महिलाहरुलाई निर्माण तथा डिजाईन सम्बन्धी १५ दिने तालिम सम्पन्न

दिव्य रोशनी(धरान)/ सुनसरीका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजना गरिएको निर्माण तथा डिजाईन सम्बन्धी १५ दिने तालिम बुधबार सम्पन्न भएको छ।
सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालिमको समापन कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत प्रमुख अतिथी रहेका थिए। उनले महिला उद्यमीहरुद्धारा उत्पादित सामानको बजारीकरण गर्न राज्यका विभिन्न निकाय तथा उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने बताए। सांसद बस्नेतले यस्ता कार्यक्रमले महिलाहरु उद्यमी बन्न सघाउ पुग्ने बताए। यसैगरी कार्यक्रममा महिला सञ्जाल धरानकी पुर्व अध्यक्ष तथा सामना नेपालकी अध्यक्ष चेतना श्रेङ, डिप्लोमा हेण्डिक्राफ्टका अध्यक्ष डम्बर कुमारी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथी सांसद बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए।
नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा प्रवद्र्धन निकासी केन्द्र पुल्चोक ललिपुरको आयोजना तथा नेपाल उद्यमशील महिला महासंघ केन्द्रीय कार्यालय काठमाडौंको सहआयोजनमा महिलाहरुका निम्ति निर्माण तथा डिजाइन सम्बन्धी १५ दिने तालिमको आयोजना गरिएको होे। तालिममा मुख्य प्रशिक्षक गोमा लामाले भेडाको उनबाट बनाईने हस्तकला सामाग्री निर्माणमा सहजीकरण गरेकी थिईन्।


सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा माघ ३ देखि १७ गतेसम्म सञ्चालन तालिममा ४५ जना सहभागी रहेको तालिमका संयोजक तथा संस्थाका महासचिव मञ्जु पराजुलीले बताईन्। सो कार्यक्रम उद्यमशील महिला महासंघका केन्द्रीय अध्यक्ष राधा कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।