भ्रष्टाचारको स्रोत राजनीति नै हो
भ्रष्टाचार नेपालमा एउटा महारोगको रुपमा रहेको छ। आर्थिक अपराधको रुपमा यस महारोगले राज्यको तल्लो तहसम्म गाँजेको छ। भ्रष्टाचारले विकास निर्माणमा नकरात्मक असर पुर्याईरहेको छ। प्रायः धेरै निकायमा भ्रष्टाचार हुने गरेकै छ। भ्रष्टाचारीले राजनीतिक संरक्षण र दलीय टेको पाउने हुनाले उनीहरुको मनोबल वृद्धि भईरहेको छ। भ्रष्टाचार भनेको समाज, राष्ट्र, आम नागरिक, व्यक्तिगत मर्यादा, नैतिकता, आत्मसम्मान तथा मुल्य मान्यताको शत्रु हो। वास्तवमा भ्रष्टाचार गर्नु भनेको राज्य र नागरिकलाई ठग्नु, करदाताको रगत र पसिना चुस्नु र राष्ट्रलाई घात गर्नु हो। भ्रष्टाचारी राज्यको महाशत्रु, शोषक र दुष्ट व्यक्ति हो। भ्रष्टाचारी राज्यका महारोग हुन्। भ्रष्टाचारीले कहिल्यैपनि राष्ट्र र नागरिकको भलो गर्न सक्दैनन्। देश विकासका बाधक हुन्।
लगानी बिना र जोखिम बिना नै छोटो समयमा नै मनग्गै आय आर्जनको आकर्षक माध्यम भ्रष्टचार न्युनिकरण गर्न सकिएको छैन। जसरीभएपनि तडकभडक गर्नेलाई नेपाली समाजले प्रोत्साहन गर्ने संस्कार जो छ। सत्ता, शक्ति र सम्पत्तिको लत लागेपछि भ्रष्टाचारदेखि नडराउने र नलजाउनेको संख्या कम हुन सकेको छैन। च्याखे थापेर खाने प्रविधी हावी हुँदैछ। च्याउ झैं उम्रिएका धेरै सञ्चार र सोसल मिडियाले हाइलाईट गर्नुपर्ने विषयभन्दा भाइरल हुने लोभले समाज सुधारतर्फ कुनै योगदान दिन सकेको छैन। भ्रष्टचार, तस्करी, कालो बजारी, गुण्डागर्दी, असुली र आर्थिक अपराधका घटना न्युनिकरण हुन नसक्नु यसप्रकारका प्रवृत्ति जिम्मेवार छन्।
उद्योग, व्यवसाय फष्टाउन स्वच्छ व्यवसायिक वातावरण सृजना गर्नुको सट्टा राजनीतिक छहारीको ओत लागेर उद्योग, व्यवसाय गर्ने प्रवृत्तिले व्यवसायिक प्रतिस्पर्धा हुन सकेको छैन। राजनीतिको व्यवसायीकरण र व्यवसायको राजनीतिकरण हुनु यसैको परिणम मान्न सकिन्छ। राजनीति गर्नेले व्यवसाय गर्नु त राम्रै हो तर व्यवसायलाई राजनीतिको छहारी दिएर अस्वस्थ बनाउनाले मुलुकको स्वच्छ आर्थिक क्रियाकलापमा बाधा पुगेको छ। जागिर खोज्ने परम्परागत शिक्षा प्रणाली र प्र्ैसाको लािग मरिहत्तत्रे गर्ने सामाजिक सोंचले घुसखोरी, भ्रष्ट्राचार, अनियमितता, किर्ते र ठगी मौलाउन पुग्छ। भ्रष्ट्राचारको लडाईमा पहिलो पाईला भनेको सामाजिक तगारोलाई भत्काउनुपर्छ। सोझा र इमान्दार व्यक्तिको खिल्ली उडाउने र भ्रष्ट्राचारमा लिप्त रहेरै भएपनि अकुत कमाउनेको आदर, सत्कार गर्ने सामाजिक प्रवृत्ति फेर्नै पर्छ। भ्रष्ट्राचार गरि कमाएको केही पैसा सामाजिक कार्यको लागि चन्दा दिएर ठालु पल्टनेलाई अब समाजले पाखा लगाउनै पर्छ।
