बुढासुब्बा गोल्डकपको तयारी पुरा

दिव्य रोशनी (धरान)/ यही फागुन २६ गतेदेखि शुरु हुने २४ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ।
विहिवार क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै क्लबका अध्यक्ष प्रताप तामाङले २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पुरा भएको बताए। उनले फागुन २६ गते देखि चैत्र ३ गतेसम्म हुने प्रतियोगितामा ८ क्लवहरुको सहभागिता रहेको समेत बताए। प्रतियोगितामा आयोजक धरान फुटबल क्लव सँगै भारतको युके एफसि, नेपाल पुलिस क्लब (काठमाण्डौं), मोरङ फुटबल एशोसिएशन (मोरङ), एनआरटी क्लब काठमाण्डौं, त्रिभुवन आर्मी क्लब काठमाण्डौं, काँकडभिट्टा फुटबल क्लब झापा र चर्च बोइज युनाईटेड काठमाण्डौं टीमको सहभागीता रहेको छ।


प्रतियोगिताको विजेताले नगद १० लाखको साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्ने क्लवका महासचिव नविन राईले बताए। यसैगरी उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
महासचिव राईका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख प्राप्त गर्नेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार प्राप्त गर्नेछन्भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्ने पनि महासचिव राईले बताए।
प्रतियोगिता संचालनका लागी क्लवले ७७ लाख ६० हजारको अनुमानित आय र ६६ लाख ५५ हजारको व्याय राखेको छ। यसैगरी क्लवले वर्तमान अवस्थामा देशमा विद्यमान आर्थिक मन्दिले गर्दा प्रतियोगिता संचालनका लागी अप्ठ्यारो परेको अवस्थामा सम्पूर्ण धरानवासीहरुले टिकट काटेर प्रतियोगिता हेरिदिनपनि आयोजक धरान फुटबल क्लवले आग्रह गरेको छ।
२४ औं बुढासुब्बा गोल्डकप प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिकाले गरेको छभने गोरखा बु्रअरी, आईएमई, क्वालिटी नुडल्स ईण्डष्ट्रिज प्राली, एनी, एक्सटेप, सुनसरी टेक्निकल कलेज र सिंगापुर वेभरेज नेपाल प्रालीले प्रायोजन गर्ने भएको छ। प्रतियोगिताको सम्पूर्ण खेलहरु धरान १६ स्थित धरान रंगशालामा सम्पन्न हुनेछ।