शुक्रवार देखी प्रदर्शन हुँदै परदेशी २ ः चलचित्र टिम धरानमा

दिव्य रोशनी(धरान)/ यही शुक्रवारदेखी नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।
चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता राजेश वंशलले यही अशोज २६ गते शुक्रवारदेखी चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने बताए। उनले यस चलचित्र छिमेकी चलचित्र वा कथाबाट प्रभावित नभई मौलिक नेपाली कथामा निर्माण भएको बताए। उनले भने “यो बाहिरबाट आयातित कथा होइन, हाम्रो आफ्नै मौलिक नेपाली कथा हो।” उमेर पुग्ने बित्तिकै वैदेशिक मोह हरेक युवामा हुनेगरेको बताउदै निर्माता वंशलले कोही पढ्न, कोही रोजगारीका लागी विदेशिए कथा चलचित्रमा भएको बताए।


यसैगरी चलचित्रका नायक तथा गायक प्रकाश सपूतले आफ्नो पहिलो डेब्यु चलचित्र भएकाले सबैले हेरेर माया गरिदिन आग्रह गरे। उनले यस चलचित्रमा नयाँपुस्ताले वैदेशिक यात्रा गर्दा के कस्ता संघर्ष गर्नुपरेको छ भन्ने चरित्र आफुले निर्वाह गरेको बताए। यसैगरी चलचित्रकी नायिका वर्षा शिवाकोटीले चलचित्रमा आफ्नो फरक भूमिका रहेको बताइन्। उनीले फरक चलचित्रमा फरक भूमिका गर्ने अपेक्षाअनुसार यस चलचित्रमा पनि फरक भूमिकामा रहेको बताइन्।
यसअघि “गोर्खा पल्टन” र “परदेशी” जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक नारायण रायमाझीको “परदेशी २” तेस्रो चलचित्र हो। वैदेशिक रोजगारीमा जानुपर्ने आम नेपालीको साझा कथा–व्यथा र त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ”परदेशी–२” मा प्रकाश सपूत र वर्षा शिवाकोटीसँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र रोशनी कार्की लगायतको अभिनय रहेको छ।
चलचित्रको कथा–पटकथा रमेश बिजीले लेखेका हुन्भने मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको छ। यस चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।