उद्यमशिलताको विकास नगरी भ्रष्टाचारलाई दिगो रुपमा नियन्त्रण गर्न सकिदैन। शैक्षिक संस्थाले बजार र विद्यार्थी जोड्न सके स्वरोजगारीको अवसर सृजना हुन्छ। उच्च शिक्षा हासिल गरेर पनि कुनै सीप हासिल हुन नसक्दा जागिरे मानसिकता बढाएको छ। यसर्थ मौजुदा शैक्षिक प्रणालीलाई उद्यमशीलतामा बदल्न जरुरी छ। जबजब भ्रष्टाचारको पारो बढ्छ, तबतब विकास र समृद्धिले ओरालो यात्रा गर्छ। यसर्थ सुशासन बहालीका लागि ओठे भक्तिभन्दा व्यवहारमा पारदर्शिता, सदाचारिता, नैतिकता र खरो कार्य सम्पादनमा उत्रिएर जनताको ढोकासम्म गुणस्तरीय सेवा पुरयाउनुपर्छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको हालसम्मका सुचांकमा नेपाल भ्रष्टाचारग्रस्त मुलुकको रेडजोनबाट माथि उक्लन सकेको छैन। ट्रान्सपरेन्सी इन्टरनेशलले भ्रष्टाचार निगरानी र नियन्त्रण गर्ने संस्थाको सबलीकरण गर्ने सुझाउँदै आएको छ। खुला र पारदर्शी खरिद प्रक्रिया अबलम्बन गर्न प्रजातन्त्रलाई घनिभुत बनाउनुका साथै तथ्यांक प्रकाशित गरि सर्र्वसाधरणमा सुचनाको पहुँच ग्यारेन्टी गर्नपनि थप सुझाव दिंदै आएको देखिन्छ।
व्यवसायिक सफलताको पूर्व शर्त स्वच्छ व्यवसायीक वातावरण सृजना हुनुपर्छ। व्यवसायमा नाफा कमाउन सिण्डीकेट र एकाधिकार होईन। लागत घटाउन नवप्रवर्तन र प्रतिस्पर्धा हुनुपर्दछ। क्षणिक फाइदाको लागि उपभोक्तको पैसा र स्वास्थ्यको बर्वाद गर्ने छुट व्यवसायीलाई छैन। यसैगरी राजनीति समर्पण र समाजसेवाका लागी हुनुपर्छ। पद, पैसा र पावरका लागी कदापी हुनु हुँदैन। निष्ठाको राजनीतिलाई नियतको राजनीतिले निल्न दिनु हुँदैन। ठूला भ्रष्टाचारको स्रोत राजनीति नै हो। त्यसैले भ्रष्टाचार निवारण ऐनमा समयसापेक्ष परिमार्जन हुनुपर्छ। भ्रष्टाचार विरुद्ध अनुसन्धान र अभियोजन गर्ने निकायलाई बलियो बनाउनुपर्छ। दललाई सुशासन र सदाचारयुक्त बनाउनुपर्छ। नीतिगत निर्णय भनेर ठूलाठूला ठेक्का पट्टाका निर्णय हुन्छ। अनुसन्धान गर्ने निकाय उक्त निर्णयमा प्रवेश गर्नै पाउदैन। त्यसैले नीतिगत निर्णयको स्पष्ट परिभाषा हुनुपर्ने अख्तियारको सुझावप्रति संसद र सरकारको ध्यानाकर्षण हुनुपर्छ। भ्रष्टाचार जस्तो संगीन अपराधको अनुसन्धान आयोगले संवेदनशील भएर यस्ता कार्यको अनुसन्धान गर्नुपर्छ। उजुरी नपर्खी उपल्लो तहमा आसिन राजनीतिज्ञ, कर्मचारी र उनीहरुसंग हिमचिम गर्ने व्इक्तिको दैनिक घटनाको फेहरिस्त बनाउने, सबै खालका क्रियाकलापको प्रमाण तत्काल जुटाउँदै लैजाने र एउटा तहसम्म पुगेपछि कारवाही शुरु गर्न जरुरी भईसकेको छ।
