डेंगु नियन्त्रणमा प्रभावकारी कदम चालौं
वर्षा शुरु भएसँंगै धरानमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ। धरानमा डेंगुको प्रकोप फैलिए संगै अहिले धरानका हरेक वडाहरुमा डेंगु संक्रमित बिरामीहरु भेटिन थालेका छन्। गतवर्ष धरानमा डेंगु संक्रमणबाट १३ जनाले ज्यान गुमाएका थिए। तर यसवर्ष डेंगु संक्रमणबाट कुनैपनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्नका लागी अब धरानवासीहरु आफै सचेत हुनुपर्ने अवस्था आएको छ।
विगतको गल्तीबाट पाठ सिक्दै धरानले अब डेंगु नियन्त्रणका लागी आ–आफ्नो घर आगन, टोलटोलमा जनचेतना जगाउँदै डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने अवस्था भएको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का अनुसार डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी अभियान भनेकै सर्च एण्ड डेष्ट्रोय अभियान हो। घरमा भएका पानीका भाडाहरु राम्रो संग छोप्ने साथै बिर्को नभएका पानीका ड्रम तथा भाडाहरुमा टर्चलाईट बालेर डेंगुका लार्भाहरु भेटिए पानीलाई पोखाईदिने विधी नै सर्च एण्ड डेष्ट्रोयका सफल अभियान हुन्। विशेषगरी धरानमा पानीको अभाव हुने गरेका कारण पानीको जोहो गर्दा भाडामा बिर्को नलगाउने कारणले पनि डेंगु फैलिन मद्धत पुगेको छ। विगतका वर्षहरुमा जस्तो डेंगु संक्रमणले महामारी नलियोस् भन्नका लागी मेयर साम्पाङले सांकेतिक रुपमा धरानका टोलटोलमा डेंगु नियन्त्रणका लागी सर्च एण्ड डेष्ट्रोय अभियान पनि संचालन गर्दै आएका छन्। तर स्थानियवासीहरु आफ्नो काम कसैले गरिदिओस् भन्ने मनासयले आफ्नै घर सफा राख्न अल्छि मानिदिदा धरानमा डेंगुको प्रकोप बढेको नकार्न सकिदैन।
फैलिदै गएको डेंगु नियन्त्रणका लागी उपमहानगरले केहिदिन अघि धरानका टिएलओहरुसंग पनि छलफलको आयोजना गरेको थियो। मेयर साम्पाङले डेंगु नियन्त्रणमा नगरवासीको प्रभावकारी भूमिका खोजिरहदा विषयले अन्तै मोड लिएपछि के धरानमा डेंगु नियन्त्रण गर्न सबैको साथ र सहयोग मिल्छ? भन्ने कुरामा प्रश्न पनि उठेको छ। तथापी धरानवासी अब जाग्नै पर्छ। विगतको गल्तीलाई नदोहर्याउन पनि आफ्नो घर वरपर पानी जमेका खाल्डा खुल्डी सफा गर्ने देखी आफ्नै घरभित्र रहेको फ्रिज, एसी, फुलदानी, गमलामा भएका पानीहरु दिन बिराएर भएपनि सफा राख्नै पर्दछ। साथै स्थानिय सरकारले पनि डेंगु संक्रमण जोखिमबारे पूर्वानुमान गरी आवश्यक मात्रामा औषधीको जोहो गरिनु पर्दछ। गतवर्षपनि डेंगु संक्रमणका कारण धरानमा सिटामोल र जिवन जलको अभाव जस्तै भएको थियो। साथै डेंगु परिक्षणका लागी आवश्यक किटहरुको पनि व्यावस्था गरी नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका प्रभावकारी योजनाहरु उपमहानगरपालिकाले बुन्नु पर्दछ।
स्वास्थ्यकर्मीहरुका अनुसार एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट यो डेंगु संक्रमण फैलने गर्दछ। विशेषगरी वर्षात्को समयमा फैलने यो डेंगु सफा पानीमा मात्र बस्ने र अण्डा पार्ने यो प्रजातीको लामखुट्टेले विशेषगरी दिनमा मात्रै मानिसलाई टोक्ने गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) का अनुुसार डेंगु प्रकोपलाई न्यून बनाउन अन्तिम विकल्प भनेकै सर्च एण्ड डेस्ट्रोय अभियान हो। नछोपी राखिएका भाडाका पानीहरु पोखाउने, डेंगुले फूल नपारोस् भन्नका लागी औषधीहरु छर्किने उपाय नै डेंगु नियन्त्रणको अन्तिम विकल्प हो। (दिव्य रोशनी साप्ताहिक)