धरानका व्यावसायीहरुबिच समसामयिक विषयमा छलफलः पार्किङ शुल्क नतिर्न अध्यक्षको आग्रह

दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग बाणिज्य संघले व्यवसायीहरुसंग समसामयिक विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ।
सोमवार सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा व्यावसायीहरुले हालको अवस्था र समाधानका विषयमा छलफल गरेका हुन्। कार्यक्रममा ज्वाँई खानाका सञ्चालक हरि श्रेष्ठले पर्यटन व्यवसायका लागि उवा सँघले विशेष भूमिका खेल्नुपर्ने बताए। उनले भारत सिक्किममा टेम्पो व्यवसायीहरुले समेत पर्यटनको बारेमा जानकारी दिने गरेको बताउदै तर धरानमा पर्यटनको प्याकेज नभएको नभएको बताए। सोहीक्रममा उनले व्यावसायीहरु दोहोरो घरबहाल करको मारमा परेको भन्दै घर बहाल कर घर धनीलाई नै तिराउन संघले मुख्य भूमिका खेल्नुपर्ने बताए। उनले धरानमा र्पािर्कङ शुल्क व्यावसायीहरुको मुख्य समस्या बन्दै गएकाले खारेजी गर्न उवासंघले उपमहानगरमा पहल गर्नुपर्ने समेत बताए।
यसैगरी बगरकोटका हाम्रो सेकुवा खिम होटलका संचालक नवीन राईले अहिलेको आर्थिक मन्दिमा सरकारले राजस्वमा छुट दिनुपर्ने र बगरकोट होटल व्यावसायीहरुलाई विशेषगरी खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने माग राखे। उनले बेलुका १० बजे नै प्रहरीले सिटी फुक्दै होटल बन्द गराउन आउने भएकाले निर्धक्क साथ व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राखे। त्यस्तै रेडिमेड व्यापारी राम कुमार रावतले अवैधानिक रुपमा सोमबारे हाट संचालन हुँदा आफुहरु मारमा परेको बताउँदै आफूहरुको समस्याको सुनुवाई हुनुपर्ने माग राखे।
यसैगरी छलफलमा संयुक्त ग्रीलका सञ्चालक उदय कुमार राईले केहीदिन सिकेको भरमा केही व्यक्तिहरुले अवैधानिक रुपमा घरघरमा ग्रीलको काम गरिदिनाले आफुहरु मारमा परेको बताए। त्यस्तै भान्जा मोबाइल सेन्टरका सञ्चालक सबिन लम्साल र सौन्दर्यकला व्यवसायी नेबिका साहीले केहीदिन सिकेका व्यक्तिहरुले नयाँ पसल खोली सेवाग्राहीहरुलाई लुट्ने र पसल बन्दगरी भाग्ने प्रवृतिले सिंगो व्यावसायीहरुको छबीमा दाग लागेको बताए।
यसैगरी औषधि व्यवसायी उमा दाहालले व्यावसायीहरुलाई कर सम्बन्धी तालिम दिनुपर्ने बताईन्। उनिले महिला व्यावसायिहरुलाईपनि उत्साहित हुने तालिम ल्याउन पनि आग्रह गरिन् । त्यस्तै मिडियाकर्मी भोजराज श्रेष्ठले अहिलेको अवस्थामा धरान उपमहानरपालिकाले व्यावसायिको माग सम्बोधन गर्न नसक्ने बताए। उनले मेयर हर्क साम्पाङले कानुनलाई लत्याएर हिड्ने भएकाले मेयर साम्पाङ विरुद्ध कसैलेपनि उजुरी गर्न नसकेको बताए।त्यस्तै जुता चप्पल व्यवसायी सुमन पौडेल फुटपाथ व्यापारिका कारण दर्तावाला वास्तविक व्यापरिहरु मारमा परेको बताए। कार्यक्रममा भवन निर्माण व्यावसायी हरि बहादुर कार्की, व्यावसायी भुवन धमला, होटल व्यवसायी लोकेन्द्र श्रेष्ठ लगायतले व्यावसायीहरुका समस्याहरुका बारेका गुनासो राखेका थिए।
कार्यक्रममा उवासंघका बरिष्ठ सल्लाहकार राजकुमार राईले धरान उपमहागरपालिका व्यापार ब्यबसायीहरुले कर तिरेपनि उपमहानगरपालिकाले व्यवसायिहरुको पीडालाई बेवास्ता गरेको आरोप लगाए। उनले मेयर हर्क साम्पाङ पानीको पछि मात्रै लागेको बताउदै व्यावसायीहरुको समस्यालाई समाधान गर्नेतर्फ ध्यानदिन नसकेको बताए।


कार्यक्रममा सहभागीहरुबाट उठेको प्रश्नको उत्तर दिदै अध्यक्ष विजय श्रेष्ठले व्यवसायी हरूलाई सरकारले जहिलेपनि मुनाफाको रुपमा हेरेको कारण व्यवसायीहरु मारमा परेको बताए। उनले व्यवसायीहरु एकजुट हुन नसकेकै कारण व्यवसायीहरु मारमा परेको समेत बताए। सोहीक्रममा उनले अहिले धरानमा पार्किङ शुल्कको समस्या आएको बताउदै कसैलेपनि पार्किङ शुल्क नतिर्न व्यावसायीहरुलाई आग्रह गरे।
संघका महासचिव महेश श्रेष्ठको संचालन रहेको सो कार्यक्रममाथि संघका सदस्य तथा गोष्ठीका संयोजक विष्णु बरालले प्रकाश पारेका थिए।