पहिचानको आन्दोलनमा मिशन पत्रकारिताको आवश्यक

दिव्य रोशनी(धरान)/ प्रदेश १ पुनः नामाकरण आन्दोलनलाई निर्णायक तहमा पुर्याउन मिशन पत्रकारिताको आवश्यक भएको ईटहरीमा आयोजित एक कार्यक्रम बीच फोनिजकर्मीहरुले बताएका छन्।
आदिवासी जनजाती पत्रकार संघ (फोनिज) प्रदेश १ (कोशी) द्धारा शुक्रवार ईटहरीमा आयोजित “पहिचानको आन्दोलन र संचारकर्मीको भूमिका” विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा फोनिजकर्मीहरुले सो कुरा बताएका हुन्। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै फोनिज प्रदेश १ (कोशी) का निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले अहिले पत्रकार भाईरलको पछि लागेकै कारण मिशन पत्रकारिता हराउँदै गएको बताए। साथै उनले पहिचानको मुद्धालाई थप शसक्त बनाउन मुलधारको मिडियामा मिशन पत्रकारिताको आवश्यक भएको बताए।
सोहीक्रममा फोनिजकर्मी जम्नेलीले मिशन पत्रकारिता कै कारण २०६२/०६३ सालको जनआन्दोलनले उचाई लिएको बताउँदै प्रदेश १ को पहिचानवादीहरुको आन्दोलनका विरोधीहरुलाई मानसिक रुपमा गलाउन पनि प्रचार/प्रसारमा महत्व दिनुपर्ने बताए। उनले कोशी नामाकरणले प्रदेश १ वासी ५० लाख जनताको साझा भावनाको प्रतिनिधीत्व गर्न नसक्ने भएकाले, ढिलोचाँडो कोशी नामाकरण खारेज हुने ठोकुवा समेत गरे। उनले भने “कोशी नामाकरणले प्रदेश १ वासी ५० लाख जनताको साझा भावनाको प्रतिनिधीत्व गर्न सक्दैन, ढिलोचाँडो कोशी नामाकरण खारेज हुन्छ, नभए प्रदेश १ को शान्तिमा खलल आउन सक्छ, साम्प्रदायिक भड्काव आउन सक्छ। देशको अस्तित्व समेत नरहन सक्छ।”
साँस्कृतिक रुपान्तरण गर्न, संविधानलाई कार्यान्वयन गर्न पनि पत्रकारिता अगाडी बढ्नुपर्ने देखिएको जम्नेलीको भनाई छ। उनले फोनिजकर्मीहरु मिडियामा कम आइरहेका कारण पहिचानका आन्दोलनका समाचारहरु पनि कमी आएको बताए। जम्नेलीले पहिचानको आन्दोलनलाई थप सशक्त बनाउन आन्दोलनकारीहरुसंँगको अन्तवार्ता, घाइतेहरुको स्थिती, सहिद परिवारहरुको भनाई, प्रशासन, सरकार र पाटी नेताहरुको दृष्टिकोण, मूल्याङ्कनका समाचारहरुलाई प्राथमिकतामा राखिनुपर्ने बताए।
सोहीक्रममा कार्यपत्र प्रस्तुत गर्नेक्रममा जम्नेलीले पहिचानको आधारमा नामाकरण गरिएको भारतमा तमिलनाडु, बंगाल, बिहार, तेलंगना आदि प्रदेश नामाकरण भएको बताए। उनले अन्तरीम संविधान, घोषित संविधानको मर्म र भावना विपरित १ वर्ष अगाडी डैकैती शैलीमा प्रदेशको नाम कोशी ल्याईएको बताउँदै त्यही दिन देखी आन्दोलन शुरु भएको समेत बताए। उनले भने “नेपालको संविधान २०७२ को प्रस्तावनामा “बहुजातीय, बहुभाषिक, बहुधार्मीक बहुसाँस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरी विविधिता बिचको एकता, सामाजिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवद्र्धन गर्ने उल्लेख भएअनुसार नेपाली जनाताले प्रदेश नामाकरणमा किरात, लिम्बुवान, खम्बुवान, कोचिला, शेर्पालुङ राख्न चाहेपनि त्यो संभव भएन।”
