विपी प्रतिष्ठानलाई निकास देउ

दक्षिण एसिया मै उत्कृष्ट कहलिएको नेपालको नमुनाको रुपमा रहेको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले अनिर्णयको बन्दी बनेको छ।
विभिन्न समयमा कहिले प्रतिष्ठानका कर्मचारी, कहिले पेशाकर्मी चिकित्सकहरुको आन्दोलनले थलिदै गएको विपी प्रतिष्ठान अहिले फेरि आन्दोलित छ। प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले आफुहरुको वृत्ति विकास रोकिएको र त्यसैको कारण दक्ष चिकित्सकहरु पलायन भएको बताउँदै बढुवा प्रकृयाको माग राखी आन्दोलन गर्दै आएका छन्। प्रतिष्ठानका कर्मचारी तथा शिक्षकहरुले यसअघिपनि आन्दोलन नगरेका भने होईनन्। उनीहरुले आफुहरुको वृत्ति विकास नभएको बताउँदै गत कार्तिक महिनामा नै सामुहिकरुपमा राजिनामा समेत दिएका थिए। तर धरानका मेयर हर्क साम्पाङको उपस्थितीमा वार्ता भएर डाक्टरहरुको बढुवा परिक्षा मार्फत गरिने र ३ महिनाभित्र बढुवा प्रकृयालाई अगाडी बढाउने सम्झौता प्रतिष्ठानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीले गरेका थिए। तर कामु उपकुलपतिले गरेको सहमती कार्यान्वयन नभएको जनाउँदै दुईसाता देखी प्रतिष्ठानका कर्मचारी एवं शिक्षकहरु फेरिपनि आन्दोलनरत छन्।
कर्मचारीहरुको आन्दोलन गर्दा विपी प्रतिष्ठान दिनँहु तहस नहस् हुँदै गएको छ। टाढाबाट उपचार सेवाका लागी आएका सेवाग्राहीहरुले समयमै उपचार सेवा पाउन नसकिरहेको बेला यस्ता आन्दोलनले गर्दा झन् सामान्य विरामीहरुपनि धरान बाहिर रेफर हुनु परिरहेको छ। कुनै समय उपचारका लागी धरान बाहिरबाट विपी प्रतिष्ठान रेफर गर्ने अस्पतालमा अहिले प्रतिष्ठानले बिरामी रेफर गर्नु परिरहेको अवस्था छ।
वास्तवमा, विपी प्रतिष्ठानमा मात्रै किन हुन्छ आन्दोलन? धेरैमा जिज्ञासा बढ्नु स्वभाविकै छ। प्रतिष्ठानका कर्मचारी र शिक्षकको विभिन्न सुत्रिय माग र त्यसलाई सम्बोधन गर्न नसक्ने उपकुलपतिको कार्यक्षमताले गर्दा नै प्रतिष्ठानमा जहिल्यैपनि आन्दोलन मात्रै भईरहेको देख्न सकिन्छ। जनमानसमा यो छ कि विपी प्रतिष्ठानको उपकुलपति हुन करोडौको चलखेल हुने गर्दछ। सायद त्यही भएरै होला हरेक नयाँ आउने उपकुलपतिहरु अख्तियारको नजरमा पर्ने गर्दछन्। यसैगरी प्रतिष्ठानको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा स्वास्थ्य मन्त्रि रहने भएतापनि प्रतिष्ठानलाई सरल रुपमा सुचारु गर्न कुनैपनि कदम चालेको पाईदैन। “काग कराउदै गर्छ, पीना सुक्दै गर्छ” भनेझै यता आन्दोलनकारीहरु आन्दोलन गर्दै बस्छन्, उता सम्बन्धित निकायहरु कानमा ठेडी लगाएर नसुने झै बस्ने गर्नाले नै प्रतिष्ठान अहिले धरासायी बन्दै गएको हो।
प्रतिष्ठानका कर्मचारीहरुले सहमती अनुसार बढुवाको प्रकृया शुरु गर्न आन्दोलन शुरुगरेपछि कामु उपकुलपतिले धरान छाडी काठमाण्डौ पुगेका छन्। उनले प्रतिष्ठानको कार्यसमिती बैठक शुक्रवार काठामाण्डौमा नै बोलाएका थिए तर आन्दोलनरत कर्मचारीहरुले प्रतिष्ठानका रजिष्टार र रेक्टरलाई काठमाण्डौ हुने बैठकमा नजान र धरानमा नै कास बैठक राख्न दबाब दिएपछि शनिवार पनि डाकिएको बैठक हुन सकेन। वास्तवमा, कास बैठक काठमाण्डौमा नै किन राख्नुपर्यो कामु उपकुलपतिलाई? धरानमा कास बैठक राख्न उसलाई कसले छेक्यो ? त्यो जवाफ अब कामु उपकुलपतिले धराने जनतालाई पनि दिनै पर्दछ। यसअघि आफ्नो पदिय जिम्मेवारी पुरा गर्न नसक्ने कामु उपकुलपतिले राजिनामा गर्नुपर्छ भन्दै मेयर साम्पाङले लगाईदिएको ताला एकसातापछि खुलेको छ।
अब नेपाल सरकारले पनि विपी प्रतिष्ठानलाई सँधैभरी राजनीति गर्ने मात्र थलोको रुपमा विकास गर्नु हुँदैन। दक्षिण एशियाकै शान र नेपालको गौरवको रुपमा रहेको स्वास्थ्य संस्था विपी प्रतिष्ठानलाई पूर्ववत रुपमा संचालनका लागी कार्य सम्पादन गर्न सक्ने कुशल क्षमता भएका उपकुलपति पठाईनु पर्दछ। ताकी हरेक वर्ष प्रतिष्ठानमा आन्दोलन नहोस् । विपी प्रतिष्ठानमा हुने आन्दोलन अब सँधैंका लागी बन्द हुनु पर्दछ। बिरामीहरुले उचित उपचार पाउनु पर्छ। जसका लागी विपी प्रतिष्ठानमा भएको बेथितीको गाँठोलाई फुकाई अब सदाका लागी निकास दिनु पर्दछ।(दिव्य रोशनी साप्ताहिकबाट)