भ्रष्टाचार नियन्त्रणका लागि देवत्वकरण र राजनीतिक स्टन्टबाजी होईन, प्रणाली बसाल्नुपर्छ। विचार र विधिलाई मिच्न्े व्यक्तिले सुशासनको बहाली गर्न सक्दैन। भ्रष्टाचार जन्य अपराधबाट छुटकारा दिलाउन मानिसको आम्दानीको स्रोत बढाउने क्रियाकलाप शुरु हुनुपर्छ। नैतिक स्तर माथि उकास्ने खालका शिक्षा दिनुपर्छ। अनि मात्र लोभलालहचबाट मुक्त हुने वातावरण तयार हुन्छ र यस्ता अपराधमा कमी ल्याउन सकिन्छ। निष्ठा र अनुशासन जति महत्वपूर्ण छ त्यो भन्दा पनि ठुलो विषय भनेको राष्ट्र र राष्ट्रियता हो। हाम्रो सामाजिक मुल्य मान्यता र पहिचानको पनि संरक्षण र प्रवद्र्धन गर्नुपर्ने हुन्छ। व्यक्ति अगाडी बढ्ने, कुनै समूह विशेष लाभान्वित हुने तर सिङ्गो मुलुक चाँही कमजोर हुने, गरिब भईरहने र भ्रष्टाचारको चङ्गुलमा रहने हो भने सुशासनको विषय नारामा मात्र सीमित हुने डर हुन्छ। तसर्थ चिनिया राष्ट्रपतिले सँधै भन्ने गरे जस्तै कडा मेहनत र अनुशासन बिना मुलुकको रुपान्तरण सम्भव छैन। भ्रष्टाचार निवारणका लागी राज्यमा प्रभावकारी कानून, नीतिगत व्यवस्था तथा कार्ययोजना तयार गरिएका छन्। राज्यमा विद्यमान कानून, कार्यविधि तथा कार्ययोजनाको कडाईका साथ कार्यान्वयन गर्न सकेमा भ्रष्टाचार, अनियमितता तथा आर्थिक अपराध जस्ता विकृतिको विकृतिको निवारण गर्नै सकिन्छ। भ्रष्टाचार निवारणका लागी सरकारले प्रचारात्मक,निरोधात्मक तथा उपचारात्मक कार्यक्रम ल्याउनुपर्छ। भ्रष्टाचार निवारणमा सबैभन्दा महत्वपूर्ण हात जनताको हुन्छ। जनताले सामाजिक बहिस्कार गरेर भ्रष्टाचारीलाई निरुत्साहित गर्नुपर्छ। भ्रष्टाचारलाई सामाजिक रुपमा निन्दा र भत्सर्ना गर्नुपर्छ। मुलुकमा राष्ट्रिय सदाचार कायम गरी भ्रष्टाचार निवारणमा ध्यान दिनुपर्छ।
अहिले नेपाली समाजको तस्विर अस्वभाविक खालको घमण्ड र अभिमानतिर जाँदै गरेको देखिन्छ। त्यसैले सुख र समृद्धिको पूर्वसर्त भ्रष्टाचारको अन्त्य नै हो। भ्रष्टाचारको दाग नहुन्जेल मुलुकको मुहार सफा हुन सक्दैन। उद्यमशिलता र नवप्रवद्र्धनमा पछाडी पर्नु, स्वच्छ व्यवसायिक वातावरणको अभाव खट्किनु, विकिासको गति धिमा हुनु, पूर्वाधारमा गरिएका लगानी बालुवामा पानी बगे जस्तै हुनु, प्रशासन संचालनको लागत अत्याधिक बढ्नु तर जनताले पाउनुपर्ने आधारभूत सेवा समेत सहज हुन नसकी तजविज अधिकार, भनसुन, पक्षपात, विभेद र अन्यायले राज गर्नुका पछाडी भ्रष्टाचार नै हो। यस प्रकारका प्रवृति मुलुक र भावी पुस्ताका लागी निकै घातक छ। समृद्धिको यात्रामा बाधक छ। (दिव्य रोशनी साप्ताहिकबाट)