चियाको सट्टा सिटामोल माग्दै वडाअध्यक्ष काफ्ले(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान अहिले डेंगुसंग लडिरहेको छ। घरैपिच्छे डेंगुका बिरामी छन्। एकैघरका २ देखी ५ जनासम्म डेंगुका बिरामी रहेका छन्। स्वास्थ्य संस्थादेखी मेडिकल हल सम्म डेंगुका बिरामीको भिड देखिन्छ। मानौं अहिले धरान डेंगुसंग लडाई लडिरहेको छ।
धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी अस्पताल, क्लिनिकहरुमा डेंगुका बिरामीहरुले भरिएपछि धरान १३ न.ं वडा कार्यालयले आधारभूत स्वास्थ्य केन्द्रबाट डेंगुका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार शुरु गरेको छ। वडाअध्यक्ष नेत्र प्रसाद काफ्ले आफैपनि डेंगुबाट संक्रमित भएपछि ५ दिन लामो एक निजी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभगरी घर फर्किए। पाँच दिनको उपचारमा २५ हजार भन्दा बढी खर्च गरेका वडाअध्यक्ष काफ्लेले आफ्नो वडाका विपन्न नागरिकको कहालिलाग्दो अवस्था देखेपछि वडाको आधारभूत स्वास्थ्य केन्द्रमा नै उनले डेंगुका बिरामीहरुको निःशुल्क उपचार शुरु गरेका थिए।


दिनप्रतिदिन धरानमा डेंगुको बिरामी बढ्दैगएपछि वडाअध्यक्ष काफ्लेले स्वास्थ्य केन्द्रको ४ बेडबाट डेंगु रोगीको उपचार शुरु गर्दा पहिलो दिनमा नै ६५ जना डेंगुका रोगी उपचारका लागी आए। वडाको २५/३० हजारको बजेटबाट उपचार शुरु गरेका उनलाई आर्थिक कठिनाई पनि आईपर्यो। तर स्थानिय सहयोगी व्यक्ति र संघसंस्थाको सहयोगले दैनिक ६० जना भन्दा बढीले अहिले १३ न.ं वडाको आधारभूत स्वास्थ्य केन्द्रबाट निःशुल्क स्वास्थ्य उपचार पाईरहेको उनी बताउछन्। उनी भन्छन् “आफैंलाई पनि डेंगु लाग्दा २५/३० हजार खर्च भयो, मेरो वडाका जनताहरु ज्वरो आएर घरमै बसीरहँदा यो मनले मानेन। विपन्न नागरिकले कसरी यत्रो महंगो शुल्क तिरेर सेवा लिन सक्छन् भनेरै निःशुल्क स्वास्थ्य उपचार शुरु गरेका हौं। अहिले विभिन्न सहयोगीहरुको साथले गर्दा वडामा उपचारका लागी आएका विरामीहरुलाई फर्काएका छैनौं।”
वडामा दैनिक डेंगुका बिरामीहरुको भिड बढ्दै गएपछि वडाले ज्येष्ठ नागरिक तथा वडा बाल संजालको भवनमा विरामीहरुलाई उपचार गरिरहेको छ। बिरामीहरुको उपचारमा आर्थिक कठिनाई नहोस् भनेर कसैले एक कप चिया खानुपर्छ भन्यो भने त्यसको सट्टामा २ वटा भएपनि सिटामोल दिनुस् भन्ने अभियान नै चलाएको वडाअध्यक्ष काफ्लेले बताए। उनले भने “यो महामारी रहेसम्म अब हामी एक कप चिया पनि खादैनौं, चिया खान आग्रह गर्नेसँंग बरु २ प्याकेट सिटामोल माग्दैछौं।” यस स्वास्थ्य संस्थाबाट हाल १३, १४, ४, २० र १ नं. वडाका जनताहरुले निःशुल्क डेंगु परिक्षणदेखी औषधीसम्म सेवा लिदै आएका छन्। “धरानभरीका जनता हाम्रै धरानवासी हुन् सबैका लागी वडाको आधारभूत स्वास्थ्य केन्द्र खुल्ला छ, यहाँबाट स्वास्थ्य सेवा लिन कसैले पनि हिच्किचाउन पर्दैन।” उनी भन्छन्।
