एसईई दौड प्रतियोगितामा शिव र रिना प्रथम

दिव्य रोशनी(धरान)/ एम्स एसईई दौड प्रतियोगितामा छात्र तर्फ शिव कार्की र छात्रा तर्फ रिना खाङ खत्वे प्रथम भएका छन्।
धरान १२ स्थित एम्स एकेडेमीमा रहेको विद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रियटिभ गु्रप (एसीजी) ले शनिवार आयोजना गरेको दौड प्रतियोगितामा छात्र तर्फ महेन्द्र ज्योती सेकेण्डरी स्कुलका शिव कार्की प्रथम भएका हुन्। उनले निर्धारित ४ किलोमिटर दुरी १३ मिनेट १ सेकेण्डमा पुरा गरेका थिए। यसैगरी जनक कल्याण माविका दिपेन्द्र सुजीले १३ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रो र होलिल्याण्ड ईन्टरनेशनल स्कुलका संजय राईले १३ मिनेट ३६ सेकेण्ड निर्धारित दुरी पार गर्दै तेस्रो बने।


यसैगरी प्रतियोगितामा छात्रा तर्फ बसन्तऋतु माविकी रिना खाङ खत्वे प्रथम भएकि छिन्। उनले निर्धारित दुरी १९ मिनेट १५ सेकेण्डमा पार गर्दै प्रथम भएकी हुन्।
यसैगरी शिक्षा निकेतनकी आकृति राईले २१ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र पब्लिक हाईस्कुलकी प्रनिता तामाङले २२ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बनिन्। प्रतियोगितामा विजेता छात्र÷छात्रा दुबैतर्फका प्रथम हुनेले नगद ५ हजार सहित प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेकाछन्भने दोश्रो हुनेले नगद ३ हजार सहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति र तेश्रो हुनेले नगद १ हजार सहित प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृति प्राप्त गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले विद्यार्थीहरुमा दौड प्रतियोगिताले स्वास्थ्यसंँगै शिक्षामा पनि स्वस्थ प्रतिस्पर्धा हुने बताए। यसैगरी एसीजीका अध्यक्ष अंकित श्रेष्ठले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा एम्स एकेडेमीका प्रीन्सिपल सन्तोष कोईरालाले विद्यार्थी भर्ना अभियानको क्रममा नयाँ स्किम स्वरुप दौड प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए। प्रतियोगिता एम्स एकेडेमी धरान १२ चतरालाईन देखि शुरु भई छाताचोक, भानुचोक, पुतली लाईन, दुर्गाचोक, पानीट्यांकी हुँदै एम्स कलेजमै आएर टुंगीएको थियो।
दौड प्रतियोगिता अघि आयोजित कार्यक्रममा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईको समेत उपस्थिती रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)