ईन्टरनेशनल ट्रेल रेस नेपाल २१ कि.मी.को तयारी पुरा(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ नेपाल रन युके र धरान रन समुहको संयुक्त आयोजनामा यही अशोज २७ गते शनिवार धरानमा हुन लागेको ईन्टरनेशनल ट्रेल रेस नेपाल २१ कि.मी.को तयारी पुरा भएको छ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान रन समुहका अध्यक्ष रोमु राईले धरानमा हुन लागेको ईन्टरनेशनल ट्रेल रेस नेपाल २१ कि.मी.को तयारी पुरा भएको बताए। उनले विश्वमा धरानलाई खेलकुदको सहरको रुपमा चिनाउन साथै धरानको आन्तरिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउन समेत प्रतियोगिताको आयोजना गरिएको बताए।


विशेषतः सहरी सडकबाट टाढा रहेर प्रकृतिसँग रम्दै रमणीय डाँडाखापा, खोलाखोल्सी, भञ्ज्याङ अनी गोरेटोहरुमा दौडिनेलाई ट्रेल रेस भनिन्छ। प्रकृतिको सुन्दर ठाउँहरुलाई विश्वसामु उजागर गर्न ट्रेल रेसको ठुलो हात हुन्छ। तसर्थ यो रेस धरान १३ र २० को सिमाना रहेको ओशो पार्कबाट शुरु हुने आयोजक संस्थाका अध्यक्ष राईले बताए। उनका अनुसार ओशो पार्कबाट शुरु भएको ट्रेल रेस चिण्डे डाँडा जाने बाटो हुँदै नेपाल विद्युत प्राधिकरण टावर, विष्णुपादुका मन्दिर जाने ओरालो, भञ्ज्याङ चौक, ब्रिटिश गोर्खा मेमोरियल पार्कमा पुगी फर्केर पुनः भञ्ज्याङ चौक हुँदै चिण्डे डाँडा एक फन्को गरी ओशो पार्कमा पुगेर दौड समापन हुनेछ। यो ट्रेल रेसको दुरी २१ किलोमिटर रहेको पनि अध्यक्ष राईले बताए ।
ट्रेल रेसमा भारत, हङकङ र युकेबाट पनि सहभागी हुने भएको छ। यसपटक हुन लागेको ट्रेलरेसमा विशेषगरी व्यवसायिक धावक/धाविका नेपाल लगायत अन्तर्राष्ट्रिय धावक÷धाविकाहरुको खुल्ला तथा भेट्रान समूह गरी १ सय ५० जना मात्र सहभागी हुने आयोजकले जनाएको छ। यसका साथै प्रतियोगिताको पहिलो संस्करणमा धावक/धाविकाहरुको उमेर १७ वर्षदेखी माथि हुनुपर्ने र भेट्रान समूहको ४० वर्षदेखी माथि हुनुपर्ने छ।
प्रतियोगिताका बिजेता महिला तथा पुरुष प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ। साथै भेट्रान समूहको पुरुष÷महिलाको पहिलो हुने बिजेतालाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।