सचेत धराने समुहको निःशुल्क आँखा शिविर(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ सचेत धराने समुहको आयोजनामा शुक्रबार निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको छ।
धरान ११ गैरीगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा २७६ जना स्थानीयबासी तथा ज्येष्ठ नागरिकहरुले निःशुल्क आँखा जाँच गराएर लाभ लिएका थिए । नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पानसमा दिप बालेर गरेका थिए। उनले एकछिन आँखा बन्द गरेर हिड्यौभने गाह्रो हुने बताउँदै दृष्टिविहिनहरुको जिवन सम्झदा आफुलाई आतेस लाग्ने बताए। उनले भने “आँखा बिनाको संसार कल्पना पनि गर्न सकिदैन, आँखा नै हो संसार, आँखाजस्तो महत्वपूर्ण अंगलाई सबैले हेरचाह गर्नुपर्छ।” मेयर साम्पाङ्ले निश्चित उमेर पार गर्दै जाँदा गुमेको आँखाको ज्योतीलाई पुनः फर्काउन सचेत धराने समूहले आयोजना गरेको यस्ता आँखा शिविर कार्यक्रम सहायक सिद्ध हुने बताए। उनले आँखा शिविरको संयोजन गर्ने होप धरानका संयोजक निश्चल पलिखे प्रति आभार समेत व्यक्त गरे।


यसैगरी कार्यक्रममा विशेष अतिथी धरान ११ का वडाअध्यक्ष लोकेन्द्र फागोले पनि निःशुल्क शिविरले जनतालाई राहत मिल्ने बताएका थिए। शिविरमा डा.मनिष खवास, डा. सरिता थपलिया सहित ५ जनाको टोलीले आँखा परिक्षण गरेका थिए । कुल २७६ जनाको परिक्षण मध्ये ४६ जनाको मोतिबिन्दुको अप्रेशन गर्नुपर्ने देखिएको कार्यक्रमका संयोजक निश्चल पलिखेले जानकारी दिए। उनका अनुसार ४६ जनालाई विराटनगर आँखा अस्पतालमा अप्रेशनको लागि ६ गते लैजाने तयारी रहेको छ ।२ दिन बसाईमा खाना र फर्कंदा मात्र गाडी भाडामा खर्च हुन्छभने अप्रेशन र औषधी पनि निःशुल्क हुने आयोजकले जनाएको छ। शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियोभने चस्मा सहुलियत दरमा उपलब्ध गराइएको थियो।
सचेत धराने समुहका अध्यक्ष निरज लिम्बुले शिविरमा अपेक्षा गरेभन्दा धेरैलाई सेवा दिन पाएको बताए। उनले शिविरलाई सहयोग पुर्याउने प्राविधिक सहयोगी स्वास्थ्यकर्मीहरुको टोली प्रति आभार पनि व्यक्त गरे। (दिव्य रोशनी साप्ताहिकबाट)