धरानमा अनिश्चितकालका लागी सम्पूर्ण माछामासु पसल बन्द रहने

दिव्य रोशनी(धरान)/ धरानका मासु व्यावसायीहरुले भोली मंगलवारदेखी अनिश्चितकालका लागी सम्पूर्ण माछा मासु पसलहरु बन्द गर्ने भएका छन्।
आज धरान उप–महानगरपालिका र मासु व्यावसायीहरु बिच बसेको बैठकमा बंगुरको मासुमा चित्तबुझ्दो मुल्य समायोजन नभएको भन्दै धरानका मासु व्यावसायीहरुले विरोध स्वरुप धरानका सम्पूर्ण माछा मासु पसल बन्द गर्ने भएका हुन्। आज सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै धरान मासु व्यावसायी संघका अध्यक्ष मदन कुमार तामाङले मासु व्यावसायीहरुले बंगुरको मासुको मुल्य समायोजन गरी बिक्री वितरण गरिरहेको अवस्थामा धरान नगर सरकारले एकलौटी निर्णय गरी मुल्य घटाएकाले त्यसको विरोधमा मंगलवारदेखी धरानमा सम्पूर्ण माछा मासु पसलहरु बन्द गरिने बताए। उनले छिमेकी पालिकाहरुमा बंगुरको मासुु प्रतिकेजी ५ सय रुपैया रहेपनि धरान नगर सरकारले ४ सय ६० मात्र मुल्य तोकेकाले घाटा व्योहर्नु परेको समेत जनाए।

धरानमा यसअघि बंगुरको मासु ४ सय रुपैया प्रतिकिलो रहेपनि व्यावसायीहरुले विहिवारदेखी ५ सय रुपैया प्रतिकेजी बनाएको थियो। तर उपमहानगरको बजार अनुमगन समितिले मासु व्यवसायीहरुसँग हिजो आइतबार र आज सोमबार गरेको छलफलमा उपमेयर अइन्द्र बिक्रम बेघाले ४ सय ६० रुपैया प्रतिकिलो मुल्य समायोजन गर्न प्रस्ताव गरे पनि मासु व्यावसायीहरु सहमति भएनन्।