धरानमा कलरवको पुस्तक वार्ता सम्पन्न

दिव्य रोशनी(धरान)/
कलरव धरानको आयोजनामा पुस्तक वार्ता सम्पन्न भएको छ।
शनिवार धरानको होटल रत्न इनमा आयोजित पुस्तक वार्तामा सिक्किमे स्रष्टा प्रवीण खालिङद्वारा लिखित निबन्ध संग्रह “चिया गफ” र तनहुँका कवि प्रकाश रम्घाली को कविता संग्रह “साँझको संगत” माथि पुस्तक वार्ता को आयोजना गरिएको हो।
कार्यक्रममा पुस्तक वार्ताका दुई कृति “चिया गफ” र “साँझको संगत” माथि बोल्दै कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ साहित्यकार बम देवानले चर्चा गरेका थिए। उनले अहिलेको समकालीन परिवेशलाई समेट्दै लेखिएका निबन्ध संग्रह “चिया गफ” मा बजार ,चौक ,गल्ली, विश्राम स्थलमा साथी संगी भेट हुँदा आफ्ना मनका कुरा व्यक्त गर्न चिया गफ एउटा गतिलो माध्यम भएको बताए। त्यस्तै अर्का कृति “साँझको संगत” को बारेमा पनि प्रकाश पार्दै वरिष्ठ साहित्यकार देवानले हामी दिनभरि काम गरिसकेर साँझ पंख आफ्ना मन पर्ने व्यक्ति सँग संगत गरिएको कविता संग्रह पाठकले पढ्दा पढ्दै सकिएको चालै नपाउने बताए। यसैगरी पुस्तकका बारेमा सिक्किमका स्रष्टा निरज थापाले पनि टिप्पणी गरेका थिए।
कार्यक्रममा आ–आफ्ना कृतिका बारेमा प्रवीण खालिङ र प्रकाश रम्घालीले प्रकाश पारेका थिए। कार्यक्रममा प्रवासी नेपाली कविहरु टीका भाई, निरज थापा, प्रवीण खालिङ, विशाल नाल्बो, छेवाङ योञ्जनले आ–आफ्ना कविता वाचन गरेका थिए भने नेपाली कविहरु देवान किराँती, कुमार धमला, रोम ढुंगेल, विशाल भट्टराई, विरेन सुब्बा, समीक्षा छीलिङ राई, स्वाति कला राई, अश्मिता विष्ट, सीमा आभास ,श्रेष्ठ परिक्रमा, भवानी चुडाल “प्यासी” राजीव आचार्य आदिले कविता वाचन गरेका थिए।
कार्यक्रमका सहजकर्ता कवि हेमन यात्री काम विशेषले अनुपस्थित रहेपनि कलरव धरानका कविद्वय सुदिप पाख्रिन र इन्दु नेपालले कार्यक्रमलाई सहजिकरण गरेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट )