानको हरियाली सामुदायिक वनमा पिकनिक सहितको कार्यक्रम गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी निवर्तमान सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जयकुमार राईले धरानमा कलाकार उत्पादन गर्ने र देशलाई प्रतिनिधित्व गर्ने ०४४ सालको पुरानो नाट्य संस्था भनेको अनाम रहेको बताए । सांसद राईले सुस्ताएको अनाम फेरि जागेकोमा खुशी समेत व्यक्त गरे। सोहीबmममा उनले देशमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कलाकार, पत्रकारहरुले अहम् भुमिका खेलेतापनि राज्यबाट कुनै सम्मान हुन नसकेकोमा दुःख समेत व्यक्त गरे।


सांसद राईले देशमा भ्रष्टाचार मौलाईरहेको बताउँदै अब नाट्यकर्मीहरुले भ्रष्टाचार विरुद्ध जनचेतना जगाउने र सरकारको चेतनाको बिर्को खोल्ने किसिमको नाटक समेत मञ्चन गर्न सुझाव दिए।
उक्त कार्यक्रम पत्रकार किशोर कुमार कार्कीले नाटकले देशलाई मार्गनिर्देशन समेत गर्ने बताए। साथै उनले सन्देशमुलक कविता समेत प्रस्तु गरेका थिए।


अनामका पुराना कलाकार कुलचन्द्र न्यौपानेले स्वागत तथा कार्यक्रममाथी प्रकाश पार्नेक्रममा ०४४ सालमा स्थापना भएको अनाम धरानले केही जुर्मुराउँदै केही शिथिल हुँदै बाधा अवरोध सहँदै यो ठाउँमा आई पुगेको बताए। साथै उनले सातदिने कार्यशाला गर्ने नयाँ संस्था मार्फत् पुनः अनामको अर्को रुप बिजारोपण भएको बताउँदै यो कार्यशालामा धेरै नयाँ र पुराना कलाकारहरु जोडिएको समेत बताए।
कार्यक्रमबीच कार्यशालामा सहभागी कलाकारहरुलाई प्रमुख अतिथी संघीय सांसद राईले प्रमाणपत्र प्रदान गरेका थिए।