घोपा (विपी प्रतिष्ठान) गएर बिरामीहरुले एक डेढ घण्टा पालो कुरेपनि पालो नआएको बेला यहाँ एकदमै सहज रुपमा स्वास्थ्य सेवा पाएको धरान १३ निवासी सुष्मा पौडेलले बताईन्। एक साताअघि ठुलो छोरा डेंगुले बिरामी हुँदा घोपा क्याम्पमा एकदमै असुरक्षित भएको उनिले महशुस गरिन्। “एकदमै भिड, बाहिर बसेर औषधी खानुपर्ने, एउटा डाक्टरले दिएको औषधी खाएपछि अर्को डाक्टरले यो औषधी खान मिल्दैन भन्दा आत्तिए। डाक्टरहरु बिच नै मतभेदले गर्दा बाहिर नै उपचार गराए।” उनले भनिन् “अहिले सानो बाबुलाईपनि डेंगु भएपछि यही स्वास्थ्य केन्द्रमा नै उपचार गराउँदा एकदमै राम्रो भएको छ।” उनीसंग भतिजी छोरी पनि २ दिनदेखी स्वास्थ्य केन्द्रमा नै उपचारारत छिन्।
निम्न आर्थिक अवस्थाका बिरामीलाई हजार रुपैया तिरेर डेंगु परिक्षण गराउनुपर्ने अवस्थामा अब वडाबाट निःशुल्क परिक्षण र उपचार पाएपछि एकदमै खुसी भएको उनले बताईन्। त्यस्तै छोरी बिरामी भएर डेंगुको उपचार गराई रहेकी स्थानियवासी धरान १३ कि गीता नेपालीले वडाले गरेको काम धेरै राम्रो भएको बताईन्। उनले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागी निःशुल्क स्वास्थ्य उपचार पाउनु बरदान सावित भएको बताईन्।
वडाको आधारभूत स्वास्थ्य केन्द्रमा १ हेल्थ असिस्टेन्ट, १ अनमी र १ कार्यालय सहयोगी रहेका छन्। अनमी दिपा राई पनि डेंगुले थलिएपछि वडाले हायर गरेर ३ जना हेल्थ असिस्टेन्टहरुलाई बिरामीको उपचारमा खटाईएको स्वास्थ्य केन्द्रका ईन्चार्ज सरोज बास्तोलाले बताए। उनले ४ बेडबाट बिमारीको उपचार शुरु गरिएकोमा अहिले वडाको ज्येष्ठ नागरिक तथा बाल संजालको भवनमा म्याट राखेर स्वास्थ्य उपचार प्रदान गर्दै आएको बताए। उनका अनुसार अहिले स्वास्थ्य केन्द्रमा दैनिक ६० जना भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिईरहेको छ। उपचारका क्रममा औषधीहरुको अभाव होला जस्तो भएपनि सहयोगी दाताहरुको सहयोगले गर्दा उपचारमा आएका बिरामीहरुलाई अहिलेसम्म फर्काउनु नपरेको उनको भनाई छ।
धरानमा डेंगु रोगको संक्रमणसंगै अहिले महामारीको रुपमा फैलिएको आँखा पाक्ने रोगको पनि १३ नं. वडा कार्यालयले तिनदिन देखी खुशी आँखा अस्पताल धरानको सहयोगमा निःशुल्क आँखा शिविर गरिरहेको छ। वडाले आँखाको उपचार संगै निःशुल्क औषधी समेत वितरण गरिरहेको छ।


धरान उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले धरानमा ४ दिन यता डेंगुका बिरामीहरु अझै बढ्दै गएको बताए। उनले धरानमा अहिले सम्म ५ हजार ७२ जनाले डेंगु परीक्षण गराएकोमा ३ हजार १ सय २८ जनामा डेंगु पोजेटिभ देखिएको बताए। उनका अनुसार धरान ८ स्थित सभागृहमा आउने बिरामीहरुको रगत परिक्षण गर्दा ६२ प्रतिशत बिरामीहरुमा डेंगु संक्रमण देखिएको छ। धरानमा डेंगु संक्रमणबाट ८ जनाको मृत्यु भईसकेको छभने डेंगु संक्रमणबाट बिहिवार मृत्यु भएकी धरान १३ की महिलाको मृत्यु प्रमाणपत्र उपलब्ध नभएको कारण गणना नभएको स्वास्थ्य माहशाखा प्रमुख मेहेताले बताए।(दिव्य रोशनी साप्ताहिक वर्ष १९ अंक १२ बाट)