खानेपानी शुद्धतामा हामी सबै सजक रहौं

डेंगुले आक्रान्त बनाएको धरानवासीलाई अहिले खानेपानीमा दिसामा पाईने “कोलिफर्म” भेटिएको खबरले अत्याएको छ। डेंगुले सोत्तरै भएर ईन्तु न चिन्तु भएको बेला धरानवासीहरुले पिउने खानेपानीमा “कोलिफर्म” भेटिएपछि धरानवासीहरु आतिएका छन्। धरानवासीको प्रार्थना छ “यस्तो विषम परिस्थितीमा पानीका कारण कसैमा पनि थप कुनै घटना नघटोस्। पानी जीवनका लागी अपरिहार्य छ। तर तिनै पानी दुषित भएमा जिवनको कुनै अर्थ राख्दैन। दुषित पानी त्यसबेला जिवनका लागी हुँदैन केवल मृत्युका लागी विषको एउटा मात्रा बन्न जान्छ।
धरानमा डेंगु महामारी संगै बिरामीहरुको संख्या बढ्दैगएपछि व्यापक रुपमा खानेपानी प्रति धराने जनताको आशंका थियो। कतै पानीकै कारण धरानवासी बिरामी त भईरहेका छैनन्? उपमहानगरले संचालन गरेको डेंगु उपचार शिविरमा पनि ३८ प्रतिशत बिरामीहरुमा भाईरल ज्वरो मात्रै देखिएको थियो। त्यसकारण पनि जनतामा खानेपानी परिक्षणको माग उठिरहेको थियो। जनतामा खानेपानी परिक्षणको माग उठिरहदा भर्खरै उदाएको राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी धरानले धरानको विभिन्न सात स्थानबाट खानेपानी संकलन गरी नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोशालामा परीक्षणका लागी पठाएको थियो। अन्ततः नगरवासीको आशंका सहि सावित भयो। खानेपानीमा दिसामा हुने जिवाणु “कोलिफर्म” भेटियो। खानेपानी बोर्डले धरानबासीलाई वितरण गरिरहेको पिउने पानीमा “कोलिफर्म” भेटिएपछि रास्वपाले खानेपानी बोर्डका प्रमुख तथा मेयर हर्क साम्पाङको ध्यानाकर्षण समेत गराएका छन्।
धरानको खानेपानीमा “कोलिफर्म” भेटिएको यो नै पहिलो भने होईन। किनभने बर्खायाममा धरानमा खानेपानीबोर्डले ७० प्रतिशत भन्दा बढी सतहको पानी वितरण गरिरहेको छ। पानीको अभावमा काकाकुल बन्दै गएको समयमा सतहको पानी ल्याएर धरानवासीलाई खुवाउन मेयर साम्पाङले श्रमदान अभियान नै चलाएका छन्। जसका कारण धरानका ७ स्थान भन्दा बढी खोलाखोल्सीहरुबाट पानी ल्याएर धरानवासीहरुलाई खुवाउदै आएका छन्। श्रमदान मार्फत दुःखका साथ ल्याईएको पानीमा अहिले जिवाणु भेटियो भनेर केही व्यक्तिहरुले मेयर साम्पाङको उछितो काढ्न समेत भ्याएका छन्। तर काकाकुल बनेको धरानवासीलाई पानीको क्वालिटीमा भन्दा पनि क्वान्टिटीमा जोड दिएकै कारण खानेपानीमा जिवाणु हुन सक्ने स्वयं मेयर साम्पाङले स्विकारेका छन्। यस्तो अवस्थामा अहिले पानीको कारण देखाई “धमिलो पानीमा माछा मार्ने” घृणित खेल खेल्नुभन्दा कारण र समाधानका उपायहरु तर्फ लाग्नु नै अहिले धरानवासीहरुको हित हुनेछ। बर्खाको समयमा नदि नालाहरुमा आउने भेल, बाढीले विभिन्न फोहरहरु संगै बगाएर ल्याउने भएकाले सबैभन्दा पहिले पानीको मुहानलाई सुरक्षित गर्नु हामी सबै धरानवासीको पहिलो कर्तव्य हुन आउछ। जसका लागी धरानवासीहरु आफै सचेत हुन पनि जरुरी देखिन्छ। यसका साथै मुहानबाट आएको पानीलाई खानेपानी बोर्डले पनि सोझै धरानवासीका घरघरमा पठाउनुपूर्व पानीमा क्लोरिन जस्ता जिवाणु मार्ने औषधीहरु लगाई स्वास्थ्यकर्मीहरुको राय सल्लाहमा पानीलाई जिवाणु रहित बनाउनु तर्फ ध्यान दिन सके अहिलेको महामारी अवस्थामा पक्कै पनि केही भएपनि कमी आउन सक्नेछ।(दिव्य रोशनी साप्ताहिकबाट)