वडा स्तरिय मितेरी फुटसल प्रतियोगिता हुने

दिव्य रोशनी(धरान)/ धरान ११ स्थित मितेरी फुटसलले वडा स्तरिय मितेरी फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
आज बुधवार मितेरी फुट्सलमा आयोजित पत्रकार सम्मेलनमा यही पुष १६ देखि २० गते सम्म वडास्तरिय प्रतियोगिताको आयोजना गरिने जानकारी गराएको हो। पत्रकार सम्मेलनमा मितेरी फुट्सलका अध्यक्ष लुकेन्द्र राईले प्रतियोगीताका विजेतालाई ७० हजार नगद पुरस्कार र उपबिजेतालाई ३५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए।
यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, हाईस्कोरर, उत्कृष्ट प्रशिक्षक, उदयमान खेलाडीलाई पनि नगद सहित ट्रफि प्रदान गरिने छ भने हरेक खेलका म्यान अफ द म्याचले पनि पुरस्कार पाउने अध्यक्ष राईले बताए। उनका अनुसार प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ।
२०७५ सालमा स्थापना भएको मितेरी फुटसलले विगत ५ वर्षदेखी विभिन्न प्रतियोगिताको आयोजना गर्दै धरानको खेलकुदमा विशेष योगदान पुर्याउदै आएको छ।