सहयोग जुटाएरै सुम्निमा पारुहाङको मूर्ति स्थापना गरिने

दिव्य रोशनी(धरान)/ धरान उपमहागरपासिलकाका मेयर हर्कराज साम्पाङ राईले करोडौ रुपैयाँ सहयोग उठाएरै धरानमा सुम्निमा पारुहाङको विशाल मूर्ति स्थापना गरिने बताएका छन्।
सो कुरा उनले शनिवार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा आयोजित किरात राईहरुको साकेला उभौली समापनको अवसरमा बताएका हुन्। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर साम्पाङले बजेट भनेको आर्थिक योजना मात्रै भएकाले निश्चित समयमा सुम्निमा पारुहाङको मूर्ति स्थापना गर्न सहयोग उठाउनको विकल्प नभएको बताए। उनले किराती समुदाय त्यति गरिब नभएको बताउँदै आफैले आफ्नो सांस्कृतिक पहिचान र विरासतलाई स्थापित गर्न सक्ने बताए। उनले भने “‘हामी किराती समुदाय त्यति गरिब छैनौं, हामी मनको धनी छौं। करोडौं, अरबौं रुपैयाँ उठाएर बनाउछौं। स्वर्णीम ईतिहास रच्नेछौं।” मेयर साम्पाङले कर्णलीका जनता तुईनबाट स्कुल जानुपर्ने बाध्यता अझैपनि यथावत नै रहेकाले सरकारी बजेट त्यतातिर जाओस् भन्ने धारणाा समेत व्यक्त गरे।
सोहीक्रममा मेयर साम्पाङले एउटा झोलुङ्गे पुल थापेर पर्यटक नआउने बताउँदै अमेरिकाबाट पर्यटकलार्ई धरानमा ल्याउन ईटहरीबाट हेर्दापनि देखिन सक्ने सुम्निमा र पारुहाङको विशाल प्रतिमा बनाईने बताए। उनले सुम्निमा पारुहाङको मूर्तिलाई साँस्कृतिक सम्पदाकोरुपमा स्थापित गरिने बताउँदै निर्माण भईसकेपछि नगरपालिकालाई हस्तान्तरण गरिने समेत बताए। उनले भने “यो सम्पदालाई कुनै समितीले लिएर जाँदैन। यो निर्णय नगरपालिकाको हो, निर्माण भइसकेपछि नगरपाकिलालाई हस्तान्तरण गछौं । स्वामित्व नगरकै हुन्छ। निर्माण समितिमा नगरपालिका बाट कार्यपालिका सदस्य, वडा अध्यक्ष पनि हुनुहुन्छ।”


पुर्खाहरुकै कारण हामी अहिले यहाँ आईपुगेको बताउँदै मेयर साम्पाङले पुर्खाले चलाएको संस्कार संस्कृतिलाई पनि अंगाल्नुपर्ने बताए। उनले हाम्रो संस्कृतिलाई भुल्दै गएमा अरुको उपनिवेशमा बाँचेजस्तो उकुस/मुकुश हुने बताए। उनले देशमा संस्कृति भन्दा राजनीति ठुलो भएकै कारण परिवारमा कलह, झैंझगडा उत्पन्न भएकाले देशका राजनीतिलाई संस्कृतिमय बनाईनुपर्ने बताए।
फरक प्रसंगमा मेयर साम्पाङले धरानलाई पर्यटनको हबको रुपमा स्थापित गर्न श्रमदान मार्फत् विभिन्न पार्कहरुको निर्माण गरिएको बताउँदै चुनावी एजेण्डा मात्र बनेको धरानको एयरपोर्टबारे ठोस निर्णय नेपाल सरकार समक्ष माग गरिएको समेत बताए। साथै उनले धरानमा एडिबी खानेपानी आयोजना फेल हुनको कारण खोजिएको समेत जानकारी दिएका थिए।
यसैगरी कार्यक्रममा धरानका निवर्तमान मेयर तिलक राईले धरान २० चिण्डे डाँडामा बनाईन लागेको सुम्निमा पारुहाङको प्रतिमा स्थानीय सरकार आफैंले बनाउनुपर्ने बताए। उनले विगतमा उपहानगरपालिकाले निजी संस्थालाई थाउजेन बिग बुद्ध बनाउने जिम्मा दिएपनि अहिलेसम्म बनाउन नसकेको बताउँदै कार्यपालिकाले निर्णय गरेपनि सुम्निमा पारुहाङको प्रतिमा बनाउन छुट्टै संस्था दर्ता गरेकोमा असन्तुष्टी व्यक्त गरे। उनले भने “नगरले सुम्निमा पारुहाङको प्रतिमा बनाउने निर्णय गर्दा खुशी लागेको थियो तर पछि सुम्निमा पारुहाङ प्रतिष्ठानले बनाउने भनेको सुन्दा प्रतिमा नबनिने होकी भन्ने लागेको छ, म ध्यानाकर्षण गर्न चाहन्छु, थाउजेन बिग बुद्धको आफ्नै जग्गा हुँदा त अहिलेसम्म बनाउन सकेन भने सहयोग रकमले जग्गा किन्न पुगेपनि प्रतिमा बन्ने भरपर्दो आशा छैन।” उनले मेयर साम्पाङको कार्यकाल २ वर्ष बितिसकेको र अब ३ बर्ष बित्न केही समय नलाग्ने बताउँदै स्थानीय सरकारले नै स्वामित्व लिएर निर्माण गर्नुपर्ने बताए।
निवर्तमान मेयर राईले सुम्निमा पारुहाङको प्रतिमा बनाउन प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारले स्वामित्व लिनुपर्ने बताए। उनले खाली समुदायलाई दुःख दिएर पैसा उठाउन नहुने बताए। उनले भने “धरान उपमहानगरपालिकाले यसको स्वामित्व लिनुपर्छ। स्थानीय सरकारले बनाउनु पर्छ । खाली समुदायलाई दुःख दिने ? समुदायलाई पैसा उठाएर प्रतिमा बनाउनुपर्ने ? यो प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारले स्वामित्व लिनुपर्छ।”
किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय फुटबल टिमकी चर्चित खेलाडी प्रिति राईलाई नगद १ लाख ५ हजार ८४ नगद राशीसहित सम्मान समेत गरिएको थियोभने कबड्डीकी राष्ट्रिय प्रशिक्षक पार्वती राईलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो। सम्मानित दुवैलाई प्रमुख अतिथी साम्पाङ, निवर्तमान मेयर एवं यायोक्खाका पुर्वकेन्द्रीय अध्यक्ष तिलक राई, यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राई लगायतले सम्मान पत्र, दोसल्ला र नगदले सम्मन गरेका थिए।


