वैदेशिक रोजगारीले परिवारमा विखण्डनःआलुचप बेचेर गुजारा चलाउदै शान्ती

मनिता चाम्लिङ
दिव्य रोशनी(धरान)/ “बाह्र भाई छोरा तेह्र भाई नाती, बुढीको धोक्रो काँधै माथि” भन्ने उखान अहिले पनि हाम्रो समाजमा चरितार्थ बन्दै गएको छ। सन्तानको गैर जिम्मेवारीका कारण बुढेसकालमा अहिले अभिभावकहरु एक्लिदै गएका छन्। त्यसको प्रत्यक्ष उदाहरण हो धरान १६ की ६४ वर्षिया शान्ति राजभण्डारी। आफ्ना छोरा र छोरीलाई उच्च शिक्षाका लागी घरजग्गा बेचेर अष्ट्रेलिया पठाएकी तिनै शान्ति अहिले दुईछाक टार्न सडकको किनारामा आलु चप बेच्न बाध्य छिन्।
कुनै समय शान्तिमा के थिएन, श्रीमान, परिवार सबैको साथ थियो। नाम जस्तै परिवार पनि शान्त र सुख संग चल्दै थियो। २० वर्षअघि श्रीमान्को मृत्युपछि उनमा सम्पूर्ण परिवारको जिम्मेवारी थपियो। उनका दुई छोरा र १ छोरी थिए। घरको जेठो छोरो र छोरीलाई उच्च शिक्षाका लागी शान्तिले १० वर्षअघि घरजग्गा सबै बेचेर अष्ट्रेलिया पठाए। तर तिनै छोराछोरीले अहिले आफुलाई बेवास्ता गरेको उनि बताउँछिन्। छोराछोरीको बेवास्ताकै कारण अहिले शान्ति दुईछाक जुटाउन हरेक दिन दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म धरान १६ को वडा कार्यालय पछाडिको बाटोको कुईनेटोमा आलुचप बेचिरहेकी भेटिन्छन्।
सन्तानको शिक्षामा भएको चलअचल सम्पत्ति लगानी गरेपछि अहिले शान्ति डेराको दुःखदायी जिवन बिताईरहेकी छिन्। दुईछाक हातमुख जोर्न समस्या परिरहेको बेला उनले डेराभाडा समेत तिर्न नसकेको ६ महिना भईसक्यो। त्यसमा पनि उनी नसा सम्बन्धि रोगी भएपछि अष्ट्रेलियामा रहेका छोराछोरीलाई फोन गर्दा आफ्नो आवाज सुन्नासाथ फोन नै ब्लक गरेको दुःखेसो पोखिन्। अहिले उनी कान्छा छोरासँंग घरभाडामा बस्दैआएपनि जेठो छोराले सबैघरजग्गा बेचेर अष्ट्रेलिया गएकाले आफ्नो अंश मागिदिन आफुलाई कान्छा छोराले दबाव दिईरहने उनले बताईन्।
लक डाउन अघि वैदेशिक रोजगारी दुबईबाट आएका उनका कान्छा छोरा लक डाउनका कारण बेखर्ची भएपछि अहिले घरैमा थन्किएका छन्। “विदेश जान्छु भन्छ, पठाउने पैसा छैन।” उनले भनिन् “जेठो छोराले बुहारी ल्याएपछि हेर्दैनन् भन्ने मनमा भएपनि भएको एउटी छोरीले त हेर्लान् भन्ने थियो तर छोरीले समेत वास्ता गरेनन्।” अष्ट्रेलियामा रहेका उनका जेठा छोराले बिहे गरेर बुहारीलाई पनि अष्ट्रेलिया नै लगेका छन्। उनका एक नातिनी समेत छन् तर हालसम्म आफुले देख्न नपाएको उनले गहँभरी आँशुपार्दै बताईन्।
समाजमा छोराले भन्दा छोरीले बाबा आमालाई हेर्छन् भनेर भनिएता पनि आफुमा त्यो लागु नभएको उनको भनाई छ। “कि छोराले आफ्नो अंश दिनुपर्यो नभए अष्ट्रेलिया पठाउदा लागेको खर्च दिनुपर्यो” उनले भनिन्। “उ अष्ट्रेलिया गएपछि एक रुपैयाँ पनि पैसा पठाएको छैन, अनि मेरो मन कति दुख्छ?” श्रीमानको मृत्यु भएपनि छोराछोरी छन् भनेर आशामा बाँचेपनि छोराछोरीले वास्ता नगरेपछि अहिले आफु सहारा विहिन भएको उनले बताईन्। छोराले वास्ता नगरेपनि कतै, छोरीको मन पग्लिएला कि भन्ने झिनो आशा भने उनमा अझैपनि छ।


दैनिक ३/४ सयको आलुचप बेचेर खर्च कटाई शान्तिले डेढ सय देखी २ सय कमाई गर्दै आएकी छिन्। त्यही कमाईले दुईछाक टार्दै आएपनि विगत ६ महिनादेखी घरभाडा तिर्न नसकेको शान्तिले बताईन्। “मासिक ९ हजार घरभाडा तिर्न नसक्दा घरबेटीले पनि निस्केर जा भन्छन् कहाँ जाने नानी?” उनले प्रश्न गरिन्। “घरभाडा तिरेको भए घरबेटीले पनि कोठा खाली गर त भन्दैनथियो होला तर के गर्नु नानी, खाने पैसा नै नभएपछि घरभाडा कसरी तिर्नु” उनले दुःखेसो पोखिन्।