जम्नेलीले प्रदेश १ पुनः नामाकरणको आन्दोलनका क्रममा पहिचानवादी लाजेहाङको मृत्यु, गजेन्द्र फागो सहित १५० बढी घाईते र केहीलाई जेल र केहीलाई मुद्धा लागेको समेत जानकारी दिए। उनले पहिचानवादीहरुको आन्दोलनलाई तामाङ, मगर, थारु, नेवार, गुरुङले ऐक्यबद्धता जनाएको समेत बताए।
“समानुपातिक, सुशासन र समृद्धिका लागी हाम्रो कलम” भन्ने नाराका साथ भएको एकदिवसिय अन्र्तक्रिया कार्यक्रममा जम्नेलीको कार्यपत्र माथि टिपोट गर्दै फोनिज १ न.ं प्रदेश ईन्चार्ज भक्तशेर लिम्बुले मिशन जर्नालिजमको सट्टा व्यवसायीक जर्नालिम गरेकै कारण आन्दोलनले थप उचाई लिन नसकेको बताए। उनले पहिचानको आन्दोलनाका विषयलाई, आदिवासी जनजाती र बहिष्करणमा परेका समुदायहरुको विषयलाई मुलधारका मिडियिा मार्फत् उठान गर्न सकिए आन्दोलनले सफलता पाउने बताए। त्यस्तै अर्का टिपोटकर्ता फोनिजका सुनसरी जिल्ला पूर्व अध्यक्ष तथा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले पहिचानवादीहरुले प्रदेश १ पुनः नामाकरणका लागी गरेको आन्दोलनको स्वरुपमा समय सापेक्ष परिवर्तन गरेमा आन्दोलनले सफलता पाउने बताए। उनले थेप्चो नाक, चिम्सो आँखालाई अहिले पहिचानवादीको रुपमा सबैले हेर्न थाल्नु राम्रो पक्ष भएको बताउँदै सबै फोनिजकर्मीहरुले पनि आ–आफ्ना तहका सांसदहरुलाई प्रदेश १ पुनःनामाकरणका लागी दबाव दिनुपर्ने बताए।


यसैगरी कार्यक्रममा फोनिजका सल्लाहकार संजय सन्तोषी राईले हामी फोनिजकर्मीहरुले आवाज विहिनहरुको आवाज भन्दै आएपनि राज्यले गरिरहेको विभेद, हस्तक्षेप र उत्पिडनका कुरा भन्न हिच्किचाईरहेको बताए। उनले हाम्रा चोमोलुङमालाई सगरमाथा भन्दा हामी चुप लागेपनि हाम्रा ग्रामथान, साकेला थानहरु हस्तक्षेप हुँदा अब चुप लाग्न नहुने बताए। साथै उनले नश्लवादी राज्यसत्ताले हस्तक्षेपकारी भूमिका खेल्दा पनि चुपलाग्ने हामी कस्तो पत्रकार? भन्दै प्रतिप्रश्न गरे।
त्यस्तै क्रियाशिल पत्रकार महिला सुनसरीका अध्यक्ष मनिता चाम्लिङले नेतृत्व तहले पहिचानको कुरा उठाएर देशमा संघियता आएपनि तीनै नेतृत्व तहले पहिचान दिन आनाकानी गरिरहेको बताए। उनले प्रदेशको नामाकरणमा भूगोल, सभ्यता र पहिचानलाई लत्याउँदै कोशी प्रदेश राख्ने तीनै पहिचान विरोधीहरुसंँग झगडा गरे जस्तो गरेर पहिचानवादीहरु मिलेको आरोप लगाईन्।
