बक्सिङ संघको वनभोजमा खेलाडीहरुलाई सम्मान (भिडियो सहित)

दिव्य रोशनी (धरान)/सुनसरी बक्सिङ संघले वनभोजको आयोजना गरी खेलाडीहरुलाई सम्मान गरेको छ।
बुधवार धरान १९ हरियाली सामुदायिक वनमा भएको कार्यक्रममा कोशी प्रदेश स्तरिय बक्सिङ प्रतियोगिताका विजेता तथा हालै मलेशियामा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा काँस्य पदक ल्याउन सफल सिंहविर लिम्बुलाई सम्मान गरिएको थियो। कार्यक्रममा कोशी बक्सिङ संघको आयोजना तथा उदयपुर जिल्ला बक्सिङ संघ गाईघाटको संयोजनमा गत असार १३ देखी १५ गते सम्म भएको प्रतियोगितामा धरानबाट विजेता बन्न सफल भएकाहरुलाई सम्मान गरिएको थियो। जसमा गोल्ड मेडलिष्टहरु ४८ केजी समूहका उज्जवल सापकोटा, ५१ केजी समूहका पारस तामाङ, ६३.५ समूहका दिपक राई, ८० केजी समूहका धिरज गुरुङ र ८६ केजी समूहका सनम गुरुङ रहेका थिए। यसैगरी सिल्भर मेडल प्राप्त गर्नेहरु ५४ केजी समूहका डम्बर श्रेष्ठ, ५७ केजी समूहका एकलिस शाही, ६० केजी समूहका दर्शन राई र ६६ केजी समूहका नुमा लिम्बु रहेका थिएभने काँस्य पदक तर्फ ६७ केजी समूहका शिवङ प्रसाई र ७१ केजी समूहमा गर्भ प्रभान रहेका छन्। यसैगरी हालसालै मलेसियामा आयोजित पेनाङ ट्रेड फेयर ३४ औं ईन्टरनेशनल बक्सिङ टुर्नामेन्ट प्रतियोगितामा काँस्य पदक विजेता सिंहविर लिम्बुलाई पनि कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगर पालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा, संघका अध्यक्ष सुधिर सिंह लिम्बु धरान उप–महानगरपालिकाका निवर्तमान मेयर तिलक राई लगायतले खेलाडीहरुलाई खदा, सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए।


यसैगरी कार्यक्रममा बक्सिङ खेलमा योगदान दिनुहुने बक्सिङ प्रशिक्षक किशोर सम्बाहाम्फे, दिपक राई, निमा तामाङ र अनुप लामालाई दोसल्ला तथा अभिनन्दन पत्रले अभिनन्दन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथी एवं धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले स्वास्थ्य शिक्षा र संस्कृतिको शहर धरान खेलकुदको शहरले पनि चिनिएको बताउदै धरानलाई चिनाउने खेलको विकासमा उपमहानगरपालिकाले विशेष ध्यानदिई वृद्धि विकासका लागी विशेष सहयोग गरिने बताए। यसैगरी राजनीतिकर्मी तथा धरान उपमहानगरपालिकाका पूर्व उपमेयर मिन कुमार सुब्बा र बक्सिङ प्रशिक्षक किशोर सम्बाहाम्फे लगायतले विजेता खेलाडीहरुलाई बधाई शुभकामना दिएका थिए।