सामाजिक परिवर्तन केन्द्र नेपालद्धारा एक दिवसिय कार्यशाला सम्पन्न

दिव्य रोशनी/ सामाजिक परिवर्तन केन्द्र नेपालले “शान्ति र सद्भावपूर्ण समाज निर्माणका लागि मिडियाको भूमिका” विषयक एक दिवसिय कार्यशाला इटहरीमा सम्पन्न गरेको छ ।
आज सोमबार इटहरीस्थित होटल बरण्डामा आयोजित कार्यशालामा सुनसरीका धरान, इटहरी, झुम्का, इनरुवा, बराहक्षेत्र, दुहबीका २० जना पत्रकारको सहभागिता रहेको थियो।कार्यशालामा द्वन्द्व संवेदनशील पत्रकारिताका उपायहरुबारे अग्रज पत्रकार सुविद गुरागाईं र शशी कोइरालाले सहजीकरण गरेका थिए ।
सो कार्यशालामा पत्रकार शशी कोइरालाले पत्रकारले तथ्यमा आधारितका साथै उत्पादन गर्ने सामग्रीमा सन्तुलन कायम हुनुपर्ने, समाजका दबिएका आवाजहरुलाई मिडियाले बाहिर ल्याउनुपर्ने बताए।त्यस्तै पत्रकार सुविद गुरागाईंले द्वन्द्व संवेदनशील पत्रकारिता गर्दा पत्रकारहरुले निष्पक्ष र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यशालामा आयोजक संस्थाकी प्रोजेक्ट अफिसर कल्पना राना मगरले द्वन्द्वको विश्लेषणबारे पत्रकारहरु समक्ष विभिन्न विधिहरु प्रस्तुत गरेकी थिईन्।यस्तै, आयोजक संस्थाकी मनिटरिङ एण्ड ईभ्यालुएसन अधिकृत कलेली न्याईच्याईले शान्तिपूर्ण समाज निर्माणमा आफूहरुले सुनसरी, रुपन्देही, कैलाली लगायतका जिल्लाहरुमा अभियान चलाइरहेको बताईन्।
स्थानीय स्तरमा अन्तरक्रियात्मक कार्यशाला र संवादद्वारा धार्मिक, सांस्कृतिक, जातीय, भौगोलिक र राजनीतिक पृष्ठभूमिबारे युवा तथा विद्यार्थीहरु बीचको सम्बन्ध सुदृढ गरि द्वन्द्व र हिंसामा कमि ल्याउने संस्थाको उद्देश्य रहेको सामाजिक परिवर्तन केन्द्र सुनसरी संयोजक रमेश भट्टराईले बताए।