धरानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता हुने

दिव्य रोशनी(धरान)/ युद्धमा शहिद भएका वीर गोर्खालीहरुको सम्मान र सम्झनामा देस्रो पटक धरानमा ८.५ किलोमिटर दुरीको गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता हुने भएको छ।
मंगलवार धरानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक गोर्खा सिमेट्रीज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले पुर्खा दिवस अप्रिल ५ को अवसरमा चैत ३ गते ट्रेल ब्लेजर खुल्ला दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। उनले दौडमा यसपालि ५ सय धावक सहभागी हुने समेत जनाए। दौड प्रतियोगिता धरान १८ रत्नचोकबाट सुरु भई मंगलबारे चोक, विषणुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुका स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा पुगी समापन हुनेछ ।
प्रतियोगितामा महिला र पुरुष दुवै विजेता प्रथम, द्वितीय, तृतीयलाई नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार, ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिने छ।यसैगरी सहभागी सम्पूर्णलाई टि सर्ट, मेडल, प्रमाणपत्र र खाजाको व्यावस्था गरिने जनाईएको छ।


सोही अवसरमा गतवर्ष झै यसवर्ष पनि दोस्रो विश्वयुद्ध लडेका जीवित वीर गोर्खा योद्धाहरूलाई सम्मान अभिनन्दन गर्ने कार्यक्रम छ। सम्मानित हुनेहरूमा झापाका १०३ वर्षीय आर्मी नम्बर २११३७८२५ फस्ट जीआर डम्बर ध्वज लिम्बू, भोजपुरका १०१ वर्षीय आर्मी नं १०७०९८१४ टेन जीआरका इन्द्र बहादुर राई, तेह्रथुमका बमबहादुर निलेखुङ र खोटाङ जन्ते ढुंगाका ९९ वर्षीय डम्बरसिंह सुप्तिहाङ राई रहेका छन्।