यसैगरी कार्यक्रममा महेन्द्र क्याम्पस धरानका प्रमुख चन्द्र कुमार राई, गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राई र आर्किटेक्चरमा पहिलो मास्टर डिग्री गरेर हाल धरान तीनकुनेस्थित पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसका प्राध्यापक पारसमणी राईलाई पनि सम्मान गरिएको थियो। ईन्जिनियरिङ क्याम्पसका प्राध्यापक पारसमणी राईले चिण्डेडाँडामा निर्माण हुन लागिएको सुम्निमा पारुहाङ प्रतिमाको निःशुल्क थ्री डी र डिपिआर बनाउन प्राविधिक टिमको नेतृत्व गर्दै आएका छन्।


यसैगरी साकेला उभौलीको समापनमा आयोजना गरिएको प्रतियोगितात्मक सिली प्रर्दशनीमा किरात राई यायोक्खा इटहरी उपमहानगर वडा १, १९ र २० कार्यसमिति प्रथम भएको छ। यस्तै, धरान वडा नं. १९ कार्यसमिति दोस्रो र धरान वडा नं. १५ कार्यसमिति तेस्रो भएको छ । भेषभुषातर्फ भने धरान वडा नं. १३ कार्यसमिति प्रथम भएको छ।
यस्तै, साँस्कृतिक सामग्री प्रदर्शनीमा (धरान भित्र) वडा नं. १५ कार्यसमिति प्रथम भएको छभने वडा न.ं ८ दोस्रो र वडा ९ र १० तेस्रो भएको छ। त्यस्तै (धरान बाहिर) तर्फ इटहरी उपमहानगर वडा नं. ५ कार्यसमिति प्रथम भएको छभने इटहरी ६ दोस्रो र इटहरी २ तेस्रो भएको छ।
सहभागिता (धरानबाहिर) तर्फ इटहरी वडा १, १९ र २० प्रथम भएको छ भने पकली रामधुनी दोस्रो र इटहरी २ तेस्रो भएको छ । त्यस्तै सहभागिता (धरानभित्र) भने धरान १५ प्रथम, धरान ८ दोस्रो र धरान ५ र ६ तेस्रो भएको छ। यसैगरी प्रतियोगिताकै सर्वोत्कृष्ट ढोले पुरुषमा इटहरी २ का रामबहादुर राई र महिलातर्फ सोनापुरकी अनुकला राई घोषित भएका छन्।
हरेकवर्ष साकेला उभौलीको अवसरमा आयोजना हुने प्रतियोगितात्मक साकेला सिली प्रदर्शनीमा यसवर्ष ५० हजार किरात तथा गैर किरातहरुको उपस्थिती रहेको आयोजकले अनुमान गरेको छ। साकेला सिली प्रतियोगितामा सुनसरीभरीका २२ वटा कार्यसमितीले सहभागिता जनाएको आयोजक किराया सुनसरीले जनाएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)