यसैगरी फोनिज युकेका पूर्व अध्यक्ष विश्वदिप तिगेलाले अबको आन्दोलन निकाशको पाटो क्लियर हुनुपर्ने बताए। उनले आदिवासीहरुका सवालहरुमा अन्य देशहरुले कसरी हेर्छन् त्यो बुझ्न जरुरी रहेको बताउँदै न्युजिल्याण्ड, क्यानडामा भएका कानुनहरुले त्यहाँ रहेका आदिवासी समुदायहरुको रक्षाका लागी मन्त्रालय र मन्त्रीहरु नै राखेर काम गरिरहेको उदाहरण समेत दिए।
त्यस्तै फोनिजका केन्द्रिय सदस्य सुजता लिम्बुले पहिचानवादीहरुको आन्दोलनले प्रदेश १ भरीका सबै फोनिजकर्मीहरु समेट्न नसकेको बताईन्। उनले आन्दोलनका विषयमा बाहिरबाट पैसा आउछ भनेर गलत हल्ला फैलाएको बताउँदै हल्लाको पछि नलाग्न सम्पूर्ण प्रदेशवासीहरुका आग्रह गरिन्। यसैगरी पत्रकार रामहरी मोडियारीले पहिचानको आन्दोलन चलिरहँदा राजमार्ग दक्षिणका जनताको सहभागिता एकदमै कमी हुनुमा महासंघको भूमिका पनि कमजोर रहेको बताए। उनले अन्य आन्दोलनमा त्यहाँका स्थानियहरुको एकता हुने गरेपनि पहिचानको आन्दोलनमा विराटनगरका जातिय संस्थाहरु सहभागिता हुन नसकेको भन्दै दुखेसो पोखे। त्यस्तै पत्रकार अनिल श्रेष्ठले पहिचानमा मुद्धाहरु के के हुन सक्छन् खोजी गरेर ल्याउन फोनिजलाई आग्रह गरका थिए।
यसैगरी पत्रकार संजय राजवंशीले विज्ञापन नभएको अवस्थामा केही पालिकाहरुले टेन्डर आव्हान गरेर विज्ञापन ठेकेदारलाई दिएपछि पत्रिका बचाउन गाह्रो भएको अवस्थामा पनि आदिवासी पत्रकारले पहिचानवादीको आन्दोलनमा डटेर समाचार सम्प्रेषण गरेको बताए। त्यस्तै झापा फोनिजका अध्यक्ष भूमिका सुब्बाले सबै कार्यक्रमहरु थाहा हुन नसक्ने बताउँदै आन्दोलनकर्मीहरुले आन्दोलनका समयमा फोनिजकर्मीहरुसँंग सहकार्य गरिनुपर्ने बताए।
यस्तै फोनिज सुनसरी जिल्ला अध्यक्ष नविन गुरुङले पहिचानको आन्दोलनमा नेतृत्व तहबाटै कहिलेकाही नकरात्मक विचार व्यक्त गरिदिदा फोनिजकर्मीहरुमा मनोबल गिरेको बताए। त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ ईटहरी उपहानगर समितीका अध्यक्ष चिरहाङ राईले प्रदेश १ पुनःनामाकरणमा जातीय संस्थाहरुपनि जुर्मुराएको बताए।
कार्यक्रममा प्रमुख अतिथी ईटहरी ६ नं वडाका वडाअध्यक्ष दिवस पोख्रेलले पछिल्लो समयमा मिडियाकर्मीहरु मौलाउँदै जाँदा साथीहरुले भ्युज खोज्दै जाने क्रममा यर्थाथ कुरा बाहिर जान नसक्ने भएकाले पहिचानवादीहरुले गर्ने आन्दोलनमा समाचार कभरेज गरिरहने साथीहरुले यसको विषयमा बुझ्न जरुरी रहेको बताए। उनले कहिलेकाही हामीले बुझाउन नसकेरपनि पनि आफै दुविधामा परेको बताउँदै जनतालाई बुझाउन सके गुमेका पहिचानका मुद्धाहरुमा सफलता प्राप्त हँुदै जाने बताए।
कार्यक्रम संयोजक तथा फोनिज प्रदेश सदस्य सुप्रिया राईको स्वागत मन्तव्य रहेको सो कार्यक्रम फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामाको अध्क्षतामा सम्पन्न भएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)