आफ्नो एक मात्र माग बुढेसकालमा छोराछोरीले एकगाँस खानाका लागी जोहो गरिदेओस्. भन्ने उनमा छ। “हुन त उनीहरुलाई पनि विदेशको ठाउँमा धेरै खर्च त चाहिन्छ तर मलाई पनि महिनामा पैसा पठाई देओस् न” भन्दै सन्तानप्रतिको मोह भने छाडिनन्। “उनीहरु आउलान् कि भनि कति बाटो हेरे तर उनीहरु त के एक कल फोन पनि आएन नानी” भन्दै रुन थालिन्। “नानी मलाई साह्रै गाह्रो छ, आफु बिरामी भएपनि औषधी उपचार गर्न सकेको छैन” उनले दुःखेसो पोखिन्।
“१० महिना कोखमा राखेर हुर्काए बढाए, राम्रो शिक्षाका लागी विदेश पठाए तर अहिले सबैजना बिरानो भो” उनले भनिन्। “आज म नानीसंँग यसरी आफ्नो छोराछोरीको बारेमा भन्ने थिईन् होला तर के गर्नु उनीहरुले नहेरेपछि मेरो दुःख उनीहरु सामु पुगोस् भनेर बोल्दैछु। एउटी आमालाई छोराछोरीको बारेमा यस्तो कुरा गर्नु मन थिएन। मेरो कुराहरु उनीहरु समक्ष पुर्याईदिनु है नानी।”
त्यसो त शान्तिका श्रीमान अशोक राजभण्डारी दन्त चिकित्सक थिए। उनले दातको क्लिनिक नै खोलेका थिए। तर समय परिवर्तनसँंगै २० वर्षअघि श्रीमानको मृत्युपछि उनको थाप्लोमा तिन सन्तानको जिम्म्ेवारीपनि थपिएको थियो। सुखसयलमा बसेका उनले छोराछोरीलाई उच्च शिक्षाका लागी आफ्नो घरजग्गा बेचेर पठाए। तर उनलाई अहिले समय र परिस्थितीले सडकमा ल्याएको छ। उनले भनिन् “सबैलाई राम्रो पढाएको छु, राम्रो आँखा देखाएकै कारण उनीहरु विदेश पुगे तर विदेशको रमझमले उनीहरु उतै भुलिए। तर हिम्मत अझै हारेकी छैन, दुई छाक टार्न सडकको पेटीमा आलुचप बेच्दैछु।”
छोराछोरी विदेशमा भएपनि अहिले आफुलाई समस्या पर्दा नहेरेपछि आफ्नो छोराछोरी विदेशमा छ भन्नुको कुनै अर्थ नरहेको उनले बताईन्। बुढेसकालमा पनि छोराछोरीले नहेरेपछि उनी अहिले सहयोगी दाताको पर्खाईमा छिन्। “के गर्नु नानी दुईछाक खानै पर्यो। जसका लागी सबैसँंग सहयोगका लागी खाली हात पसारेकी छु” उनले भनिन्। उनी अहिले आलुचप किन्न आउने नयाँ मान्छेहरुसंँग आफ्नो छोराछोरीका दुःखका बेदनाहरु पोख्छिन्। आफु बिरामी हुँदा फोन गर्दा स्वर सुन्ने बित्तिकै ब्लक हानेको नरमाईलो घटना अझैपनि उनको मानसपटलमा ताजै छ। उनले भनिन् “अरुका छोराछोरी आमा बिरामी छ भन्दा दौडिएर आउँछन् तर आफ्ना छोराछोरी भने फोन नै ब्लक गरेर बस्छन्।”
शान्ति राजभण्डारीलाई सानैदेखी चिन्दै आएका छिमेकी रोशन सन्जेलले भएको घरजग्गा बेचेर उच्च शिक्षाका लागी अष्ट्रेलिया पठाएका आमालाई अहिले दुःख पर्दा समेत आफ्ना छोराछोरीले बेवास्ता गरेकोमा आश्चर्य मान्दछन्। उनले आमालाई एकछाक जुटाउन आफुहरुलेपनि आलुचप बनाउने सामग्रीहरु जोरजाम गरिदिएको बताए। उनले भने “एकपटक आमाले अब, म मर्छु भनेर हिडिरहेकी रहिछन् सबैले त्यसो गर्नु हुँदैन हामी तपाईलाई सघाउँछौ, बरु आलु चप बेच्नुस् भनेपछि आलुचप बेच्न शुरु गरेकी हुन्।”
अहिले हरेक दिन आलुचप बेच्नका लागी सन्जेलले आमाको सामाग्रीहरु आफ्नै पसलमा राखिदिन्छन्। यसैगरी शान्तिका छिमेकी राधा संजेलले पनि आमा बिरामी हुँदा आफुले आर्थिक तथा भौतिक सहयोग गरेको बताईन्। उनले आमाको आर्थिक अवस्था कमजोर भएको भन्दै सकेको सहयोग गर्न सबैमा आग्रह समेत गरिन्।
यता धरान १६ नं .वडाका वडाअध्यक्ष मुरारी प्रसाद भट्टराईले सन्तानहरु अभिभावकप्रति जिम्मेवार नहँुदा एकल आमाहरु बुढेसकालमा घरको न घाटको हुने गरेको बताए। उनले छोराछोरीहरुमा विदेश प्रतिको मोहले अभिभावकहरु आफ्ना सन्तानबाट टाढिदै गएको समेत बताए।(दिव्य रोशनी साप्ताहिकबाट)